काठमाडौँ : नेकपा एमालेको आन्तरिक विवाद सहमति उन्मुख छ । विवाद मिलाउन गठित कार्यदलले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ । पछिल्लो दुई हप्ता यता भइरहेको वार्ता शनिबार बेलूकीसम्म सहमतिमा परिणत हुने एमाले नेताहरुको विश्वास छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल मिल्नुको विकल्प नभएको निष्कर्षमा पुगेपछि एमाले विवाद मत्थर हुँदै सहमति उन्मुख भएको हो । यस्को प्रतिक्षामा सर्वोच्च अदालत पनि छ ।
एमाले विवाद सहमति उन्मुख हुनु र सर्वोच्चले फैसला प्रतिक्षामा राख्नु एमाले विवाद समाधान गरेर चुनाव जाने संकेत देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । तर यसको वास्तविकता भने २८ गतेपछि मात्रै थाहा हुनेछ ।
एमाले विवाद मिल्नासाथ मुलूकमा धेरैथोक परिवर्तन हुने निश्चित छ । यसको पहिलो असर सत्तामा पर्नेछ । जहाँ ओली फेरि शक्तिशाली हुनेछन् । उनको सत्तायात्रा चुनावसम्म जानेछ । आगामी दिनमा चुनावमा हार व्यहोरे फरक कुरा तर अझै कम्तीमा चुनावसम्म एमाले देशकै शक्तिशाली पार्टी कायम रहनेछ ।
एमाले विवादको असर स्वतः सर्वोच्चको फैसलामा पनि पर्नेछ । यद्यपी यसको अनुमान अहिल्यै लगाउन हतार हुन्छ । विवाद मिलेपछि देश चुनावमा जाने सम्भावना पनि उत्तिकै छ । जसलाई सर्वोच्च अदालतले ग्रीन सिंग्नल दिएको छ ।
'विवाद मिल्नासाथ सर्वोच्चको फैसलालाइृ स्वागत गरेर जाने आन्तरिक सहमति छ', एमाले कार्यदलका एक सदस्यले भने, 'तर यसका लागि जसरी पनि कार्यदलबाटै आन्तरिक विवाद मिलाउन अपरिहार्य छ । यसमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले सहमति गर्न आवश्यक छ ।'
एमालेको सम्भावित एकता र विवाद समाधानमा कर्णाली पनि प्राथमिकतामा छ । पुर्ण बहुमत हुँदाहुँदै पनि प्रतिपक्षमा सिमित हुनु परेपछि पार्टीका नेता कार्यकर्ता र भोट दिने जनतालाई अपमान भइरहेको एमालेका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ ।
मुख्यमन्त्रीको सरकार ढल्छ, एमालेको सरकार बन्छ
अहिलेसम्म देखिएको स्पष्ट संकेतमा एमालेको विवाद दुई चार दिन ढिला भएपनि मिल्ने सम्भावना धेरै छ । स्वयंम माधव नेपाल नै पार्टी फुटाउनेभन्दा मिल्ने लक्षणसहित ओलीसँग निरन्तर वार्तामा छन् ।
कार्यदल त्यसैको गृहकार्यमा लागिरहेको छ । एमालेको दोसो तहका नेताहरुको निर्णायक प्रयासमा एमाले विवाद समाधानमा जान लागेको हो । यसको पहिलो असर कर्णालीमा पर्नेछ । जबकी एमालेभित्रको विवाद र आन्तरिक कलहले काठमाडौमा राजनीतिक भूकम्प गएको थियो ।
प्रतिनिधि सभा विघटन भएको थियो । एमालेलाई छाडेर माधव नेपाल प्रचण्ड र शेरबहादुर देउवासँग मिल्न गएका थिए । अहिले पनि उनी विपक्षी गठबन्धनमा छन् । अहिले एमाले विवाद समाधान भएमा उनी एमाले मुख्यालयमा फर्किनेछन् ।
प्रतिनिधि सभा पुनस्थापना भएमा पनि ओलीले विश्वासको मत पाउनेछन् । देश चुनाव सक्नेछ । ओली र माधव नेपाल मिल्ने वित्तिकै कर्णालीका एमाले मन्त्रीले राजीनामा दिनेछन् । उनीहरुको राजीनामासँगै माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र शाहीको सरकार अल्पमतमा पर्नेछ र त्यसपछि ढल्नेछ ।
किनकी माओवादी केन्द्र र कांग्रेससँग सरकार चलाउने बहुमत छैन । दुवै पार्टीका सांसद जोड्दा १८ जना छन् । एमाले एक्लैसँग २० जना सांसद छन् । यस्तो अवस्थामा माओवादीको सरकार ढलेपछि एमालेको सरकार बन्नेछ ।
तर त्यसका लागि काठमाडौँमा माधव नेपाल एमालेको सहमतिमा आउन आवश्यक छ । आन्तरिक विवाद मिल्नासाथ त्यसको सिधा असर कर्णाली प्रदेशमा पर्ने मात्रै छैन, सत्तामा उथलपुथल हुनेछ ।
'अहिलेसम्म प्रदेशसभा अवरुद्ध भएपनि हाम्रो पर्खाई काठमाडौमा विवाद समाधानतिरै छ', कर्णालीका एक एमाले मन्त्रीले कर्णाली खबरसँग भने, 'विवाद मिल्नासाथ हामीले राजीनामा दिन्छौँ । अहिलेको सरकार ढलेर एमालेकै सरकार बन्छ । तर त्यसका लागि माधव नेपाल र ओलीबीचको सहमति निर्णायक हुन्छ ।'