चितवनः पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा विताएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाइरहेका छन । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गरिरहेका छन् । उनी विदेशको भन्दा यहाँको कमाइमा सन्तुष्ट छन् ।
भरतपुर महानगरपालिका वडा नं। १० रिजाल चोकमा उनको कान्तिपुर कार डेकोर एण्ड ज्याकवास सेन्टर वीथ रिकण्डिसन रहेको छ । हरेक दिन बिहान सबेरैदेखि साँझ अबेरसम्म कामदार कर्मचारीसँगै उनी काममा व्यस्त हुन्छन् । मिलनचोकमा घर भएका ज्ञानेन्द्र स्नातक अध्ययनका क्रममा विदेशिनु पर्यो ।
विसं २०५७ मा मकाउ गएका उनले चार वर्ष त्यहाँ विताए । मासिक एक लाख कमाइ हुने भए पनि चित्त नबुझेपछि उन िकोरिया पुगे । सात वर्षको कोरिया बसाइमा मासिक १ लाख ३० हजार हाराहारी कमाइ थियो । त्यसबाट उनी सन्तुष्ट हुन सकेनन । त्यसपछि युएई पुगे । त्यहाँ चार वर्ष ६ महिना बसाइ अन्यत्र जस्तै कमाइ भएपनि त्यहाँ छोडेर स्वदेश फर्किए ।
लगत्तै भरतपुर विमानस्थल नजिकै यो व्यवसाय शुरु गरे । झण्डै ४० लाखको संरचना निर्माण गरी व्यवसाय थालेपनि विस्तार भएसँगै उनले फराकिलो ठाउँ खोजे । यही क्रममा तीन वर्षपछि उनले रिजाल चोक पुग्नु भयो । दुई कठ्ठा जमिनमा संरचना निर्माण गरी कारको सजावट, सरसफाइ, पार्टस् बिक्री र पुराना कार किनबेचको व्यवसाय ज्ञानेन्द्रले गरे ।
यो व्यवसायमा उनको लगानी झण्डै दुई करोड पुगिसकेको छ । क्याम्पस पढाउँदै गरेकी उनकी श्रीमती सुलोचना प्याकुरेल क्षेत्रीले पनि फुर्सदको समयमा व्यवसायमा साथ दिँदै आइन् । दिउँसोको समयमा सुलोचनाले व्यवसाय हेर्थिन् । भने उनी बजार प्रवर्धनमा जुट्ने गरेका थिए । नौ जना कामदार कर्मचारीलाई रोजगारी दिएर व्यवसाय गरिरहेका उनले भने, “मैले विदेशमा मिहिनेत गर्नुपर्छ भन्ने सिकेको कुरा स्वदेशमा आएर कार्यान्वयनमा ल्याएको छु ।”
दैनिक १४ घण्टा हाराहारी काममा खट्ने उनी शनिबारको दिन परिवारसँगै रमाउने गर्छन् । कोरियामा जस्तै गरी सातामा एक पटक कामदार कर्मचारी सहित खानपान गराउने उनको प्रचलन रहेको छ । आम्दानी कस्तो छ, भन्ने जिज्ञासामा उनी भन्छन्, “विदेशको भन्दा झण्डै दोब्बर यहाँ कमाउँछु । यसमा मेरो कडा मिहिनेत छ”। अब विदेश जाने भन्ने प्रश्नमा उनले भने “अमेरिकाले भिसा पठायो भने पनि म जान्न ।”
ज्ञानुका नामले परिचित उनको अहिले भरतपुर क्षेत्रमा राम्रै सेवाग्राही छन् । मिजासिलो स्वभाव र मीठो बोलिका कारण सेवाग्राहीको मन जित्न सक्ने उनको कर्म देखेर पनि धेरै प्रभावित हुने गरेका छन् । विदेश जान खुट्टा उचाल्नेहरुलाई स्वदेशमै श्रम गर्न उनको सुझाव छ । रासस