जुम्लाः हिमा गाउँपालिका – ६ खलढुंगा गाउँमा पहिरोको जोखिममा छ । उक्त गाउँका स्थानीयलाई कोभिडको कहर भन्दापनि पहिरोको त्रास बढिरहेको छ । पानी पर्ने वित्तिकै गाउँको माथिबाट पहिरो खस्न सुरु गर्ने गरेको छ । आसपासका गाउँका स्थानीयहरु पानी पर्दा घर भित्रै बस्ने गरेका छन् । तर तर खलढुंगाका स्थानीयहरु पानी परेपछि छिमेकीको घरमा बस्न बाध्य हुन्छन् ।
स्थानिय कृष्णकुमारी खत्री भन्छिन्, ‘कहिले दिनमा घाम लागेको हुन्छ । राति पानी परेको पत्ततै हुँदैन् । घरपरिवार निद्रामा मस्त भएको बेलामा छानामा ढुंगा खसेको चालपाएपछि रातिनै बालबच्चा बोकेर छिमेकीका घरमा जाने गरेका छौं ’ ।
पहिरोको जोखिमका कारण बस्ती स्थानान्तर गर्नका लागि गाउँपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा निर्णय गरेको हो । उक्त गाउँमा बाढी पहिरोको जोखिम अध्ययन गरी बस्ती नै स्थानान्तर गर्नका लागि गाउँ कार्यपालिकाको निर्णय र आवश्यक बजेटसहित सघन सहरी विकास तथा भवन निर्माण कार्यालय जुम्लामा निवेदन समेत दिएको हिमा अध्यक्ष रजबहादुर शाहीले बताए । ‘एक वर्षअघि नै त्यो जोखिम बस्ती सार्न निर्णय भएको हो । केही नमिलेका कारण ढिलाइ भएको हो । अव तत्काल सार्ने योजना बनाएका छौं’ उनले भने ।
‘गाउँकार्यपालिकाले निर्णय गरेर त्यो बस्ती स्थानान्तरण गर्न सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लालाई परिपत्र गरेको थियौं । आर्थिक बर्ष ०७६/०७७ मा जोखिम बस्ती खलढुंगा स्तानान्तरका लागि भएको निवेदन आर्थिक बर्ष ०७७÷०७८ मा सुनुवाई नै भएन’ अध्यक्षले थपे ।
शाहीले भने, ‘ आगामी आर्थिक ०७८/०७९ सालको पनि बजेट विनियोजन भयो । तर त्यो बस्ती स्थानान्तरका लागि बजेट विनियोजना भएन । असार पहिलो साताको लगातार परेको बर्षाले हिमा गाउँपालिका–६ खलढुंगा र दलित बस्तीमा पहिरोको जोखिम बढेपछि १६ घरधुरीका १ सय १७ जना घरपरिवार विस्थापित भएका छन । बस्तीको चारैतिर पहिरो जाँदा गाउँ नै जोखिममा परेपछि उनीहरु विस्थापित भएका हुन ’ ।
‘लामो समयसम्म वर्षा हुँदा गाउँ नै जोखिममा पर्यो ।’ अहिले केही बर्षा कम भएपनि स्थानीयहरु भत्केकै घरमा पुनःस्थापना भएका छन् । साउन भदौँको बर्षा हुन अझै बाँकी छ । साउन भदौको बर्षाले विपत्ति निम्त्याउने स्थानीयले चिन्ता व्यक्ति गरे ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र खड्काका अनुसार उक्त जोखिम बस्ती स्थानान्तरण गर्न केन्द्रमा कार्यक्रम बनाएर पठाए पनि चालू वर्षमा स्वीकृत नभएको छैन ।
उनले भने , ‘आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि बजेट विनियोजन भएपनि त्यो कार्यक्रम बजेटमा परेको छैन । यस विषयमा सबै क्षेत्र तथा निकायबाट पहल हुनुपर्छ ’। हिमा गाउँपालिकाले बस्ती स्थानान्तरण गर्न १२ करोड रुपैयाँ बजेट आयोजना स्टामेट तथा कार्यक्रम बनाएर पठाएको छ । एउटा घरको ५ लाख रुपैयाँका दरले बजेट बनाएको छ । बस्ती स्थानान्तरण सहित विद्यालय, पानी सडक, सबै आवश्यक पूर्वाधारको कार्यक्रम बनाएको हिमा गाउँपालिकाले जनाएको छ ।