नेपालको रैथाने दमाई जातिको आफ्नै मातृभाषा छ । यो सुन्दा धेरैलाई अनौठो लाग्नसक्छ । तर यो वास्तविकता र यथार्थ हो । दमाई अर्थात नेपाली समाजमा दलितभित्र पनि निकै उत्पीडनमा परेको दमाई अर्थात परियारको पनि आफ्नै मौलिक मातृभाषा रहेको छ ।
जसलाई दमु दमाई कलउते मातृभाषा भनिन्छ । शेरशेनी प्राकृत, वाल्ही प्राकृत भने जस्तै दमु भाषालाई दरदी प्राकृत भनिन्छ । दिवङगत भएका इतिहास, संस्कृतविद प्राध्यापक डाक्टर जयराज पन्तका अनुसार दमु भाषा खस भाषा भन्दा पुरानो रहेको बताएका छन् ।
दमाईहरुले हुड्केली आदीवंश गाथाको विवेच्य कथ्य र वाच्यशैलीको आधारमा पन्तको भनाइ सही छ । अर्को कुरा जुम्ली भाषामा खस भाषा भन्दा दमु भाषाको ज्यादा प्रभाव र प्रयोग रहेको भाषाविदहरूले बताएका छन् ।
कसैले नाक खुम्च्याउनु पर्ने वा घमण्डले नफुलीकन भन्दा इतिहासका अनुसार नेपालका सबै जाति समुदाय ढिलोचाँडो बाहिरबाटै आएको तथ्य प्रमाणित छ । यसर्थ विद्वानहरूका अनुसार पाँचौ वा छैटौँ शताब्दीमा मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रमा खसबाहुन आगमनपूर्व र खस भाषा प्रचलनमा आउनुअघि त्यस क्षेत्रमा कुन भाषाभाषी प्रचलनमा थियो ? भन्ने विषय अहिलेसम्म अनुत्तरित छन् ।
सम्भवतः त्यसबेलामा दमु लगायत अन्य स्थानीय भाषा प्रचलनमा रहेको हुनसक्छ । तर शाषित, पीडितहरूको अस्तित्वनै धरापमा परेको बेलामा भाषा बचाउने, संरक्षण गर्ने कुरा गौण विषय बन्नु अस्वभाविक थिएन ।
प्रभाव, प्रभुत्व र वर्चस्वशाली शासकीय हिटलरी च्याम्बरमा दमु भाषा जस्तै अरू सम्पदा, पहिचान, सँस्कृति, सभ्यता, राजकाज, भूमि के कति नष्ट गरिए, लोप भए वा जानाजान विनाश गरिए ? गम्भीर रूपमा गहिरो खोज, अनुसन्धान गरिनुपर्दछ ।
तर यसको अगुवाइ कसले गर्ने ? राज्यलाई कुनै चासो र चिन्ता नै छैन । अनि समुदायलाई राजनीतिक दासत्वको अलमल, एनजीओको चारो र २१ औँ शताब्दीमा जातीय भेदभावको लुतो कन्याउँदै ठिक्क छ ।
हिमाल पहाड पाँच शिल्प समुदायमध्ये गन्धर्व, बादी र दमाईको आफ्नै मातृभाषा अस्तित्वमा रहेको पाइन्छ । कसैले भनेजस्तो हामी राष्ट्रविहिन र जात होइनौ । एउटा उच्चस्तरीय सभ्यता, सँस्कृित र मौलिक पहिचान भएका जातिनै हौ । तर हजारौं वर्षअघिको पुरातन मनुवादी बहिष्करण, अलगीकरण, किनाराकृत र अदृष्यकरणका कारणले प्राण बाहेक केही बाँच्न नसकेको तितो यथार्थ हो ।
मैले झन्डै १५ वर्ष अघिदेखि विभिन्न स्रोत र माध्यबाट दमु भाषाको स्वरवर्णका बारेमा निरन्तर खोजीमा रहेको थिएँ । ढिलै भएपनि आफ्नो मातृभाषाको अक्षर, शब्द पाइएको छ । म निकै खुशी हुनका साथै समुदाय र राज्यलाई एउटा भाषिक सम्पदा थपिएको छ ।
दमु भाषाको स्वरवर्णबाट खस नेपाली र दमु दमाई भाषाका केही सग्ला शब्द लेख्ने प्रयास गरेको छु । यसको ह्रस्व, दीर्घ, आकार, इकार उपलब्ध नभएकोले गर्दा अरू शब्द लेख्न सकिएन ।
दमु भाषाको विस्तृत अध्ययनको थालनी छिट्टै गरिने तयारीमा छौ । राज्यलाई प्रश्न छ, हाम्रो वास्तविक इतिहास लेखन कहिलेबाट शुरूवात हुन्छ ? हाम्रो अस्तित्व स्विकार्दै नस्विकारे पनि भाषा समेत नष्ट गरिनु हदैसम्मको प्रतिशोध होइन र ?
दमु (दमाई/कलउते) मातृभाषा
तुडुबुडु — अर्ती उपदेश
मवाड — मुख
सौराई — सम्झना
थाईए — स्थान
अन्यारो — अध्यारो
दमाउ — दमाहा
गड — बस्ने ठाँउ
कटकले — दल समुह
मास —महिना
बाला — बच्चा
सुरिज — निधार ( सुर्य )
सिङ्की — मिलेका
ढाट — कम्मर
पिउला — जाङ
केश — रौं (टाउकोको)
जल — पानी
भात — भोरजन
आमा — मत्हारी