काठमाडौं, २५ चैत। नेपाल औषधी लिमिटेडले दैनिक २० हजार बोत्तल स्यानीटाइजरको बिक्री थालनी गरेको छ । लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले बजारको अभाव चिर्न उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरेर बजारीकरण सुरु गरिएको बताएका छन ।
उनले भने,' बजारमा स्यानिटाइजरको अभाव देखिएपछि लकडाउन अवधिमा पनि मेहनेतसाथ कच्चा पदार्थ खोजेर स्यानीटाइजर बनाइएका छाँै ।'
विदेशबाट आयात भएका स्यानिटाइजरको कालोबजारी सुरु भएपछि नेपाल औषधी लिमिटेडले उद्योग मन्त्रालय र औषधी व्यवस्था विभागसँग छलफल गरेर उत्पादन थालेको उनले उल्लेख गरे ।
स्यानिटाइजरको मुख्य कच्चा पदार्थ अल्कोहल बाराको रिलायन्स सुगर मिल्सबाट खरिद गरिएको लिमिटेडले जनाएको छ । पहिलो चरणमा कम्पनीले १० हजार लिटर अल्कोहल खरीद गरेको र अझै खरिद गरिने लिमिटेडले जनाएको छ ।
लिमिटेडले उत्पादन गरेको स्यानिटाइजरमा अल्कोहल ८० प्रतिशत, पानी १८ प्रतिशत बाँकी ग्लीसिरिन तथा डिस्टिल वाटरको प्रयोग गरिएको छ ।
आइतबारदेखि एक सय एमएलको बोत्तलमा दैनिक २० हजार बोत्तल स्यानिटाइजर उत्पादन भइरहेको उनले बताए ।
एकसय एमएलको बोत्तलको होलसेल मूल्य १५० रुपैयाँ र खुद्रा बिक्री मूल्य १७५ रुपैयाँ तोकिएको छ । त्यस्तै ठूलो जार, भाँडोमा वा ग्यालिनमा लानेहरुका लागि प्रतिलिटर १२ सय ५० रुपैयाँका दरले बिक्री सुरु गरिएको उनले बताए ।
बरबरमहलमा रहेको प्रधान कार्यालयबाट सर्वसाधारणले पनि चाहेजति स्यानीटाइजर किन्न सक्ने लिमिटेडले जनाएको छ । दैनिक एक सय कर्मचारी स्यानिटाइजर उत्पादनमा खटेको र बजारमा स्यानिटाइजरको कुनै अभाव हुन नदिने बज्राचार्यको दाबी छ ।
नेपाली सेनाले मात्रै एकै दिन २५० लिटर स्यानिटाइजर माग गरेको र अन्य सरकारी कार्यालयबाट पनि माग भएको निमित्त महाप्रबन्धक बज्राचार्यले बताए ।