रुकुम पश्चिमः आठबिसकोट नगरपालिका वडा नम्वर ६ मा खाद्यन्न वितरण गरिएको छ । कोरोना महामारीको कारण ज्याला मजदुरी गर्न नपाएका र खाद्यान्न अभावको कारण दैनिक छाक–टार्न मुस्किल भएका १ सय २० परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
हिन्दु स्वयम् सेवक संघ नेपालले नेपाली कांग्रेस आठबिसकोट नगरपालिकाको समन्वयमा जिल्लाको दुर्गम बस्ती मानिने छिमी, मन्का, ज्यामिरे, ढारथला लगायतका टोलमा पुगेर खाद्यन्न वितरण गरेको हो । नेपाली कांग्रेस आठबिसकोट नगर सभापति कमल शाहका अनुसार डोल्पा र जाजरकोटको सिमानासँग जोडिएका यहाँका गरिब परिवारलाई सम्बन्धित टोलमै पुगेर हिन्दु स्वयम् सेवक संघले खाद्यान्न वितरण गरेको हो ।
न्युन उत्पादन हुने क्षेत्र भएको र ज्याला मजदुरी गरेर दैनिकी गुजारा गर्दै आएका यहाँ सर्वसाधारणहरुमा खाद्यान्नको अभाव भएको सूचना पश्चात पार्टीले समन्वय गरेर खाद्यन्न उपलब्ध गराउने वातावरण बनाएको सभापति शाहले जनाए ।
हिन्दु स्वयम् सेवक संघ नेपालका नरेन्द्र यरीका अनुसार १ सय २० घर परिवारलाई प्रतिपरिवार २५ किलो चामल, १ लिटर तेल, १ किलो नुन, १ किलो चिनि, १ किलो दाल, चियापत्ति र माक्स उपलब्ध गराइएको छ ।
संघका बिकुल दाहाल, नरेन्द्र यरी, लक्ष्मण यादव, हरिओम यादव खाद्यन्न वितरणको लागि आठबिसकोट नगरपालिकाको वडा नम्वर ६ पुग्नुभएको थियो । खाद्यन्न वितरण कार्यक्रममा नेपाली काँग्रेसका नेता धिरेन्द्र बटाला, कमल शाह लगायतको सहभागिता रहेको थियो ।