भक्तपुरः जुनसुकै उमेर समूह तथा लिङ्गका व्यक्तिबाट रमाइलो गर्दै खेलिने प्राचीन डोरी तान खेललाई देशव्यापीरूपमा विस्तार गरिने भएको छ । परम्परादेखि नै चल्दै आए पनि पछिल्लो समयमा यी खेल ओझेलमा पर्दै गएपछि डोरी तान्ने नेपालको पुरानो खेललाई जोगाउन नेपाल डोरी तान सङ्घले यो खेललाई देशव्यापीरूपमा विस्तार गर्ने भएको हो ।
यसै क्रममा नेपाल डोरी तान सङ्घ ९नेपाल टग अफ वार० वाग्मती प्रदेशको अध्यक्षमा सुन्दरकुमार शाक्य ९भक्तपुर० चयन हुनुभएको छ । उपाध्यक्षमा आशिष श्रेष्ठ (ललितपुर), सचिवमा निरोज महर्जन (ललितपुर), कोषाध्यक्षमा जमुना महर्जन (मकवानपुर) र सहसचिवमा मुरारीप्रकाश सञ्जेल (काठमाडौंँ) चयन भएको सङ्घ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक भुवनलाल श्रेष्ठले जानकारी दिए।
त्यसैगरी प्रदेश सदस्यहरुमा कर्मा वाङ्गेल लामा (सिन्धुपाल्चोक), ओम प्रधान (सिन्धुली), रमेश श्रेष्ठ (धादिङ), प्रल्हाद खनाल (काठमाडौँ), नारायणप्रसाद श्रेष्ठ (रामेछाप), जानकी गुरुङ (काठमाडौँ), हीरा शर्मा नेपाल (काभ्रे), श्रीराम दाहाल (काठमाडौँ) चयन भएका छन् । जिल्ला शिक्षा अधिकारी हुँदै शिक्षा मन्त्रालय एवं मातहतका कार्यालयमा सेवा गर्दै हाल अवकाश प्राप्त अध्यक्ष शाक्यले यस खेललाई विद्यालयस्तरमा विस्तार गर्दै लैजाने बताए ।
नेपाल टग अफ वारका केन्द्रीय अध्यक्ष भवानी पौडेलले कार्यक्रममा सङ्घको भावी योजना, कार्ययोजना, विगतमा भएका कार्यक्रमका बारेमा जानकारी गराए । सङ्घ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेशका संयोजक भुवनलाल श्रेष्ठले चयन भएका समितिको नामावली घोषणा गर्नु गर्दै सङ्घलाई बाँकी दुईवटा प्रदेश र जिल्ला हुँदै देशभरि विस्तार गरिने बताए ।
कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष सूर्य भण्डारीले स्कूल र कलेजमार्फत डोरीतान खेललाई विस्तार गरिँदै लगेको बताए । अन्तरराष्ट्रिय डोरीतान महासङ्घको नियमानुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाइन्छ ।