डोल्पा : नेपालको एयरपोर्ट भन्नेवित्तिकै धेरै विदेशीले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई सम्झिन्छन् । जुन विश्वकै सबैभन्दा खतरानाक एयरपोर्टको सूचीमा पर्छ । सगरमाथा चढ्ने पर्यटकको रोजाईका कारण लुक्ला विमानस्थल चर्चित बनेको हो । विश्वको तेस्रो झुर अर्थात अव्यवस्थित एयरपोर्टमा काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पर्छ ।
तर यो तस्बिरमा देखिएको विमानस्थल डोल्पाको हो । जसलाई जुफाल एयरपोर्ट भनिन्छ । यो तस्बिर चाँही पारस ठकुरीले खिचेका हुन् । उनले खिचेको तस्बिर कर्णाली ग्यालरी फेसबुक पेजमा हेर्न सकिन्छ । खासगरी डोल्पाको चर्चित शेफोक्सुन्डो हेर्न आउने पर्यटकले जुफाल एयरपोर्ट देख्छन् । यो तस्बिरमा पनि केही अनौठा दृश्य देखिन्छन् ।
जति सुन्दरता यो तस्बिरमा छ । त्यति नै कठिनाई हेर्न सकिन्छ । एयरपोर्टबाट भर्खर विमान उडेको छ । विमान उड्दै गर्दा लुक्लामा उडेको विमान र यो जुफाल विमानस्थलमा उडेको विमानको समान पक्ष देखिन्छ ।
अत्यन्तै छोटो र साँघुरो रनवेबाट विमान उड्छ । विमान रनवेबाट उडेकै देखिन्छ । विमान सडेको भागतिर हेर्दा गहिरो खोला छ । जुन लुक्लामा पनि छ । विमान रनवेबाट उडेपछि सिधै आकाश माथि माथि जानुपर्छ ।
केही गरी विमान रनवेबाट उड्न सकेन र चिप्लिने अवस्था आयो भने दुर्घटनाको कल्पना गर्न सकिदैन । ठीक यस्तै छ, लुक्ला विमानस्थल पनि । साँघुरो रनवेबाट विमान उड्छ । सिधा पर पुग्दा भीरमा ठोक्किन सक्छ । जुफालमा पनि त्यही देखिन्छ ।
लुक्लामा प्राय विमान दुर्घटनामा परिरहन्छन्, तर जुफालमा त्यति विमान दुर्घटनामा परेको सुनिदैन । लुक्लामा पर्यटकको ताँती लाग्छ । तर जुफालमा त्यति पर्यटक जाँदैनन् ।
विमान उडाएपछि भीरको खोँचकै बाटोबाटै माथि माथि गरी आकाशमा लैजानुपर्ने बाध्यता पाइलटलाई छ । जुन जुफालमा पनि देखिन्छ । तल ठूलीभेरी नदी, माथि भिर, पल्तिर त्यही ठूलीभेरी नदीको बगर । जुन असाध्यै गहिरो छ ।
यसरी हेर्दा यो एउटा अजीवको ठाउँ हो । जहाँ विमान ल्यान्ड गर्छ । जहाँ काठमाडौँ, नेपालगञ्जबाट आएका पर्यटक पहिलोपटक भुई छुन्छन् । तर मुटुले ठाउँ छाड्छ । जसरी पहिलोपटक लुक्ला पुगेका पर्यटकको मुटुले पनि ठाउँ छोड्छ ।
पर्यटकका अनुसार जुफाल र लुक्लामा विमान ल्यान्ड गर्दै गर्दै गर्दा विमान सुरक्षित अवतरण हुन्छ कि हुँदैन ? भन्ने चिन्ता हुन्छ । यति साँघुरो र छोटो रनवेमा विमानलाई अवतरण गराएर रोक्न सक्नु पनि ठूलै हिम्मत मानिन्छ ।
तर जे होस, लुक्लाभन्दा जुफाल विमानस्थल कम छैन । जसको प्रचार मात्रै हुन सकेन । लुक्ला विश्वमै चर्चित डरलाग्दो र जोखिमपूर्ण एयरपोर्टमा गनिदा जुफालबारे नजरअन्दाज गरियो । अब कम्तीमा जुफाल विमानस्थलको सौन्दर्यता, यसको जोखिम र पर्यटकका लागि एक फरक अनुभूतिको संयोजन गर्न आवश्यक छ । जसले कर्णाली पुग्ने पर्यटकलाई थप रोमाञ्चित बनाउन सकोस ।
पहिलो तस्बिर : पारस ठकुरी/कर्णाली ग्यालरी । दोस्रो तस्बिर : सोलुखुम्बुको लुक्ला विमानस्थल ।