दैलेख : उत्थान परियोजनाद्धारा दैलेखमा सात सय घरपरिवारलाई स्वास्थ्य तथा पोषण किट प्रदान गरिएको छ । आठबिस नगरपालिकाका तीन सय र दुल्लु नगरपालिकाका चार सय गरी सात सय घरपरिवारले किट पाएका हुन् । महामारीको समयमा नागरिकलाई स्वस्थ्य र सुरक्षित राख्न उत्थान परियोजनाले किट उपलब्ध गराएको हो ।
समुदायस्तरमा रहेका कृषि समुह र नागरिक छलफल चौतारीमा आबद्ध कृषक तथा घरपरिवारलाई किट दिइएको हो । दुल्लुका १५ वटा नागरिक छलफल चौतारी र तीन वटा कृषि समुहका चार सय सदस्यहरुलाई किट दिइएको परियोजनाका कृषि प्राविधिक संगम विष्टले बताइन् ।
दुल्लुका ठारा, मण्डा, देउतीचौर, मध्यगाउँ, बेतेनी, पानसैन भलकाटीया, तियाडी मन्दिर, सियाला नाउली, नारीकामुल, कालापानी, भण्डारी गाउँ, सानगाउँ, भजनीया पोखरी, अधिकारी र लक्ष्मीबजार नागरिक छलफल चौतारीका सदस्यहरुलाई किट उपलब्ध गराईएको छ । दुल्लु–४ को पिपल चौतारी कृषि समुह, दुल्लु ९ को पिपल चौतारा कृषि समुह र पञ्चकोशी ज्वाला ताजा तरकारी तथा फलफूल उत्पादन कृषि समुहका सदस्यहरुलाई पनि किट दिइएको उनले बताइन् ।
आठबिसका सम्मादी, मानदेव, खम्बडाँडा, सिर्कोट, सिगौडी, सिस्ने, अम्तोला, निमायल र अधिकारी नागरिक छलफल चौतारीका सदस्यहरुले किट प्राप्त गरेका हुन् । यस्तै निरालथान, बाँकीजालेचौर र चेतनशिल कृषि समुहका सदस्यहरुलाई किट दिईएको परियोजनाका कर्मचारी अबिलाल जैसीले बताए । स्वास्थ्य किटमा प्रतिपरिवार एक वटा थर्मोमिटर, दुई प्याकेट सेनेटरी प्याड, कपडा धुने र नुहाउने साबुन तथा २० वटा सर्जिकल मास्क रहेको छ ।
स्वास्थ्य किटसँगै दुल्लु र आठबीसका ८५ घरपरिवारलाई पोषण किट समेत सहयोग गरिएको छ । पोषण किटमा काजु, सिमी, मह, सर्जिकल मास्क, सेनीटाइजर, सेनेटरी प्याड, साबुन लगाएतका स्वास्थ्य तथा पोषणका सामग्री छन् । कोरोना प्रभावित परिवारलाई पोषण किट उपलब्ध गराईएको सोसेक दैलेखका पूर्व अध्यक्ष सिता रानाले बताइन् ।