सिमकोटः कृषि बिकास कार्यालयले स्याउ ओखर नर्सरी लगाएतका कृषि क्षेत्रका तीन वटा कार्यक्रम सञ्चालन नगरेर बजेट फिर्ता पठाएको छ । राजनीति दलका नेताहरुको कारण स्वतन्त्र रुपमा कार्यालयमा परेका प्रस्तावमाथि छानविन गरेर छनौट गर्न समस्या खडा हुँदा अनावश्यक बजेट खर्च गर्नु भन्दा फिर्ता पठाउने निष्कर्षमा कार्यालय पुगेको हो ।
स्याउ ओखर नर्सरीका लागि कार्यालयमा निवेदन पेश गरेका गोरा बोहराले कार्यक्रम रद्द गरिएकोले वास्तविक किसान मर्कामा परेको बताए । उनले केही अनुदान पाएको भए काम गर्न हौसला बढ्ने कार्यमा कार्यालयको सो कार्य बाधक भएको गुनासो गरे ।
कार्यालयका सुचना अधिकारी धर्मेन्द्र अधिकारीका अनुसार दवाव थेग्ने अवस्था नभएपछि आर्थिक वर्ष २०७७/०७८ का कृषि क्षेत्रका तीन वटा कार्यक्रम सञ्चालन गर्ने अवस्था नरहेपछि बजेट फिर्ता पठाइएको हो । बजेट फिर्ता भएका कार्यक्रममा रैथाने बाली प्रवर्धन कार्यक्रमको पचास लाख, लसुन, प्याज, तरकारी तथा बाली प्रवर्धन कार्यक्रमको तीस लाख र स्याउ ओखर नर्सरी कार्यक्रमको साढे नौ लाख रहेको छ ।
सुचना अधिकारी अधिकारीले एउटा कार्यक्रममा चार सय भन्दा बढी विवेदन कार्यालयमा पेश हुन आएकोमा छनौट गर्न सबैतिरबाट दवाव आएपछि बजेट फिर्ता पठाउने निर्णयमा कार्यालय पुगेको बताए ।
राम्रा भन्दा हाम्राको प्रेशर बढी आउँदा काम भएकोले छनौटमा कठिन भएको कार्यालयले जनाएको छ । उनले यसबाट वास्तविक गर्न सक्ने गरि रहेका किसान मर्कामा परेकोेमा कार्यालय दुखी भएको बताए ।
अर्को कुरा आवश्यक जनशक्ति कमीकै कारण जिल्ला भरि अनुगमनमा गरेर छनौट गर्न सकिने अबस्था पनि नरहेकोले काम गर्न समस्या भएको कार्यालयले जनाएको छ । त्यसै गरि स्याउ ओखर नर्सरीको कार्यक्रम ढिलो गरि आएकोले पनि काम गर्न सकिने अवस्था नरहदा बजेट फिर्ता पठाइएको कार्यालयले जनाएको छ ।
यी दुवै फलको नर्सरी असोजमा रोप्नु पर्ने भएपनि बैशाखमा कार्यक्रम आउँदा नसकिने अबस्था रहेको थियो । तीन चार वटा कुरा नमिलेपछि कार्यालयले किसानलाई मर्का पर्ने थाहा पाएर पनि बजेट फिर्ता पठाएको जनाएको छ ।