एजेन्सी, २७ चैत ।अमेरिकाको न्यूयोर्कमा बस्दै आएका धादिङका रञ्जित गौली कोभिड १९ को संक्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन्। ३१ वर्षीय गौलीले कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन्। पाँच वर्षअघि अमेरिका आएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत छन्।
‘झण्डै १० दिन कोरोनाविरूद्वको लडाइँमा अन्ततः मैले जित्न सकें। यसका लागि आत्मबल बलियो हुनु जरूरी छ। ठूलो औषधि भनेकै सकारात्मक सोच रहेछ’, गौलीले भने, ‘मुख्य कुरा म तन्दुरुस्त छु, मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र संक्रमण भइहाल्यो भने हेलचेक्र्याइँ नगर्नूहोला।’
कोरोना लाग्दैमा मरिन्छ भनेर डराइनहाल्न अनुरोध गर्दै गौलीले लागेको खण्डमा पनि घरमै बसेर आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक खाना खाने र चिकित्सकको सल्लाहअनुरूप गतिविधि गर्दा यो रोगमाथि जित हासिल गर्न सकिने आफ्नो अनुभवलाई साटे।
सुरूमा ज्वरो आएको, ज्वरोपछि खोकी लागेको, ज्वरो घट्दै नघटेको र विस्तारै दिनहरू बित्दै जाँदा श्वास फेर्न कठिन भएको स्मरण गर्दै गौलीले भने, ‘तर, आफ्नो आत्मबल बढाउँदै चिकित्सकको सल्लाहअनुरूपका गतिविधि गरे, आफूलाई भित्रबाट हार्न नदिन म लागिरहें। अहिले आराम अनुभव गरेको छु।’
आफूलाई कोभिड १९ को संक्रमण देखिएपछि अरूलाई सर्न नदिनका लागि आफैंले सजगकता अपनाउन पर्ने गौलीको तर्क छ।
‘तातो पानी प्रयोग गर्ने, घरका सदस्यसँग समेत दूरी कायम गर्ने गर्नुपर्दछ। मैले त रूम नै बेग्लै गरेको थिएँ, उनले भने, ‘तातोपानीको बाफ लिने गर्थें, श्रीमती र बुबा पनि छ–सात फिट पर बस्नुहुन्थ्यो। मैले सर्न नदिन विशेष ख्याल गरें। त्यसैले होला बुबा र श्रीमतीलाई अहिलेसम्म देखिएको छैन। आगामी दिनमा पनि नदेखियोस्।’
उता इङ्ल्याण्डको साउथ इस्ट लण्डनमा कपुरका नामले परिचित पोखराका पद्म राणा पनि कोभिड–१९ को संक्रमणका कारण उपचारपछि घरमै सेल्फ आइसोलेसनमा बसेर अहिले निको भएका छन्।
उनी २० वर्षदेखि बेलायतमा बस्दै आएका छन्।
‘मैले अस्पतालमा जाँच गर्न जाँदा मलाई निमोनिया र कोभिड संक्रमण भएको थियो। तर पनि म अत्तालिनँ। अस्पतालमा रहँदा पनि मैले आत्मबल कहिल्यै घट्न दिइनँ’, उनले कोभिड–१९ संक्रमणपछिको अनुभव साट्दै टेलिफोन सम्पर्कमा भने, ‘कोरोना संक्रमणबाट बच्न ‘ब्यालेन्स डाइट’मा ध्यान दिनुहोस्, तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान खानुहोस्।’
साथै सकेमा तातोपानीको बाफ लिन, अझ सकिन्छ भने दिनमा कम्तीमा दुईपटक स्टिम बाथ लिनुहोस् यी सबै घरमै बसेर गर्न सकिन्छ। नियमित व्यायाम गर्न र अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि उनले सबैमा आग्रह गरे।
अमेरिकाको न्यूयोर्क बस्दै आएकी ४४ वर्षीया नीमा शेर्पाको परिवारलाई नै कोभिड–१९ को संक्रमण देखिएको थियो।
श्रीमान–श्रीमती र दुई छोरासहित चार सदस्यीय नीमाको परिवार घरमै सेल्फ आइसोलेसनमा बसेको थियो। नेपाल सोलुखोम्बुका नीमा २२ वर्षअघि अमेरिका आएकी हुन्। नीमा पेशाले नर्स हुन्।
नर्सिङ पेशामा भएका कारणले पनि आफ्नो परिवारलाई रिकभर गर्न सजिलो भएको उनले बताइन्।
‘घरमै एकले अर्काको आत्मबल बढायौं। खोकी र ज्वरोको औषधि सेवन गर्यौं, उनले भनिन्, ‘लक्षणबाट नै कोभिड सरेको ठानेकी थिएँ, त्यही अनुसार नै मैले आफू र आफ्नो परिवारको शक्ति बढाउनका लागि गर्नुपर्ने काम गर्न थालेकी थिएँ। परीक्षण गरेको पाँच–सात दिनपछि बल्ल रिपोर्ट आएको थियो तर हामी त्यसअघिदेखि नै घरमा आराम गरेर एकले अर्कालाई ‘टेक केयर’ गरी बसेका थियौं। रिपोर्ट आइपुग्दासम्म हाम्रो अवस्थामा केही सुधार भइसकेको थियो।’
उनले सकभर कोभिड हुन नदिने तर्फ नै जोड दिनुपर्ने र भैहाल्यो भने पनि छुवाछूत जस्तो गरी होइन बरु एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताइन्।
अमेरिकाकै न्यूयोर्क निवासी ५० वर्षीय जीवन बमलाई कोभिड–१९ सङ्क्रमण भएको थियो।
अहिले उनी पनि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई स्वस्थ हुँदै छन्। कैलाली टीकापुरका उनी २० वर्षदेखि अमेरिकामा बस्दै आएका छन्।
‘कोभिड–१९ लागिहाल्यो भने पनि सुरूदेखि नै लापरबाही गर्नुभएन, आराम गर्ने, ज्वरो नापिरहने, १४ दिनसम्म घरमा बस्ने, यदि ज्वरो घटेन भने इमर्जेन्सीमा जाने, निमोनिया हुन नदिने, शरीरमा शक्ति बढाउन केही न केही खाइरहने गर्नुपर्छ’, बमले आफ्नो अनुभव साट्दै भने, ‘यो बेला आफ्नो आत्मबल बढाउनुपर्छ, आफूलाई कमजोर हुन दिनुहुँदैन।’
‘सुरूमा ज्वरोको लक्षण देखिएपछि विस्तारै खोकी र श्वासप्रश्वासमा समस्या भयो। मलाई संक्रमण भएको थाहा पाएपछि पनि म आफूलाई निको पार्न सक्छु भन्ने आत्मबलका साथ सेल्फ आइसोलेसनमा बसें’, उनले भने, ‘कोरोना सङ्क्रमण हुँदैमा मरिहाल्छु भनेर पनि सोच्नुहुँदैन। मैले ती सबै सोचिनँ तर हेलचेक्र्याइँ पनि गरिनँ। परिवारका सदस्यहरूबाट टाढा रहें, दूरी बनाएँ। नियमित चिकित्सकले भनेअनुसार गतिविधि गरे अहिले सुधार भएको अनुभव गरेको छु।’
न्यूयोर्ककै अर्का कोभिड(१९ को सङ्क्रमणमा परेका भोजपुरका शम्भू मोक्तान पनि घरमै सेल्फ आइसोलेसनपछि अहिले आफूले स्वस्थ महशुस गरेको बताउँछन्।
पाँच दिन अस्पताल भर्नापछि मोक्तान घरमै सेल्फ आइसोलेसनमा छन्। मोक्तान गएको १९ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्।
कोभिड–१९ को सङ्क्रमण भएको १५ दिनपछि अहिले आफू कोभिड–१९ को सङ्क्रमणले च्याप्नु अघिजस्तै बोल्न, हिँड्न र खान सक्षम भएको मोक्तानले बताए।
सकभर कोभिड–१९ को संक्रमण हुन नदिनका लागि विशेष ख्याल गर्न आग्रह गर्दै उनी यदि कोरोना लागिहाल्यो भने पनि आफ्नो आत्मबल बढाएर चिकित्सकले भनेअनुरूपको कार्य गर्न सबैलाई सुझाव दिन्छन्।
यस्तै, स्पेनको बार्सिलोनामा कोरोना भाइरसको सङ्क्रमणपछि अस्पतालमा उपचार गराई विष्णु रिजाल अहिले घरमा सेल्फ आइसोलेसनमा बसेका छन्। सङ्क्रमणका कारण सिकिस्त बिरामी भएका बार्सिलोनामा बस्दै आएका अर्घाखाँचीका रिजाल आइसीयूमा भर्ना भएका थिए।
घरमै आराम गरिरहेका उनी कोरोनाको सङ्क्रमण भएमा उच्च मनोबल राख्न र रोग नलुकाउन सबैलाई आग्रह गर्छन्।