सिमकोट : आगामी छ महिनामा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जाल जोड्ने नयाँ तयारीमा हिल्सा सिमकोट आयोजना जुटेको छ । कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा अस्थायी बेलिब्रिज निर्माणको प्रकिृया अगाडी बढेपछि सदरमुकाम जोडिने वैैकल्पिक बाटो खुलेको हो ।
आगामी पुस महिनासम्म हालसम्म राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको एक मात्र हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिने हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए ।
‘सरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको सिमकोट सर्केगार्ड खण्डको छारे र लेप्चे क्षेत्रमा पचास मिटरका दुई वटा अस्थायी बेलिब्रिज निर्माणका लागि टेण्डर आह्वान हुँदा कामले अगाडी बढ्ने मार्ग पाएको होे । आयोजनालाई जति सक्दो चाँडो सदरमुकाम सिमकोटसंग राष्ट्रिय सडक सञ्जाल जोड्नका लागि दवाव छ’ उनले भने ।
‘यसका लागि डेढ करोड लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । सिमकोटलाई सडक सञ्जालसंग जोड्नका लागि एप्रोज रोड निर्माण गरेर सडक निर्माण कार्यलाई तीव्रता दिने कार्य भइरहेको छ । तत्काललाई वैकल्पिक बाध्यमबाट सडक जोडिने छ । सबै कुराले साथ दिए छ महिनामा सिमकोट राष्ट्रिय सडक सञ्जालसंग जोडिने छारेबाट लेप्चेसम्मको डेढ किलो मिटर सडक निर्माण कार्यलाई पनि तत्काल सुचारु गरिने छ’ प्रमुख लामाल थपे ।
उक्त क्षेत्रको केही भाग बाहेक अन्य सडक निर्माण गर्न सहज रहेको छ, उनले भने, ‘असजिलो भागमा विष्फोट गरेर सडक निर्माण गर्ने तयारीमा आयोजना रहेको छ । अब आयोजनाले १० किलो मिटर सडक निर्माण गर्न बाँकी रहेको बताउदै उनले हाल दुबैतिर काम भइरहेको छ । सर्केगार्डबाट अगाडी बढेको सडकको निर्माण गर्ने कार्य स्याल्तडीमा पुगेको छ ’।
आगामी साउन मसान्तसम्म त्यसको पनि पाँच किलो मिटर निर्माण भइसक्ने आयोजनाले जनाएको छ । खार्पुनाथ गाउँपालिकाको लालि बगरबाट स्याल्तडीसम्मको दश किलो मिटर सडकको निर्माण कार्य धमाधम भई रहेको बताउँदै उनले बेलिब्रिज निर्माणका लागि निर्माण कम्पनी छनौट तथा सम्झौता गर्न दुई महिना लाग्ने र त्यसपछि निर्माण कार्यले तीब्रता पाउने छ । दुवै पुल अस्थायी बनाइनेछ ।
ती पुल र सडक निर्माण गर्नका लागि दश करोड लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । उक्त कार्य पुरा भए कम्तीमा पनि पाँच वर्ष सडक सुचारु हुने र त्यसपछि पुरानो सर्भे अनुसारको सडक खण्डको निर्माण कार्य पुरा भएपछि करिडोरको सडक त्यसैमा जोडिने छ । हालको प्राविधिक लई अनुसारको निर्माण गर्नुपर्ने सडकको छारेबाट ल्याप्चेसम्मको पुर्बपट्टीको क्षेत्र कडा चट्टानी भाग भएको र त्यसको पनि निर्माण कार्य जारी रहनेछ । करिडोरको सिमकोट सलीसल्ला खण्डको ५० किलो मिटर लम्वाई रहेको छ । त्यसमा चालीस किलो मिटर सडक निर्माण कार्य पुरा भएको छ ।
करिडोरको हुम्ला खण्डको कवाडी देखि सलीसल्ला खण्डको ३९ किलो मिटर सडकको ट्रयाक खोल्ने कार्य नेपाली सेनाले पुरा गरि सकेको छ । हाल सेनाले सडकलाई सम्याउने र ग्याबिन वाल लगाउने कार्य गरि सडक बिभागलाई हस्तान्तरणको तयारी गरि रहेको छ । सो खण्डको कवाडीदेखि बालु कुनासम्मको २७ किलो मिटरमा सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।