लोकेन्द्र बिश्वकर्मा/जाजरकोट
जाजरकोटमा काम गरेको तीन बर्षदेखिको ज्याला नपाएका मजदुरले ढोरेनी जलविद्युत उपभोक्ता समितिविरुद्ध वडा कार्यालयमा उजुरी गरेका छन । तीन बर्षदेखि जलविद्यूत आयोजनामा काम गरेपनि पारिश्रमिक नपाएपछि बाध्य भएर समितिविरुद्ध वडा कार्यालयमा उजुरी गरेको मजदुरी गर्ने स्थानीय युवाहरुको भनाई छ ।
जाजरकोटको बारेकोट ६ मा निर्माणाधीन आयोजनामा काम गर्ने ५४ जना मजदुरले बिहीबार वडा कार्यालयमा पारिश्रमिक र आयोजनाको हिसाब किताब स्पष्ट गरी पाउँ भन्दै उजुरी गरेका एक युवाले जानकारी दिए ।
‘काम शुरु गरेको तीन बर्ष भयो । अहिलेसम्म लाखौ पुग्यो । तर पारिश्रमिक पाएका छैनौ’ जलविद्युत आयोजनामा काम गर्ने जाजरकोट ताँसीका युवा मनबहादुर विकले भने, ‘घरमा अन्नपानी किन्नलाई माग्दा पनि ज्याला नदिएपछि उजुरी गरेका हौ ।’
मनबहादुरका अनुसार छोरा ताराले पनि सोही आयोजनामा काम गर्दै आएका छन । दुबै बाबुछोराले पैसा नपाएपछि उजुरी गरेका हुन ।
लकडाउनले झन सास्ती
लकडाउनले घरमा चुल्हो समेत नबल्ने अवस्था आएपछि समितिविरुद्ध उजुरी हाल्नुपेको अर्का युवा टेकेन्द्र नेपालीले बताए । अन्त काम गर्ने अवस्था नभएको र काम गरेको ठाउँबाट पारिश्रमिक नआएपछि परिवारको छाक टार्न बाध्य भएर उजुरी हाल्नु परेको नेपालीको भनाई छ ।
‘आफनो श्रमको वापत पाउँने ज्याला नपाउँदा उजुरी हालेका हौ । सबै ठाउँ बन्द छ । अब कहाँ जाने ? घरमा के खाने भन्ने चिन्ता शुरु हुन लागेको छ । यस्तो बेला पनि पारिश्रमिक नदिएपछि के गरौँ भन्दा उजुरी हालेका हौ । अब त पैसा दिन्छन कि ?’ उनले भने ।
अर्का युवा भीमबहादुर नेपाली आयोजनाबाट १ लाख ५० हजार भन्दा धेरै पारिश्रमिक लिन बाँकी रहेको बताउँछन । यस्तै बारेकोट ६ टोल धुमाका डिल्ली बहादुर चलाउँने दैनिक ६ सय दरले २२७ दिनको हिसाब गर्दा १ लाख ३६ हजार २ सय रुपैया लिन बाँकी रहेको सुनाउँछन ।
जलविद्युत आयोजनामा कुलो समेत निर्माण गरेको हिसाब गर्दा झण्डै डेढ लाख पाउनुपर्ने भएपनि अहिलेसम्म ३३ हजार रुपैयाँ मात्रै पाएको उनको गुनासो छ । अर्का युवा बलराम चलाउनेका अनुसार अहिलेसम्म मजदुरले २५ प्रतिशत पारिश्रमिक मात्रै र्पाका छन ।
बाँकी ७५ प्रतिशत पारिश्रमिक माग गर्दा पनि नदिएपछि उजुरी हाल्नुपरेको उनको भनाई छ ।
आयोजनामा भ्रष्टाचारको आशंका !
शतप्रतिशत काम गर्दा पनि पारिश्रमिक नपाएको र गाउँमा बिजुली समेत नबलेपछि आयोजनामा भ्रष्टाचार भएको आंशका गरिएको छ । विजुलीसँगै सिँचाईका लागि कुलो समेत निर्माण भइरहेको थियो ।
काम अनुसारको बिल माथिबाट भुक्तानी भएको जानकारी आएपनि जलविद्युत आयोजना उपभोक्ता समीतिले पारिश्रमिक दिन बेवास्ता गर्नुले भ्रष्टाचार भएको हुन सक्ने मजदुरहरुको गुनासो छ ।
गाउँमा बिजुली पनि नबल्नु, युवाहरुको पारिश्रमिक पनि दिन नसक्नु र उपभोक्ता समितिले जहिलै यो प्रश्नबाट पन्छिने गर्नुले ठूलो मात्रामा भ्रष्टाचारको आशंका गरिएको युवाहरुको दाबी छ ।
बिजुलीका लागि गाड्नुपर्ने सबै पोलहरु नगाडिएको, अहिलेसम्म सार्वजनिक सुनुवाई पनि नगर्नुले समितिमाथि शंका गर्नुपर्ने बाध्यता आएको गुनासो स्थानीयको छ । अहिलेसम्म पारिश्रमिक पाउने आशमा चुपचाप लागेपनि माग्दा नदिएपछि वडा कार्यालयमै उजुरी दर्ता गराउनुपरेको उनीहरुको भनाई छ ।
स्थानीय निमबहादुर महताराका अनुसार बिजुली नबल्दा बारेकोटका धुमा, घर्तीगाउँ, कार्कीगाउँ, ताँसी लगायतका बस्तीहरु अन्धकारमा छन ।
वडाध्यक्ष भन्छन, ‘अब लकडाउनपछि छलफल गरौला’
लकडाउनले गर्दा घरमा चुल्हो बाल्न गाह्रो भइरहेका बेला स्थानीय जनप्रतिनिधि भने लकडाउनपछि मात्रै छलफल गराउने धारणा राख्छन ।
जलविद्युत आयोजनामा भ्रष्टाचार भएको आंशकाका साथै बर्षौदेखि मजदुरले पारिश्रमिक नपाएको गुनासोसहित उजुरी गर्दा पनि लकडाउनपछि मात्रै छलफल गराउन सकिने बारेकोट ६ का वडाध्यक्ष तिले महतारा बताउँछन ।
‘अहिले कोरोना महामारीले लकडाउन छ । बाहिर निस्कने अवस्था पनि छैन’ वडाध्यक्ष महतारा भन्छन, ‘जलविद्युत आयोजनामा काम गर्ने मजदुरले उजुरी गरेका छन । किन के कारणले त्यहाँ समस्या भएको हो ? लकडाउनपछि छलफल गर्ने र कुनै समस्या भए छानबिन गरेर दोषीमाथि कारबाही पनि गरौला ।’