मुगुः छायानाथरारा नगरपालिका–९ मुर्माबाट सुरु गरिएको व्यावसायिक सिमी खेती नगरपालिकाका ७ वडा र मुगुमकार्मारोङ गाउँपालिकाका ६ वडामा विस्तार गरिएको छ । ५० वटा सहकारी तथा समूह र ७० वटा कृषिफार्ममार्फत व्यावसायिक खेती भइरहेको कार्यक्रमले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सिमी जोन कार्यक्रम लागू भएपछि मुगुका करिब १ हजार ५ सय कृषक परिवार व्यावसायिक खेतीमा लागेका छन् । उन्नत जातको सिमी उत्पादन गरी किसानलाई आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०७६/७७ देखि कार्यक्रम लागू भएको हो ।
सिमी खेती गर्न थालेपछि वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुन थालेको मुर्मागाउँका मणिचन्द रोकायाले बताए । उनले ५ रोपनी जग्गामा सिमी खेती गरिरहेका छन् । ‘खेती गर्न पनि सजिलो छ,’ उनले भने, ‘बजारको पनि समस्या छैन ।’ उनका अनुसार मुर्मा, टोप्ला, झ्यारीलगायत गाउँमा सिमी खेतीको लहर चलेको छ ।
कार्यक्रम लागू भएपछि जिल्लाको रैथाने बालीको संरक्षण भएको हिमशिखर कृषि सहकारीका धनलाल कुमाईले बताए । ‘सिमी खेती हुन थालेपछि वर्षौंदेखि बाँझो बनेका पाखोबारी हरियाली बनेका छन्,’ उनले भने, ‘सिमीले गाउँमा खेती र विकासको लहर ल्याएको छ ।’ उनका अनुसार अन्न उत्पादन न्यून हुने बस्तीमा अन्य बाली छोडेर सिमी खेती गर्ने लहर चलेको हो ।
सिमी उत्पादनमार्फत किसानलाई आत्मनिर्भर बनाउन परियोजना लागू गरिएको जोनका वरिष्ठ कृषि विकास अधिकृत थीरलाल गैह्रेले बताए । उनका अनुसार कार्यक्रममार्फत २४ सिँचाइ योजना निर्माण भएका छन् भने ८ किसान समूहलाई हाते ट्याक्टर वितरण गरिएको छ ।
कार्यक्रमले मुगुमकार्मारोङ गाउँपालिकाको छाइलमा सेमीहाइट ग्रीनहाउस निर्माण गरेपछि डेढ सय कृषकलाई तरकारी बजार पुर्याउन सजिलो भएको छ । उनले रयाङच्याकाँटीमा बीउ स्रोत केन्द्र र भण्डारण केन्द्र स्थापना गरिएपछि किसानलाई सिमीको बीउ प्राप्त गर्न सजिलो भएको जनाए ।
मुगुमा वार्षिक करिब ८ मेट्रिक टन सिमी उत्पादन हुने गरेको छ । अहिले झन्डै १४ हजार रोपनी जग्गामा सिमी खेती गरिएको छ । ‘दोस्रो चरणमा जिल्लामा उत्पादन हुने २० प्रकारको रैथाने सिमीलाई वर्गीकरण गरी आधुनिक तरिकाबाट खेती थालिनेछ,’ उनले भने, ‘अर्को वर्षदेखि कार्यक्रमलाई अन्य स्थानीय तहमा पनि विस्तार गर्नेछौं ।’ गत वर्ष करिब २ करोड रुपैयाँ खर्च गरेको परियोजनाले यो वर्ष २ करोड १ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ ।
‘राजबहादुर शाहीले तयार पारेको यो सामग्री हामीले कान्तिपुरबाट लिएका हौं’