सिमकोट : एकदेखि सत्र वर्षसम्म लगातार काम गर्दै आएका स्वास्थ्य स्वयंसेविकाहरु आँखाभरी आँसु लिएर बिदाइ भएका छन् । ६० वर्ष उमेर पुरा भएका र एसईई अनुतिर्ण भएर पनि काम गर्दै आएका सबै स्वास्थ्य स्वयंसेविकालाई बिदाइ दुख मान्दै बिदाइ भएका हुन ।
अब बिगतमा महिला तथा बालबालिकाका गरेका काम सम्झनु बाहेक अन्य उपाय नभएको बताउदै ताँजाकोट गाउँपालिका–५ की दुधकला रोकायाले सत्र वर्ष काम गरेर बिदाइ हुँदा निक्कै दुख लागेको बताइन् । उनले गरेको कामबाट बिदा हुँदा निक्कै छटपटी लाग्ने गरेको बताउदै कामबाट बिदा भएपनि स्वयमसेवी रुपमा गाउँमा सहयोग गर्ने संकेत गरिन् ।
बालबालिकालाई खोप लगाउने बेला र महिलाहरु सुत्केरी हुने समयमा गरेको काम सम्झिदै आँखामा आँसु समेत निकालेकी रोकायाले जनताका लागि सेवा गरेको बिगत बताइन् । त्यसैगरि अर्की स्वस्थ्य स्वयम सेविका कल्सरी सुनारले लामो समय काम गरेर छोड्नु पर्दा निक्कै पिरलो भएको सुनाइन् । शैक्षिक योग्यता भन्दा पनि काम गरेर आफु परिपक्व भएको बताउदै नियमले नमिल्दा विदाइ हुनु परेको उनको दुखेसो थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले लामो समयदेखि गाउँगाउँमा महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आएका २० जना महिलालाई गाउँपालिकाले प्रोत्साहन स्वरुप दश हजार रुपियाँ सहित सम्मान गरेर बिदाइ गर्नु परेको बताए । स्वास्थ्य स्वयंसेविका राख्ने नयाँ प्रावधानमा एसईई वा सो सरह हुनु पर्ने र ६० वर्ष उमेर कटेकालाई राख्न नमिल्ने भए अनुसार पुराना सवैलाई विदाइ गरिएको हो ।
कार्यक्रममा बिदाई हुने सबैलाई दोसल्ला ओढाईएको थियो । अधिकृत ढकालले लामो समय काम गरेको कारण उनीहरु खिन्न मन लिएर बिदाइ हुनु स्वभाबिक भएको बताए । विदाइ भएका सेविकामा वडा नम्बर १, २ र ३ का ११ जना र वडा नम्बर ४ र ५ का नौ जना रहेका छन् ।
गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्याङ्खुले लामो समयदेखि काम गरिरहेका तर योग्यता नपुगेका पुराना स्वयम सेबिका भएको कारण बिदा गर्नु बाध्यता रहेको बताए । यसरी बिदाई पाउने स्वयंसेविकाहरु एक देखि १७ वर्षसम्म काम गरेको अनुभव रहेको छ । स्वास्थ्य शाखाले पुराना स्वयम सेविकालाई बिदाई गरे लगत्तै अबको केही दिनमा याँ नियक्ती छनोट प्रक्रियालाई अगाडी बढाउने भएको छ ।
गाउँपालिकाले नयाँ छनोट गर्ने महिला स्वास्थ्य स्वयम् सेविका एसईई सो सरहका साथै १८ वर्ष देखि माथि र ६० वर्ष उमेर समुह भित्रका अनुभवीहरुलाई छनोट गरी नियक्ती गर्ने तयारी गरेको छ ।