रुकुम पश्चिमः जिल्लाका एक सय जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरिएको छ । बाँफिकोट गाउँपालिकामा रहेको आमा–बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षय कोेषले गाउँपालिकाका एक सय जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । गाउँपालिकामा रहेका विभिन्न विद्यालयहरुको सिफारिसको आधारमा विद्यार्थीहरुलाई छात्रवृत्तिमा छनौट गरिएको प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर केसीले बताए ।
उनका अनुसार टुहुरा, अनाथ, अपांग भएका, गरिब तथा विपन्न परिवारका सदस्य रहेका विद्यार्थीहरु छनौट गरेर उनीहरुलाई एक शैक्षिक सत्रभरि पुग्नेगरी शैक्षिक सामग्रीहरु, विद्यालय पोसाक, झोला, टिफिन बक्स लगायतका सामग्री उपलब्ध गराइएको हो । कोही पनि विद्यार्थी गरिबि र अभावका कारण बिद्यालय शिक्षाबाट बञ्चित हुनु हुदैन भन्ने उद्धेश्यका साथ उनीहरुको शैक्षिक भविष्य उज्जवल बनाउन अक्षय कोष बनाएर छात्रबृति वितरण गरिएको अध्यक्ष केसीले बताए ।
छात्रवृत्ति पाएका आज कक्षा १ देखि कक्षा ५ सम्मका ६८ जना बिद्यार्थीलाई प्रति विद्यार्थीलाई ४ दर्जन कापी, कलम, टिफिन बक्स, बिद्यालय पोसाक र झोला उपलब्ध गराइएको छ भने कक्षा ६ देखि कक्षा ८ सम्मका १७ जना बिद्यार्थीहरुलाई प्रति विद्यार्थी ६ दर्जन कापी, कलम, ज्यामिति बक्स, बिद्यालय पोसाक र झोला दिइएको छ । त्यसैगरी कक्षा ९ र १० का १५ जना विद्यार्थीलाई प्रति विद्यार्थी ७ दर्जन कापी, कलम, ज्यामिति बक्स, विद्यालय पोसाक र झोला दिइएको छ ।
आमा बाबु स्मृति प्रतिष्ठानले छात्रवृत्रि अक्षय कोषमा रकम जम्मा गरिदिन गरेको अनुरोध बमोजिम देश तथा बिदेशमा रहेका बिभिन्न व्यक्तिहरुले एक बर्षको अवधिमा जम्मा गरेको करिब २७ लाख रकम मध्यबाट प्रथम पटक एक सय जनालाई छात्रवृत्ति दिइएको प्रतिष्ठानले जनाएको छ ।