वीरेन्द्रनगरः कर्णाली प्रदेशको राजधानी सुर्खेतले कोभिड—१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले प्रदेशमै पहिलो पटक कार्ययोजना तयार गरेको हो ।
कार्ययोजनामा यति कोभिडको तेस्रो लहर आएमा कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट योजना बनाइएको छ । चार जना चिकित्सक, चार जना नर्स र चार जना पारामेडिक्सको टोली जतिसुकै बेलापनि तयार हुने र त्यसको व्यवस्था स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले गर्ने तोकिएको छ ।
तेस्रो लहरबाट बालबालिकाहरु बढी जोखिम हुने भनिएकोले प्रदेश अस्पतालमा बालबालिकाका लागि चार वटा भेन्टिलेटर, १० वटा एचडियु बेडलगायत औषधि र उपकरणहरु तयारी अवस्थामा राख्न र त्यसको व्यवस्था प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले गर्नुपर्ने भनिएको छ ।
अवको एक महिनाभित्रमा आवश्यक औषधिहरु खरिद गरिसक्नुपर्ने, रेम्डिसिभिर औषधिको कमी भएकोले एकैपटक कम्तीमा ३०० जनालाई पुग्ने गरी व्यवस्था गर्नुपर्ने, प्लाज्मा थेरापीको व्यवस्था नभएकोले सुर्खेतमै गर्नुपर्ने, कम्तीमा ६०० अक्सिजन सिलिण्डर व्यवस्था गर्नुपर्ने, सुर्खेत जिल्ला बाहिर एउटा अक्सिजन फिलिङ प्लान्ट स्थापना गर्नुपर्ने, प्रदेश अस्पतालमा थप एउटा प्लान्ट बनाउनुपर्ने, घर तथा टोलमै पिसिआर स्वाब लिने व्यवस्था मिलाइनुपर्ने, एम्बुलेन्स तथा शव वाहनहरु तयारी अवस्थामा राख्नुका साथै चालकहरुलाई स्वास्थ्य सुरक्षा सावधानीका वारेमा सचेत गराउनुपर्ने र कोभिड नियन्त्रण र रोकथामवारे सवै तहलाई व्यापक जानकारी र प्रचारप्रसार गर्ने काम सो कार्ययोजनामा समेटिएको छ ।
कार्ययोजनामा उल्लेख भएका कामहरु प्रदेश अस्पताल, प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, उद्योग बाणिज्य संघ, रेडक्रसलगायतले गर्ने जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्ययोजना विहिबार साँझ प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले कोभिडको तेस्रो लहर आउनु अघि नै कार्ययोजना तयार भएकोले यसैका आधारमा रोकथाम तथा नियन्त्रणका काम गर्न सहज हुने बताए । उनले विगतमा पूर्व तयारी नहुँदा क्षति भोग्नुपरेको भन्दै तेस्रो लहरमा भने कमी आउने विश्वास व्यक्त गरे । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले तेस्रो लहर अघि नै पूर्व तयारी भएकोले सरोकारवाला निकायहरुलाई काम गर्न सहयोग पुग्ने बताए ।
उनले सबै पक्षले कार्ययोजनानुसार काम गरे तेस्रो लहर रोकथाम गर्न सकिने दाबी गरे । कार्ययोजना तयार समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी महतले करिब दुई साताको अवधिमा कार्ययोजना तयार पारिएको बताए । कार्ययोजना निर्माण समितिमा जिल्ला जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय, रेडक्रस, उद्योग बाणिज्य संघ र पत्रकार महासंघ थिए ।