रुकुम पश्चिमः कोरोना संक्रमित बिरामी र कुरुवालाई लक्षित गरी रुकुम पश्चिममा सुरुवात गरिएको निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि बन्द भएको छ । गएको जेठ ७ गतेदेखि असार २५ गतेसम्म जिल्ला अस्पताल सल्लेमा नेकपा विप्लव समूहको एक स्वयमसेवक समूहले चलाएको निःशुल्क खाना तथा खाजा खुवाउने अभियान ५१ दिनपछि बन्द गरिएको हो ।
महामारीको कारण जारी गरिएको निषेधाज्ञा केही खुकुलो भइ होटेल तथा रेष्टुरेण्ट समेत खुला गर्ने भएकोले हाललाई उक्त अभियान बन्द गर्ने चरणमा लिएको अभियानका संयोजक तथा नेकपा रुकुमका जिल्ला कार्यालय सदस्य नरेन्द्र बिकले बताए ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयद्धारा जिल्लामा निशेधाज्ञा जारी गरिएको र अस्पताल भित्र सञ्चालित चमेना गृहले पनि गुणस्तरहिन र महंगो खाना तथा खाजा खुवाएको गुनासोपछि निःशुल्क खाना खुवाउने अभियान चलाइएको थियो ।
‘बाहिर होटल तथा खाजा पसल बन्द भएपछि अस्पतालमा आउने बिरामी र उनका कुरुवाहरु समस्यामा परेका थिए । यस्तो महामारीको बेलामा मानवीय सेवाको लागि निःशुल्क खाना खुवाउने अभियान चलाएका हौ’ संयोजक विकले भने ।
एक समापन कार्यक्रम गरी निःशुल्क खाना तथा खाजा खुवाउने अभियानमा करिब १ हजार १ सय ४४ जनालाई झण्डै ४ हजार ८ सय ४५ छाक खाना खुवाएको जानकारी दिइएको छ । यस अवधिमा अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समेत खाजाको व्यवस्था गरेको जनाइएको छ ।
संयोजक विकले अभियान व्यबस्थापनको क्रममा ५ लाख ३९ हजार ८ सय ३० रुपैया खर्च भएको र ३ लाख ३७ हजार २ सय ५० बराबरको विभिन्न जिन्सी सामान सहयोगीदाताहरुबाट प्राप्त भएको बताए । उनले व्यवस्थापकीय रुपमा २ लाख १ हजार ७ सय रुपैया तिर्न बाँकी रहेको समेत जानकारी दिए ।
पत्रकार महासंघका अध्यक्ष सहित ७ जना सम्मानित
अभियानको समापनको क्रममा नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी सहित ७ जनालाई सम्मान गरिएको छ । २०७८ जेठ ७ गतेदेखि असार २५ गते सम्म जिल्ला अस्पतालमा सल्लेमा कोभिड १९ संक्रमित बिरामी र कुरुवाको लागि निःशुल्क खाना तथा खाजा खुवाउने अभियानमा महत्वपूर्ण सहयोग गरेको भन्दै केसीसहित सात जनालाई दोसल्ला र कदरपत्र सहित सम्मान गरिएको हो ।
उजेली न्युज डटकमका प्रकाशक तथा सम्पादक समेत रहेका केसी, सरस्वती मावि सल्लेका प्रधानाध्यापक खम्बुसिं थापा, मुसिकोट नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष बिरवल केसी, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यबस्थापन बिष्णु बुढाथोकी पनि सम्मानित भएका छन् ।
त्यसैगरी सोहि कार्यक्रममा विमानस्थल सुरक्षा गार्ड सल्लेका प्रहरी नायब निरिक्षक शेरबहादुर चन्द, साझा मुराल अस्पतालका डा.दिपक पुन र स्थानीय समाजसेवी नन्दकली दमाई सम्मानित भएका हुन् । समापन कार्यक्रममा नेकपा विप्लव समुहका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले अभियानमा सहयोग गर्ने बिभिन्न सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।