चामे : देशैभर मनसुन शुरु भएको एक महिना भयो । मनसुनसँगै हिमाली जिल्ला मनाङले बाढीपहिराको बढी प्रभाव र क्षति भोगेको छ । डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद छ । जिल्लामात्र नभई मनाङभित्रैका गाउँ पनि एकअर्कासँग आवतजावत हुन सकेको छैन ।
बाढीपहिराका कारण सडक मात्र नभई मनाङमा विद्युत् र खानेपानीको सेवा पनि ठप्प छ । सदरमुकाम चामेमा नै समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ । बाढीपहिराले क्षति गर्दा कतिपय गाउँ अझै पनि विद्युत् र सञ्चार सम्पर्कमा जोडिन सकेका छैनन् । सबै क्षेत्रमा क्षति भोगेको हिमाली जिल्ला मनाङले निकै नै सकस तथा जोखिमपूर्ण अवस्था बेहोर्न बाध्य भएको छ ।
मस्र्याङ्दी नदीमा बाढीको सतह केही कम भएपछि पनि धेरै जोखिम र सकस भोग्दै आएको छ । स्थानीयवासीका अनुसार सडक सञ्जाल विच्छेदले सबैभन्दा बढी सकस बनाएको छ । सडक सञ्जालको नामोनिसान मेटिएपछि जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तु पु¥याउन नसक्दा अभाव सिर्जना भएको छ ।
स्थानीयवासीले आवश्यक परेका सामग्री पसलमा गएर किन्न पाएका छैनन् । बिरामी परेमा उपचारका लागि अस्पतालसम्म पुग्न पनि उत्तिकै कठिन छ । पैदल हिँडडुल नै असहज बनेको छ । एउटा गाउँबाट अर्को गाउँमा आउजाउ गर्दा रुखको जरा समाएर स्थानीयवासी हिँडडुल गर्न बाध्य भएका छन् । ज्यान जोखिममा राखेर पहरो कोपेर बनाइएका साँघु तरेर यात्रा गरिरहेका छन् ।
“जोखिम र सकसपूर्ण अवस्थामा अहिले हामी गुज्रिरहेका छौँ । सबैभन्दा अप्ठ्यारो अवस्था हामीलाई अहिलेसम्मको पहिलो समस्या होला सायद”, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ भन्छन्, “सबैतर्फबाट हामीले समस्यै समस्या भोगेका छौँ ।” गुरुङका अनुसार खाद्यान्न ढुवानी गर्न नपाउँदा बढी समस्या भएको छ । लमजुङको बेँसीशहर हुँदै खाद्यान्न ढुवानी गर्ने अवस्था नरहेपछि मुस्ताङ हुँदै खच्चडबाट आवश्यक खाद्यान्न र दैनिक अत्यावश्यक वस्तु ढुवानी गरेर जीविका चलाउनुपरेको उनी बताउँछन् ।
मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ पाँच हजार ४१६ मिटर पार गर्नुपर्छ । माथिल्लो मनाङवासीले अहिले थोराङ्ला भञ्ज्याङ हुँदै खाद्यान्न र आवश्यक वस्तु ढुवानी गरिरहेको गुरुङले बताए । “पिसाङमा दुई र खाङ्सारमा एक ट्रिप सामान थोराङ्ला हुँदै ढुवानी भयो, अब मनाङवासी पनि केही दिनमा सामान ल्याउने तयारीमा छन्”, उनले बताए ।
यो रुटमार्फत खच्चडबाट गरिएको ढुवानी निकै नै महँगो पर्छ । थोराङ्ला फेदी मुस्ताङतर्फ०बाट मनाङसम्म खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो रु ४० खर्च लाग्ने उनले बताए । थोराङ्ला भञ्ज्याङको मुस्ताङको फेँदीसम्म गाडी पुग्छ । मुक्तिनाथबाट डेढ दिनमा सामान मनाङ आइपुग्ने उनले बताए ।