काठमाडौँ : जुम्ला खस राज्यको किल्ला । तत्कालिन बाइसे चौबिसे राज्यको बेला सबैभन्दा शक्तिशाली राज्य । आफैमा एउटा इतिहास । सिँजा राज्यलाई संरक्षण गरेको खण्डमा मात्रै जुम्लामा पर्यटकको ओइरो लाग्न सक्छ । त्यसमाथि इतिहासकारहरुको खास अनुसन्धान स्थल हो सिँजा । नेपाली भाषाको उद्गम भाषाको थलो पनि सिँजा हो ।
जुन अहिले एउटा गाउँपालिकामा सिमित छ । शब्द र भाषणमा बाहेक जुम्लाको सिँजाको संरक्षण, प्रचार र व्यवस्थापन भएको छैन ।
मुगु र डोल्पामा तालहरुको साम्राज्य छ । रारा ताल र शे फोक्सुन्डो ताल विश्वकै लागि नयाँ र चर्चा भएका ताल हुन् । नेपालको सबैभन्दा ठूलो राराताल र सबैभन्दा उचाईमा रहेको गहिरो ताल शे-फोक्सुन्डोमा जति पर्यटक अरु तालमा पुग्दैनन् ।
फेवाताल बाहेक सबैभन्दा धेरै घुमिने र चर्चा पाएका ताल पनि कर्णालीकै यिनै दुई ताल हुन् । यो कर्णालीको सम्पति र गौरवको विषय हो । विश्वकै ध्यान तान्न सक्ने कर्णालीको यो सम्भावनाबारे अहिलेसम्म पनि प्रदेश सरकार बेखबर छ । सामान्य एउटा बाटो पनि रारा र फोक्सुन्डोका लागि सहज छैन ।
प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने बाटो नेपालकै हो । विश्वकै लागि मानसरोवर एक आश्चर्य र चर्चाले भरिएको ठाउँ हो । हुम्लाबाट मानसरोवर जाँदा सारा विश्वका पर्यटकले कर्णालीको अनुहार हेर्न पाउँछन् । तर हुम्लाकै सिमकोट विमानस्थल फराकिलो बन्न सकेको छैन ।
हुम्लासम्म अहिले पनि गाडी पुगेको छ । मोटरबाटो पुगेको खण्डमा मात्रै हुम्लामा पर्यटकको ताँती लाग्छ । तर त्यतातिर संघीय, प्रदेश र स्थानीय सरकारको ध्यान पर्याप्त छैन । दैलेख पेट्रोलियम पदार्थको खानी हो । जहाँ खोलानालामा पेट्रोल बगिरहेको छ । जमिनबाट ग्यास उडिरहेको छ । तर सरकारले त्यसलाई संरक्षण र खास विकास गर्न सकेको छैन । दैलेखको पेट्रोल खानी उत्खनन गरेको खण्डमा मात्रै पनि कर्णालीको विकास नयाँ उचाईमा पुग्छ ।
दैलेखकै पञ्चदेवलबारे अहिले पनि खास अध्ययन भएको छैन । यो आफैमा अनौठो इतिहास हो । यसबारे पर्याप्त अध्ययन गरेको खण्डमा भारतीय पाँच पाण्डवको नेपाल कनेक्सनबारे एउटा गतिलो किंवदन्ती मात्रै नभई इतिहास राख्न सकिन्थ्यो ।
सुर्खेतमा काँक्रेबिहारको एउटा गुम्बा बाहेक अरु कुराको व्यवस्थापन र अनुसन्धानमा चाँसो छैन । प्रदेश र केन्द्र सरकारले वर्षेनी करोडौँ बजेट यी क्षेत्रमा छुट्याउँछन् । तर अहिलेसम्म पनि यसबारे पर्याप्त चाँसो देखिदैन ।
काँक्रेबिहार क्षेत्रलाई पूरा पर्यटकीय हब बनाउन सकिन्थ्यो । एकान्त जंगलमा ट्रेकिंग रुट विकास गर्न सकिन्थ्यो । तर त्यो प्रदेश सरकारको भाषणमा सिमित छ । यसमा पनि पर्याप्त ध्यान पुगेको छैन । बुलबुले ताल तीन वर्षदेखि थला परेको छ ।
ताल विस्तार गर्ने भनेर खाली गरेर खनिएको ताल अहिले पनि अलपत्र छ । तीन वर्ष यता सुर्खेत पुगेका पर्यटक बुलबुले ताल देखेर हास्ने गरेका छन् । यति धेरै चर्चा हुँदा पनि कर्णालीको मुख्य चिनारी बनेको बुलबुले तालबारे पर्याप्त आधुनिक किसीमको व्यवस्थापन देखिदैन ।
खनेर थाल परेको ताल कहिले निर्माण सकिन्छ ? यसबारे स्पष्ट धारणा आइसकेको छैन । जाजरकोटको दरबारमा जिल्ला प्रशासन कार्यालय छ । कुनै बेला यो दरबारमा बसेर राजाले शासन गर्थे । यसलाई संरक्षण गर्नुको साटो अलपत्र छाडिएको छ ।
कर्णालीका खलंगाहरुको इतिहास केवल शब्दमा सिमित छ । यसबारे गरिएको अध्ययन र अनुसन्धान बाहिर ल्याइएका छैनन् । थप अनुसन्धान गरिएका पनि छैनन । जुम्ला, कालिकोट, रुकुम, जाजरकोट लगायतका ठाउँमा खलंगाको आफ्नै महत्व र किंवदन्ती छ । यसबारे पनि पर्याप्त अध्ययन र व्यवस्थापन भएको छैन ।
कर्णालीका सबैभन्दा ठूला सम्पति भेरी र कर्णाली नदी हुन् । जहाँ हजारौँ मेगावाटको विद्युत उत्पादन हुन सक्छ । तर नदीमा पानी खेर गइरहेको छ । सिँचाई नपाएर कर्णालीका मानिस खेती गर्न सकेका छैनन् ।
कर्णालीका यस्ता सयौँ सम्पति छन् । जो विकास नभएर होइन, विकासको मेसो नपाएर अलपत्र छन् । पर्यटकीय हबदेखि अनुसन्धानको केन्द्र बिन्दु बन्ने कर्णालीका यी अमूल्य सम्पति अलपत्र परिरहेका छन् । तर कर्णाली प्रदेश सरकार भने असारे खेतीमा छ । किसानहरु मानो रोपेर मुरी फलाउने काममा लागिरहदा कर्णाली प्रदेश सरकार भने भए भरको बजेट असारे झरीमा बगाउन उद्यत देखिन्छ ।
जसकारण कर्णालीको विकास एकादेशको कथामा सिमित छ । साच्चिकै अमूल्य कर्णालीको सम्पति कहिले गौरवको विषय बन्छ ? एकिन छैन । यसको विस्तृत योजना र अनुसन्धानको पाटोमा गम्भीर हुनुपर्ने दल र दलका नेताहरु फोहोरी खेलमा अल्झिएका छन् । जसकारण कर्णालीको विकास कछुवाको गतिमा सीमित छ ।
योपनि पढौं..