काठमाडौँ : सत्ताबाट बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली क्रुद्ध छन् । सपनामा पनि सर्वोच्च अदालतको आदेशका कारण बाहिरिन्छु भन्ने नसोचेका ओली बिहीबार तामझामका साथ बालुवाटारबाट बिदा भए ।
बालुवाटारबाट मोटरसाइकल र्यालीमा बालकोट निवासमा पुग्नेवित्तिकै ओलीको पहिलो गर्जन थियो, माधव नेपालजी धोकेबाज हो । अब माधव नेपाललाई एमालेमा ठाउँ छैन ।
उनको यो गर्जनले माधव नेपालको रौँ पनि हल्लिदैन । बरु ओली बालकोटमा सिमित हुँदा माधव नेपाल वर्तमान नेपाली राजनीतिको केन्द्रमा छन् । उनलाई भेट्न विदेशी शक्तिको लाइन छ । प्रचण्ड र प्रधानमन्त्री देउवा माधव नेपाल निवास पुगिरहेका छन् । कतिसम्म भने ओलीले शान्तिपूर्ण राजनीतिमा ल्याएका विप्लव पनि माधव नेपाल निवास पुगिरहेका छन् ।
यसर्थ, ओलीले सोचेका माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता रहेनन् । ओली जत्तिकै दुई तिहाई नपाएपनि नेपाली राजनीतिको गेमचेन्जर बनेका छन् । जुन गेमचेन्जरले ओलीलाई सर्वोच्चको आदेशमार्फत उछिट्याएर बालकोट पुयाईदिएका छन् ।
यसकारण शंका छैन, माधव नेपालकै कारण ओली सत्ताबाट बाहिरिएका हुन् । कुनै बेला माधव नेपाल र प्रचण्डकै कारण दुईतिहाई बहुमतसहित सत्तामा पुगेका ओली अहिले बाहिरिनुपर्दा हुंकार छाडिरहेका छन् ।
तर त्यो हुंकारबाट स्वयंम ओली हल्लिनेछन् । उनका आँसेपासे र कार्यकर्ता मात्रै उफ्रिनेछन् । एमाले एकता नभएपनि माधव नेपाल ओली बिना, एमाले बिना नै आफ्नो गुट लिएर नेपाली राजनीतिमा शक्तिशाली बनेका छन् ।
कुनै बेला माधव नेपाललाई एमालेको कार्यकर्ता मान्न समेत आवश्यक नठानेका ओलीलाई अहिले थाहा भएको छ, माधव नेपालको साथबिना सिंहदरबारको शासन सत्ता फुत्किने रहेछ । पार्टी फुट्ने सम्भावना हुँदा प्रधानमन्त्रीको कुर्सीमा देउवा पुगेछन् ।
सत्तामा हुँदा ओलीले देखाएको यही तुजुकले गर्दा नेपाली राजनीतिमा थुप्रै असर परेको छ । उनको शक्तिले जहाँ जे जति गरेको थियो । त्यसमा एमालेकै भलो भएको थियो । एमाले कार्यकर्ता खुशी थिए । तर अहिले उनले पार्टी मिलाउन नसक्दा एमाले चिरा चिरा परेको छ ।
एमाले विभाजनको खतरा झन् बढेको छ । कार्यदलमा सहमति भएपनि ओली र माधव नेपालको दूरी बढेको छ । सम्भावित सत्ता सहकार्यका विषयमा पनि ओली मौन छन् । उनी अरुको कारण होइन, आफ्नै कारणले सत्ताबाट बाहिरिएका हुन् ।
एकलौटी गर्दा रमाउने ओलीले त्यसको असर नबुझ्दा अहिले बालुवाटारबाट निस्केर बालकोटमा सिमित भएका छन् । तर यसको असर त्यसमा मात्र सिमित छैन । यसका परकम्पहरु अझ धेरै आउनेछन् । यदि ओलीले माधव नेपालसँग हात नमिलाउने हो भने एमालेको शक्ति झन् खुम्चिदै जानेछ ।
यामलालको मुख्यमन्त्री सपना टुट्दै
ओलीको आवेगले गर्दा सबैभन्दा ठूलो असर कर्णालीमा परेको छ । कर्णालीमा पूर्ण बहुमतमा रहेको एमाले शक्तिशाली भएर पनि प्रतिपक्षको कुर्सीमा बस्न बाध्य छ । यसको मुख्यकारण ओली हुन् । ओलीसँग माधव नेपाल रिसाउँदा उनी पक्षका चार सांसदले फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिएका थिए ।
गएको बैशाखमा एमाले चार सांसदको मत पाएर जोगिएको कर्णाली प्रदेश सरकार अहिले पनि सत्तामै छ । अल्पमतको सरकारले अध्यादेशबाट बजेट ल्याएर हाइहाई खाइरहेको छ । तर प्रतिपक्षी एमाले भने बहुमत पाएर पनि कुचेष्टामा फसेको छ ।
आफ्नै सांसदलाई फकाउन सकेको छैन । आफ्नै सांसदको दुष्मनी मोल्नुपरेको छ । यसको मुख्य जिम्मेवार ओली हुन् । काठमाडौँमा सत्ता जोगाउन ओलीले कर्णालीमा यामलालको सपनामाथि कुठाराघात गरिदिएका छन् । सत्ताबाट बाहिरिदा पनि ओलीले अन्याय गरिरहेकै छन् ।
कर्णालीमा मुख्यमन्त्री सपना पालेका यामलाल भने अहिले पनि कुरेर बसेका छन् । मुख्यमन्त्रीको आश्वासन दिएर नै ओलीले यामलाललाई कर्णालीमा पठाएका थिए ।
उनले जिते पनि । संसदीय दलको नेता भए पनि । तर अहिले सबथोक भएर पनि यामलाल प्रतिपक्षीमा बस्नु परेको छ । थोरै भएपनि ओलीले कर्णालीमा एक नजर लगाएको भए, आफ्नै पार्टीको सरकार बन्थ्यो ।
एमाले नेता कार्यकर्ता खुशी हुन्थे । पार्टी एकतामा बल पुग्थ्यो । यसका लागि ठूलो युद्ध लड्नु पर्दैन थियो । कार्यदलले जुटाएको सहमतिलाई स्वीकार गरिसकेपछि एकपटक माधव नेपाललाई भेटेर सम्झाए पुग्छ ।
जीवन शाहीको सम्भावना कति ?
केन्द्रमा माधव नेपालले कांग्रेसलाई साथ दिएपनि उनी कर्णालीमा ओलीलाई सहयोग गर्न तयार छन् । यसका लागि उनी विपक्षी गठबन्धनबाट अलग्गिएका छन् । यति राम्रो संकेत गर्दा पनि ओली यामलालको सपनामाथि कुठाराघात गरिरहेका छन् ।
एमाले एकता भाँडिरहेका छन् । एमालेका नेताहरुको लडाई चुलिँदा माओवादी सरकारले बजेट ल्याएर ६ महिनासम्मै थप सरकार चलाउने निश्चित छ । त्यसपछि दशैँमा एमालेको सरकार बन्ने सम्भावना भएपनि जीवन शाही मुख्यमन्त्रीको कुर्सीमा बस्ने वातावरण स्वयंम ओली तयार पारिरहेका छन् ।
यो कर्णालीमा यामलाल र कार्यकर्ताका लागि मात्रै होइन, ओलीकै लागि घातक हो । उनले एमाले नेता कार्यकर्ताको एकताको मर्म बुझ्ने बेलासम्म अहिले भएको बहुमत र विश्वास गुमाइसकेका पनि हुन सक्छन् ।