काठमाडौ । कोरोना संक्रमित भएपनि ३ लाख मानिस उपचारपछि घर फर्किएका छन । कोरोनासँगको झण्डै महिना दिन लामो लडाई जितेर ३ लाख मानिस घर फर्केका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । यो समाचार तयार पार्दासम्म ३ लाख ७ हजार ५९ जना उपचारपछि घर फर्किएका हुन ।
यसरी घर फर्किनेमा सबैभन्दा धेरै चीनका छन । चीनमा ७७ हजार मानिस कोरोनासँगको लडाई जितेर घर फर्केका छन । वुहान राज्यबाट फैलिएको कोरोना भाइरसबाट चीनमा ८१ हजार संक्रमित छन । तर भाइरस नियन्त्रणका लागि तत्कालै सीमासहित नाका नै सिल गरेको चीनले भाइरस नियन्त्रणमा नेतृत्व लिदै आफ्ना धेरैभन्दा धेरै नागरिकलाई उपचारपछि सकुशल घर फर्काउन पनि सफल भएको छ ।
![](/uploads/shares/corona old womans.jpg)
चीनमा ३३ सय जनाको भने कोरोनाका कारण मृत्यु भएको थियो । त्यहाँ अहिले २ सय ११ जनाको अवस्था मात्रै नाजुक छ भने १२ सय भन्दा धेरैको उपचार भइरहेको छ ।
चीनपछि स्पेनका ४३ हजार मानिस पनि कोरोनासँगको लडाईमा विजय हात पारेर घर फर्किएका छन । त्यहाँ झण्डै १३ हजारले ज्यान गुमाउँदा १ लाख ४० हजारभन्दा धेरै संक्रमित छन । चीन र स्पेनपछि जर्मनीका ३६ हजार कोरोना संक्रमित पनि उपचारपछि घर फर्किएका छन ।
यस्तै इरानका २७ हजार, इटालीका २४ हजार, अमेरिकाका २१ हजार, फ्रान्सका १९ हजार कोरोना संक्रमित पनि घर फर्किएका छन । यस्तै स्वीट्जरल्याण्डका ८ हजार, बेल्जियम र अष्ट्रियाका चार चार हजार, दक्षिण कोरियाका ६ हजार, क्यानडाका ३ हजार र अष्ट्रेलियाका २ हजार बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन ।
![](/uploads/shares/corona patients.jpg)
कोरोना संक्रमित १४ लाखमध्ये १० लाखको उपचार भइरहेको छ भने झण्डै ५० हजारको अवस्था अझै नाजुक छ । ३ लाख भने कोरोनासँगको लडाई जितेर घर फर्किएका विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।