मुगु : यार्सागुम्बा कर्णालीमा पाइन्छ । यो कर्णालीको सबैभन्दा ठूलो सम्पति हो । तर अहिलेसम्म यार्सागुम्बाको संरक्षण, यसको प्रशोधन र व्यापार गर्न सरकार सँधै चुकिरहेको छ । यार्सागुम्बा नेपालकै सबैभन्दा महंगो जडीबुटि पनि हो ।
कर्णालीलाई प्राकृतिक स्रोत साधनले धनी बनाउने यार्सागुम्बा सँधै चर्चामा रहन्छ । तर यसको व्यवस्थापकीय पाटो भने सँधै कमजोर हुन्छ । यार्सागुम्बा नेपालका लागि पनि ठूलो आयस्रोतको विषय हो । तर अहिलेसम्म यो पारदर्शी छैन । यसको अहिले पनि चोरी पैठारी हुन्छ । निकासीका लागि कमिसनको खेल हुन्छ ।
केही व्यापारीले गोप्य रुपमा यार्सागुम्बाको निकासी गर्छन । तर कर्णालीका धेरै जनताको ज्यान जोगाउने यही यार्सागुम्बा हो । यार्सागुम्बा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसले जीउ ज्यानको रक्षा गर्छ । कर्णालीको हिमाली जिल्लाका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बा नै हो । जो जेठ असारमा टिपेर साउन भदौदेखि मंसिर पुससम्म यसको निर्यात गरिन्छ ।
स्थानीयहरुले यार्सागुम्बा टिपेर ठूला व्यापारीलाई बेच्छन् । तर स्थानीय, प्रदेश र केन्द्र सरकार भने यसको व्यवस्थापनमा चुकिरहेका छन् । यार्सागुम्बाको संरक्षण, व्यवस्थापन, टिप्ने शैली र यसको निर्यात मूल्य र महंगाई अनुसार गर्न सकेमा मात्रै पनि धेरै फरक पर्छ ।
केन्द्र सरकारले अहिलेसम्म पनि यसबारे चाँसो दिएको छैन । नेपालमा पाइने सात सय बढी जडीबुटिमध्ये कर्णालीमा मात्रै पाँच सय जडीबुटि पाइन्छ । तर यसको पर्याप्त सम्भावनाबारे अहिलेसम्म बहस, छलफल र अनुसन्धान भएको छैन ।
यसरी टिपिन्छ यार्सागुम्बा ?
यार्सागुम्बा हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा धेरै पाइन्छ । पहिले पहिले जुम्लामा पनि यार्सागुम्बा पाइन्थ्यो । अहिले पनि पाइन्छ । तर मात्रा घट्दै गएको छ । जुम्लाभन्दा तल फाँटका केही जिल्लामा पाइने भएपनि त्यो एकिन छैन ।
यार्सागुम्बा टिप्न मानिसहरु दुईदेखि तीन हप्तासम्म वनजंगलमै बस्ने गर्छन् । एक्लो जाँदा जंगली जनावरले आक्रमण गर्ने भएकाले दर्जन बढी मानिसहरु समूह पारेर उनीहरु जाने गर्छन । त्यत्तिञ्जेलसम्मका लागि चाहिने सबै सामग्री बोकेर लगिन्छ ।
जसरी हिमाल चढ्ने आरोहीले आफ्नो सामाना आफैँ बोकेर लान्छन् । त्यसरी नै यार्सागुम्बा टिप्नेहरु पनि आफ्नो खाने, लगाउने, ओढ्ने, ओछ्याउने सबै कुरा बोकेर हिड्छन् । खाना पकाउने भाडाकुडा पनि उनीहरु बोकेर लिएर जान्छन् ।
दिनभरी यार्सागुम्बा टिपेर उनीहरु बेलूकी पख खाना पकाएर खाएर टेन्ट बनाएर सुत्छन् । यो एक किसीमले हिमाल चढ्नु जस्तै हो । हिमाल चढेर सफलता पाएजस्तै यार्सा गुम्बा टिपेर उनीहरु आफ्नो पारिवारिक गर्जो टार्छन । कतिपयले चाँही यार्सा बेचेर लाखौँ करोडौँ कमाउँछन् ।
तर त्यही करोडौँ अर्बौ मूल्य कर्णाली प्रदेश सरकारले बेवास्ता गर्दै आएको छ । भोलिका दिनमा यो नाश भएर जान सक्छ । समयमै यसबारे सरोकारवाला निकायले सोचेनन् भने कर्णालीको सुनभन्दा महंगो जडीबुटी यार्सागुम्बा विनास हुन सक्छ ।