सिमकोट: हुम्लाका बैंकहरुमा सेवाग्राहीको भीडभाड वृद्धि हुँदै गएको छ । आर्थिक वर्षको अन्तिम समय आएको कारण राजश्व जम्मा गर्ने र चेक सटही गर्ने संख्यामा वृद्धि हुँदा यता कारोबार पनि वृद्धि हुँदै गएको छ । खार्पुनाथ गाउँपालिका– ४ का बबरजंग हमालले बिहान दश बजेबाट बैंकमा चेक सटही गर्न लाइनमा बसेर भुक्तानी लिन नसकिएको बताए ।
बैंकमा कामको चाप बढी हुनु र सम्बन्धित कार्यालयबाट निकासा कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाए पनि त्यताबाट बैंकमा ढिलो गरी निकासा बैंक खातामा आउने भएको कारण भुक्तानीमा समस्या भएको सेवाग्राहीहरुको गुनासो रहेको छ । उनले दुई दिन लगाएर डेढ लाखको चेक साँट्न पाएको सुनाए ।
बैंकमा बिहानैबाट भुक्तानीका लागि लाइनमा सेवाग्राहीले बस्नु पर्ने अबस्था रहेको र त्यो पनि त्यसै दिन भुक्तानी हुने नहुने निश्चित हुने गरेको छैन । कतिपय सेवाग्राहीहरु लाइनमा बसेर फिर्ता हुनु पर्ने अबस्था छ ।
अर्का सेवाग्राही सलिना शाहीले पाँच घण्टा लाइनमा बसेर तीस हजारको भुक्तानी लिनु परेको बताए । असार मसान्त लागेकै कारण कहिल्यै नदेखिने सेवाग्राहीको लाइन बैंकमा देखिने गरेको बताउदै उनले बैंकबाट भुक्तानी लिन सास्ती खेप्नु पर्ने अबस्था रहेको जानकारी दिए ।
बाणिज्य बैंकका सहायक प्रबन्धक मान बहादुर शाहीले अन्य बेला भन्दा बैंकमा भुक्तानी लिनको चाप बढेको बताए । बैंकले बिकटको ठाउँमा पनि दैनिक छ सयसम्म चेकहरु भुक्तानी गर्नु परि रहेको र दैनिक चार करोड भुक्तानी दिनु परेको रहेको बैंकले जनाएको छ ।
भुक्तानीका लागि सेवाग्राहीहरु लामो समय लाईनमा बसेर पनि भुक्तानी दिन नसकिएको बैंकले जनाएको छ । उनले यसमा नेट स्लोले पनि समस्या गरेको बताए । कामको चाप बढेपछि बैंकका कर्मचारी बिहान आठ बजेबाट बेलुका आठ बजेसम्म कार्यालयमा काम गरी रहनु परेका छ ।
सरकारी कारोवारमा प्रत्येक भौचर राजश्व छुट्टै जम्मा गर्नु पर्ने भएको कारण पनि बैंकमा कामको चाप बढेको हो । हाल बैंकमा १९ करोडसम्म मात्र मौज्दात रहेको र धेरै ठुला कार्यालय र आयोजनाको भुक्तानी दिन बाँकी रहेको कारण पैसाको अभाव हुन सक्ने बैंकले जनाएको छ । बैंकले एक दुई दिनमै थप पैसा मगाउने तयारी समेत गरेको जनाएको छ । यता सिटिजन्स, साँग्रीला र कृषि बिकास बैंकले पनि सेवाग्राहीको चाप बढेको जनाएका छन् ।