जाजरकोट ः प्रदेश सरकारद्वारा वितरण गरिएका योजनाको प्रभावकारिता बुझ्न जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय गणेशप्रसाद सिंह र कौशिलावती खत्री गाउँगाउँमा पुगेका छन् ।
सदस्य सिंहले कामको मूल्याङ्कन र प्रभाव हेर्न प्राविधिकहरु लिएर पूर्वी जाजरकोटका गाउँमा पुगेका बताए । आर्थिक वर्ष सकिनै लाग्दा काममा हुनसक्ने दोहोरोपन र ठगीलाई रोक्न गाउँगाउँमा पुगेर अनुगमनलाई जारी राखेको सदस्य सिंहले जानकारी दिए । कम काम गरेर मूल्याङ्कन बढी गर्न लगाई रकम झ्वाम पार्न सक्ने भन्दै जनताको कर, पसिनाबाट उपलब्ध भएको बजेटलाई दुरुपयोग हुनबाट रोक्न प्रत्येक योजना निर्माणस्थलमा पुगेर भुक्तानी दिनयोग्य वा अयोग्य छुट्याएर काम अगाडि बढाउन लागिएको उनले बताए ।
अहिले असारे विकासका नाममा जथाभावी निर्माणका काम गरी कमजोर बनाई बजेट सकाउने कामलाई निरुत्साहित गर्न प्रदेशस्तरका कार्यालयका प्रमुख तथा प्राविधिकलाई साथमा लिएर योजनास्थलमा गएको उहाँले जानकारी दिए । अहिले विकास निर्माणको गति हेरेर अर्कोपटक कहाँ कति बजेट विनियोजन गर्दा प्रभावकारी हुन्छ भन्ने कुराको आकलनसमेत हुने गरेको बताएको छ ।
पूर्वको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाबाट शुरु भएको अनुगमनको काम अहिले कुशेमा चलिरहेको छ । जुन कार्यालबाट बजेट भुक्तानी गर्नुपर्ने हो, सोही कार्यालयको कर्मचारी लिएर सबै जनताका अगाडि नाँपजाँच गरी भुक्तानीका लागि प्रक्रिया शुरु गरिएको छ । अधिकांश योजना अनुगमनका नाममा सम्बन्धित ठाउँमा नपुगेर आधा बाटोबाटै फर्किएर मिलोमतोमा बजेट दुरुपयोग हुने कार्यलाई बन्द गर्न यो कार्यलाइ तीव्रता दिइएको छ ।
योजना प्रस्ताव गर्ने व्यक्ति आफैँ अनुगमनमा गई जनतासँग भेटघाट गर्दा चुनावको बेला गरिएका प्रतिबद्धता पूरा भएको वा नभएको विषयमा समेत समीक्षा हुने बताइएको छ । शुरुका वर्षमा खासै कामको परिणाम नदेखिए पनि अहिले प्रदेश सरकारले गरेका कामको परिणाम देखिएको सर्वसाधारण बताउँछन् ।
त्यस्तै पश्चिम क्षेत्रमा प्रदेशसभा सदस्य खत्रीले अनुगमनलाई तीव्रता दिनुभएको छ । असारे विकासको गतिकै कारण काम गर्नका लागि गाउँमा मुस्किल भएको उनले बताए । प्रदेशले दिएका योजना निर्माण भई भुक्तानी दिन जानका लागि पालिकाभित्रका वडाध्यक्षसँग सिफारिस माग्दा फरक राजनीतिक आस्थाकै कारण उपभोक्तालाई सिफारिस नदिइएको वा ढिलासुस्ती गरिँदा जनताले दुःख पाएको खत्रीले बताए ।
जनप्रतिनिधिले प्रतिशोधको भावनाका कारण जनताले दुःख पाएको उनको भनाइ छ । प्रदेशका मन्त्रालयले योजनाको अख्तियारी पठाउन ढिला गरेकाले कामहरू तोकिएकै समयमा सबै सम्पन्न हुन मुस्किल भएको पाइएको छ । लक्षित वर्गको बजेटमा केही टाठाबाठाकै हालीमुहाली भएको उनले बताए । सोझासाझा सर्वसाधारण समूह, संस्था र सहकारीमा नबस्दा उनीहरु लक्षित वर्गको योजनाबाट वञ्चित भएको पाइएको छ ।
वर्षाको झरीसँगै विकास निर्माणको अनुगमन तथा जनताका मर्का बुझ्न गाउँ जाँदा खास समस्या थाहा भएको उनको भनाइ छ । विकास निर्माणको काम गर्दा पेश्की रकम नपाउँदा ऋण काढेर काम गरेको सर्वसाधारणले बताएको खत्रीले जानकारी दिए ।
जाजरकोटका सबै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विकास, आयोजनाको अनुगमन गर्दै आएका छन् । आफैँ धामी, आफैँ बोक्सी जस्तै गरी विकास निर्माणको काम तेस्रो पक्षलाई समावेश नगरी अनुगमन भइरहेको नागरिक अगुवा बताउँछन् । शुरुमा योजना हाल्ने जनप्रतिनिधि आफैँ कर्मचारीलाई लिई अनुगमनमा गई ल्याएको बयानका आधारमा भुक्तानी हुँदै आएको छ ।