सिमकोटः सिमकोट गाउँपालिकाले पहिलो पटक सामाजिक सुरक्षा भत्ता पाउनेलाई बैंक खातामा जम्मा गरेको छ । उक्त भत्ता बैंक खातामा जम्मा गर्नु पर्ने प्रावधान अनुसार गाउँपालिकाले बैंक खातामा जम्मा गरिएको हो ।
सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाका अनुसार ९८ प्रतिशत सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको बैंक खाता खोलेर रकम जम्मा गरिएको छ । उनले बाँकी दुई प्रतिशत सेवाग्राही पनि जिल्ला बाहिर भएको कारण खाता खोल्न नसकिए पछि विकल्प बनाउने जानकारी दिए ।
पहिले निकासा नआएको र सेवाग्राहीले बैंक खाता खोल्न ढिलो गरेको कारण बार्षिक रुपमा उक्त भत्ता बैंक खातामा पठाएको गाउँपालिकाले जनाएको छ । सेवाग्राही सबैले साँग्रीला बिकास बैंकमा खाता सञ्चालन गरिएको र गाउँपालिकाबाट भत्ता सिधै उक्त खातामा जम्मा भइसकेको जनाए ।
गाउँपालिकाका एमआईस अप्रेटर नर बहादुर जेठाराले बैंक खाता खोल्दा ३६८ जना सेवाग्राहीको संख्या घटेको बताए । यो कार्यबाट दोहोरिएका व्यक्ति घटेको कारण राज्यलाई समेत आर्थिक फाईदा र हिनामिना हुनबाट रकम बचेको छ ।
उनले यस वर्षबाट लागु भएको बैंक खाताबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा गत आर्थिक वर्षमा तीन हजार सात सय भएकोमा त्यो संख्या घटेर तीन हजार ३३२ पुगेको जनाए । दुई हजार सात सय सेवाग्राहीले बैंकमा आएर खाता खोलेका थिऐ भने ६३२ जनाको कर्मचारी गाउँगाउँमा गएर खाता खोल्ने कार्यमा सहजिकरण गरेर खाता खोलेर ल्याईएको थियो ।
सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिकले मासिक तीन हजार, पुर्ण अपांगताले तीन हजार, साठी देखि ६९ वर्षका जेष्ठ नागरिक र एकल महिलाले एक हजार छ सय र बालवालिकाले चार रुपियाँ पाउदै आएका छन् । गाउँपालिकाबाट वार्षिक पाँच करोड २२ लाख ४६ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा गएको गाउँपालिकाले जनाएको छ । यसमा खार्पुनाथ गाउँपालिकाले आंसिक रुपमा बैंक खातामा भत्ता जम्मा गरेको छ भने नाम्खा गाउँपालिकाले हातैमा बुझाएको छ ।