जाजरकोटः सदरमुकाम खलंगा बासिन्दालाई खानेपानी सुविधा पुर्याउन थालिएको आयोजना बजेट अभावले अलपत्र परेको हो । अहिलेसम्म आयोजनाको झन्डै ८५ प्रतिशत काम पूरा भएको छ । तर सवा करोड बजेट नपुग हुँदा खानेपानी आयोजना अलपत्र परेको हो । समयमै आयोजना सम्पन्न नहुँदा वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका खलंगावबासी खोलाको धमिलो पानी पिउन बाध्य छन् । सदरमुकामका १ हजार घरधुरीलाई दैनिक ८ लाख लिटर शुद्ध खानेपानी वितरण गर्नका लागि आयोजना सुरु भएको हो ।
खलंगामा पानीको अभाव बढेपछि १० किमि टाढाको पोखरा, ५ किमि दूरीको बुद्बुदी र ३ किमि टाढाको भेरी नदीबाट पानी ल्याउने गरी आयोजनाको डिजाइन स्वीकृत भएको थियो । आयोजनाले दुई वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनामा ७५ प्रतिशत सरकारी लगानी र २५ प्रतिशत उपभोक्ताले व्यहोर्नुपर्नेछ ।
उपभोक्ताले व्यहोर्नुपर्ने १ करोड १९ लाख रुपैयाँ नपुग हुँदा निर्माण अलपत्र परेको उपभोक्ता समितिका अध्यक्ष वसन्तप्रसाद शर्माले बताए । उनका अनुसार आयोजनाका लागि ६ वटा ट्यांकी, पोखरा–बुदबुदी पाइपलाइन, प्रशोधन केन्द्रलगायतको काम पूरा भइसकेको छ । पाइपलाइन वितरण र धारा जडानलगायतको काम पनि सकिएको उनले जानकारी दिए । आयोजनामा अहिलेसम्म १२ करोड ७९ लाख रुपैयाँको काम भइसकेको छ ।
आयोजनामा करिब १९ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । पहिलो चरणको काम सकिएको निर्माण कम्पनी लुम्बिनीरकेशव शाह जेभीले जनाएको छ । उपभोक्ताले ३ करोड १८ लाख रुपैयाँ व्यहोर्नुपर्नेमा अहिलेसम्म उपभोक्ताबाट ३३ लाख र अन्य निकायबाट डेढ करोड रुपैयाँ बजेट जुटेको कम्पनीले जनाएको छ । थप १ करोड १९ लाख रुपैयाँ जुट्न नसक्दा आयोजना लथालिङ्ग भएको उपभोक्ता समितिका अध्यक्ष शर्माले बताए ।
आयोजना नबन्दा खानेपानी समस्या चुलिएको भेरी नगरपालिका–३ थाप्लेकी सुष्मा शाहले बताइन् । ‘कहिलेकाहीँ आउने पानी पनि धमिलो हुन्छ, खोलाको पानी नछानेरै डाइरेक्ट धारोमा खसाल्दा खान समस्या भयो,’ उनले भनिन्, ‘त्यस्तो धमिलो पानी कसरी पिउने रु’ अब आयोजनामा पानी वितरण लाइन विस्तार र फिटिङ घेराबारको काम मात्र बाँकी रहेको अध्यक्ष शर्माले बताए ।
उपभोक्ताले आयोजनामा लगानी गर्न नसक्दा र अन्य निकायले सहयोग नगर्दा आयोजना अलपत्र परेको उनको भनाइ छ । आयोजनामा उपभोक्ताका तर्फबाट लगानी नहुँदा समस्या भएको संघीय खानेपानी आयोजना फिल्ड कार्यालयका इन्जिनियर रामसुन्दर चौधरीले वताए । ‘आयोजनाको डिजाइन र बजेटको तालमेल नहुँदा पनि काम अलपत्र पर्यो,’ उनले भने, ‘डिजाइनमा वितरण टंकी राख्ने स्थान यकिन नहुँदा पनि समस्या छ ।’ उनका अनुसार पहिलो चरणको काम हस्तान्तरण भएपछि दोस्रो चरनको काम सुरु हुनेछ । दोस्रो चरणमा भेरी नदीको पानी पम्पिङ गरी खलंगामा पुर्याउने उल्लेख छ ।
'भीमबहादुर सिंहले तयार पारेको यो सामग्री हामीले कान्तिपुरबाट लिएका हौं '