सुर्खेत : असार साउनको महिना छ । पानी परिरहेकै छ । कतै बिहान, कतै दिउँसो त कतै राती । पानी पर्नु वर्षाको विशेषता हो । तर यही पानीले कर्णालीको कथा व्यथा बेग्लै बनाई दिन्छ ।
बाढी, पहिरो र विपद्को सूचक दिने काम वर्षाले गर्छ । कर्णाली त्यसको एक नमूना प्रदेश पनि हो । तर कर्णालीमा यो झरीको सुन्दरता पनि हरियाली दृश्यमा परिणत हुन्छ ।
उसो त कर्णाली आफैमा सुन्दर छ । सुन्दरता यसको पर्यायवाची हो । तर विकटताले कर्णालीको सुन्दरता ढपक्कै ढाकेको छ । विस्तारै कर्णालीको सुन्दरता उघ्रिन थालेको छ ।
कर्णालीमा सबै जिल्लाको आ आफनै विशेषता छ । हुम्ला, जुम्ला, मुगु र डोल्पाको सुन्दरता स्वर्ग बराबर छ । यस्तै कालिकोट, जाजरकोट, रुकुम पश्चिम र दैलेखको प्राकृतिक स्रोत साधन झन त्यत्तिकै महत्वपूर्ण छ । सुर्खेत र सल्यानको समथर भुभाग त झन् कर्णालीकै आधारभूमि हो ।
साउने वर्षे झरीमा कर्णाली हरियाली बनेको छ । उसो त कर्णालीलाई हरियाली देखाउन असार साउनको झरी कुर्नु पर्दैन्थ्यो ।
तर यो साउने झरीमा युवाहरुले भने सुन्दरत तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै कर्णालीको सुन्दरता नियालिरहेका छन् । अनि सारा दूनियाँलाई देखाइरहेका छ्न ।
कर्णाली ग्यालरीमा उनीहरुले पोस्ट गर्ने तस्बिरले पनि कर्णालीको सुन्दरता झल्काउँछ । साच्चै कर्णालीको सुन्दरता आफैमा मनमोहक लाग्छ । कर्णालीका मानिसहरुलाई यो अनौठो नलागेपनि बाँकी दूनियाँका लागि पुरै आश्चर्य हो ।
सुन्दरता आफैमा आश्चर्यजनक हुन्छ । जुन तस्बिरमा मात्रै होइन, जब वास्तविकतामा मानिस रमाउँछ । तर त्यसका लागि कर्णाली पुग्नुपर्छ । वर्षामा बाटो कठिन भएकाले असहज भएपनि तस्बिरबाटै कर्णाली नियाल्ने प्रयास कर्णाली ग्यालरीका युवाहरुले गरिरहेका छन् ।
सबै तस्बिर : कर्णाली ग्यालरी /फेसबुक