सिमकोटः स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पताललाई महंगो मुल्यको अत्यावश्यक उपकरण सहयोग उपलब्ध भएको छ । कार्यालयको माग अनुसार अस्पतालका लागि आवश्यक उपकरणहरु निःशुल्क उपलब्ध भएका हुन ।
हस्तान्तरण कार्यक्रममा उपकरण बुझ्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले उपकरण सहयोगले जिल्लामै उपचार गर्न सहज भएको बताए । उनले सहयोग उपलब्ध भएका उपकरणमा केही नयाँ पनि रहेको कारण अब बिरामीलाई उपकरण नभएकै कारण जिल्ला बाहिर उपचार गर्न रिफर गर्नुपर्ने बाध्यता हटेको बताए ।
अस्पतालका चिकित्सक टासी आङ्जु लामाले अस्पतालको माग र आवश्यकतालाई मध्यनजर राखी आवश्यक उपकरणहरु उपलब्ध भएको जानकारी दिए । युएसएडको आर्थिक सहयोगमा स्वास्थ्यका लागि सक्षम प्रणालीले ६४ लाख ३५ हजार १६९ खरिद मुल्यका उपकरण कार्यालयलाई सहयोगका रुपमा हस्तान्तरण गरिएको हो ।
सहयोग उपलब्ध भएका उपकरणहरुमा ३४ लाख मुल्यको डिजिटल एक्सरे मेशिन, हाई फ्लो नोजल क्यानुला, एबिजी मेशिन र अटो सेनिटाइजर रहेका छन् । उनले विगतदेखि जिल्लाका गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग र स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै आएको प्रणालीले पहिलो पटक चिकित्सकहरुको माग अनुसार जिल्ला अस्पताललाई उपकरण सहयोग उपलब्ध भएको बताए ।
यसबाट अस्पतालमा एउटा मात्र एक्सरे मेशिन रहेको र त्यसमा प्राविधिक समस्या आएर बिरामीलाई एक्सरे गर्न जिल्ला बाहिर पठाउनु पर्ने समस्या समाधान भएको छ । उक्त मेशिन उपलब्ध भएपछि विकल्प पनि जिल्लामै तय भएको छ ।
उपकरणहरु सबै तत्काल सञ्चालनमा ल्याउनका लागि जडान समेत गरिएका छन् । प्रणालीका प्राविधिक अधिकृत कालीदास जोशीले दुर्गमका स्वास्थ्य संस्थाहरुलाई सामग्री तथा उपकरण सहयोग गर्ने कार्यक्रम अन्र्तगत अस्पतालमा बिरामीको उपचारमा देखिएको समस्या समाधान गर्न उपलब्ध गरिएको उल्लेख गरे ।
यी सामग्रीको खरिद स्थलबाट ढुवानीको खर्च पनि कार्यक्रमले नै लागत व्यहोरेको छ । यो कार्यक्रम कर्णाली प्रदेशका दश वटै जिल्लामा लागू भएको छ । यसका लागि कार्यक्रमले आठ करोड १५ लाखका उपकरण तथा सामग्री सहयोग गरेको जनाएको छ ।