काठमाडौँ : कर्णालीमा पहिलो फ्लोर क्रस । बैशाख ३ गते । जुन दिन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगिएको थियो । एमालेका चार जना सांसदले फ्लोर क्रस गरेका थिए । ती हुन्, प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर थापा र कुर्मराज शाही । ती मध्ये तीन जना अहिले पनि मन्त्री छन् ।
उनीहरु चार जनाले प्रदेशसभामा गरेको फ्लोर क्रस इतिहासमा पहिलो घटना थियो । एक दुई जना सांसद विश्वासको मत पाउने दिन गायब हुने भएपनि कर्णालीमा भने हाकाहाकी फ्लोर क्रस भएको थियो ।
यसले नेपाली राजनीतिमै सांसद किनबेच होइन, विचार रणनीतिमा अडिग नेताले सबैका अगाडि खुलेआम आफूले चाहेको व्यक्तिलाई मत दिन्छ भन्ने प्रमाणित भयो । जुुन दिन कर्णालीमा इतिहास रचियो । पूर्ण बहुमत भएको एमाले प्रतिपक्षीमा बस्यो । झण्डै राजीनामा दिन लागेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकारमा चमत्कार भयो ।
साउन ३ गते । कर्णालीमा फ्लोर क्रस भएको ठीक तीन महिना पछि काठमाडौँमा पनि त्यही परिदृश्य देखियो । केन्द्रीय राजधानी काठमाडौको संघीय संसदमा एमालेका २२ जना सांसदले फ्लोर क्रस गरे । जसको नेतृत्व माधव नेपालले गरे । भीम रावलले भने सांसद पदबाटै राजीनामा दिए । उनको राजीनामा व्यक्तिगत भनिएको छ ।
कतिसम्म भने एमाले ओली पक्षकै तीन जना सांसदले पनि फ्लोर क्रस गरे । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले अन्तिम समयमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भएपछि एमालेको फ्लोर क्रस त्यति निर्णयक भएन । तर उनीहरुले यसअघि नै घोषणा गरेको समर्थनले नै देउवा सरकार बनेको र विश्वासको मत पाउन सफल भएको हो ।
जसकारण १३६ भोट चाहिने भएपनि देउवाले एमालेका सांसदसहित १६५ जना सांसदद्धारा विश्वासको मत पाए । दुई तिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउँदा ओझेल परेका बेला देउवाले भने सबैका सामु हाँसी हाँसी विश्वासको मत लिए । फ्लोर क्रसको आधुनिक मोडल कर्णालीबाट सुरु भएको थियो । अहिले काठमाडौँमा लागू भयो ।
नेपाली राजनीतिमा गुटगत प्रवृत्ति, राजनीतिक रणनीति र पार्टीभित्रै नेकपा एमालेको विभाजन उन्मुख स्वार्थले कर्णालीको सत्ता संघर्षको मोडल केन्द्रीय राजधानी काठमाडौमा पनि लागू भएको देखिएको हो । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउँदा एमालेका सांसदको फ्लोर क्रस इतिहासमै पहिलोपटक सबैभन्दा धेरै सांसदको संख्या रह्यो ।
माधव नेपालको निर्णायक डिजाइन
प्रमुख प्रतिपक्षी दलमा सीमित भएको नेकपा एमालेका २२ जना सांसदले फ्लोर क्रस गर्नु एमालेभित्रको आन्तरिक किचलो प्रमुख कारण हो । जुन किचलोको निर्णायक असर कर्णालीबाट सुरु भएको थियो । नेकपा एमाले र माओवादी मिलेर नेकपा बनेका बेला ओली पक्ष छुट्टै थियो । जसलाई सत्ताको दम्भ थियो ।
ठीक त्यसबेला प्रचण्ड र माधव नेपालबीच कसिलो एकता थियो । उनीहरु हरेक रणनीति सँगसँगै बुन्थे । हरेक बैठकमा रणनीतिका साथ प्रस्तुत हुन्थे । जुन रणनीतिले गर्दा कर्णालीमा माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरे ।
जुन रणनीति पहिल्यै पक्कापक्की थिएन । प्रचण्डलाई बचन पुगेको थिएन । माधव नेपालले पनि भरोसा दिलाएका थिएनन् । तर ओलीको प्रतिगमनबाट वाक्क दिक्क भएका एमाले माधव नेपाल पक्षले भने कर्णालीबाटै ओलीलाई धक्का पुग्ने गरी योजना बनाए ।
जसको नेतृत्व गरे, प्रकाश ज्वालाले । उनी मुख्यमन्त्रीका प्रत्यासी थिए । तर यामलालले मामुली कार्यकर्ता सम्झिए । जसको जवाफ उनले प्रदेशसभाको फ्लोर क्रसबाट दिए । यसले कर्णालीमा यामलाललाई मात्रै आश्चर्यचकित पारेन । काठमाडौँमा ओलीलाई पनि हल्लायो ।
जसको असर हो, संसद विघटन । जसको असर हो, प्रकाश ज्वालापछि माधव नेपाल र भीम रावल लगायताका नेताहरुमाथि कारबाही । फ्लोर क्रसबाट ओली आगो भए । कारबाहीको डण्डा चलाए । त्यसपछि दोस्रोपटक ओलीले संसद विघटन गरे । माधव नेपाल पक्ष आफै सर्वोच्च पुग्यो, देउवा र प्रचण्डका साथमा ।
सर्वोच्चले ओलीको संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा बसालिदियो । ओलीलाई प्रतिपक्षीको बेन्चमा सिमित पारिदियो । सबैभन्दा महत्वपूर्ण कुरा हिजो पदका लागि ओलीले जुन जुन हर्कत गरेका थिए । जुन जुन अहंकार लादेका थिए । जे जस्ता निर्णय लिएका थिए ।
त्यो आज ओलीलाई नै भारी भएको छ । सुरुमा उनले कर्णालीमा एमालेको सरकार बनाउन यामलालमार्फत अविश्वास प्रस्ताव दर्ता गराउन लगाए । तर सफल भएन । उल्टै काठमाडौँमा उनीमाथि अविश्वास प्रस्ताव दर्ता भयो । जतिबेला माधव नेपालले पनि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
त्यसबाट आत्तिएर केपी ओलीले हठात संसद विघटन गरे । तर सर्वोच्चले संसद पुनस्थापना गरिदियो । दोस्रोपटक पनि विश्वासको मत नपाएपछि ओलीले संसद विघटन गरे । यसपटक संसद मात्रै पुनस्थापना भएन । ओलीको दुई तिहाई बहुमतको सरकार सर्वोच्चको एउटा आदेशले गल्र्याम्म ढल्यो । बालुवाटार छाडेर ओली बालकोट पुगे ।
देउवा प्रधानमन्त्री भए । एमालेले विश्वासको मत नदिने निर्णय गरेको थियो । तर त्यो निर्णय लागू भएन । जसरी कर्णालीमा यामलालको निर्णय लागू भएको थिएन । आज उसैगरी काठमाडौमा पनि एमालेको निर्णय लागू भएन । एमाले सांसदले फ्लोर क्रस गरे । तर जसपाको महन्थ पक्षको निर्णयले एमालेको फ्लोर क्रस कमजोर गराएपनि यो ऐतिहासिक छ ।
कर्णालीको सरकार झन् बलियो
हिजो कर्णालीबाट सुरु भएको नेपाली कम्युनिष्ट सरकारको किचलो अहिले काठमाडौँमा आइपुग्दा अस्तव्यस्त र फुटमा परिणत भएको छ । जसका पछाडि ओलीको अहंकार र दम्भ तथा प्रतिगमन जिम्मेवार रह्यो ।
एमाले विवाद मिल्न लागेका बेला कर्णालीमा सत्ता परिवर्तनको रस्साकस्सी हुन थालेको संकेत देखिएको थियो । विपक्षी गठबन्धनबाट माधव नेपालले हात झिक्दा कर्णालीका सत्ता उल्टिने सम्भावना बढेको थियो । तर ओलीको कमजोर राजनीतिक निर्णयले गर्दा त्यो सम्भावना अब तत्कालका लागि सम्भावनामा सिमित भएको छ ।
बरु कर्णालीकै जसरी काठमाडौमा पनि एमालेकै माधव नेपाल पक्षको समर्थनमा देउवा सरकार चुनावसम्म जाने निश्चित भएको छ । यदि ओलीको यस्तै आवेगपूर्ण निर्णय जारी रहेमा कर्णालीमा माओवादी र कांग्रेसको सरकार झन लम्बिने भएको छ । बहुमतको संख्या भएपनि ओलीको दम्भले यामलाल प्रतिपक्षकै सिटमा खुम्चिनेछन् ।
यामलाल कँडेलको मुख्यमन्त्री सपना सपनामै सिमित हुने जस्तै छ । तर एमाले दोस्रो तहका नेताको गृहकार्यले साथर्कता पाएको खण्डमा भने कर्णालीको सत्ता फेरि पनि ढिलोचाँडो उल्टिनेछ ।