काठमाडौ । सरकारले काठमाडौँ छाड्नेलाई आज र भोलि अर्थात शुक्रबार र शनिबार घर जान दिने औपचारिक निर्णय भइनसकेको बताएको छ । पैदलै हिडेर घर जान खोज्नेलाई आज र भोलि लकडाउन खुकुलो पार्ने निर्णय भइनसकेको गृह मन्त्रालयले जनाएको छ ।
बिहीबार बेलुकी प्रेस विज्ञप्ती निकालेर गृह मन्त्रालयले काठमाडौँमा रहेका जिल्लाका नागरिकका विषयमा छलफल भएको तर समाचारमा आएजस्तो गाडी चढेर घर जान दिने निर्णय नभएको जनाएको हो । काठमाडौँमा रासन पानीको अभाव झेलेपछि तराईका धेरै मानिस हिडेरै घर जान बाध्य भइरहेका छन । उनीहरुका बारेमा सञ्चारमाध्यममा समाचार आएपछि सरकारले शुक्रबार र शनिबार काठमाडौँ छाड्नेलाई घर जान दिइने निर्णय पनि गरेको थियो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वय समितिको बैठकले काठमाडौँमा सास्ती पाएकालाई घर जान दिने भनेर निर्णय गर्दै गृहसचिवलाई निर्देशन समेत दिएको थियो । सोही कुरा समाचारमा आएपछि प्रदेश सरकारले विरोध गरेका थिए ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौँबाट मानिसहरुलाई घर जान दिएपछि लकडाउन उल्लंघन हुने र यसले अर्को समस्या ल्याउन सक्ने बताएपछि सरकारले आफ्नो निर्णय झण्डै २ घण्टापछि नै उल्ट्याएको हो । गृहन्त्रालयले प्रेस विज्ञप्ती निकालेर निर्णय नभएको भन्दै उच्चस्तरीय समन्वय समितिको निर्णय समेत उल्टिएको पुष्टि गर्यो ।
केही मन्त्री र सचिवबाट सुचना बाहिरिएर समाचार आउनेवित्तिकै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारले सरकारको बचाउ गरेका छन । शुरुमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार किरण भट्टराईले फेसबुकमा स्टा्टस लेख्दै यसबारे सरकारको औपचारिक निर्णय नभएको बताए ।
लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पनि भोलि र पर्सी घर जान दिने निर्णय भइनसकेको जनाए । सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै थापाले लकडाउनमा कुनै पनि कुरा खुकुलो नहुने भन्दै बाहिर समाचारमा आएको कुरा सत्य नभएको र भ्रममा नपर्न आग्रह समेत गरे ।
थापाले फेसबुकमा लेखेका छन, 'लकडाउन भनेको लकडाउन नै हो । भोलि र पर्सि उपत्यका बाहिर जान पाइने भन्ने होइन । समाचारको भ्रममा नपर्नुहोला।'
सरकारले सर्वसाधारणका दुःख बुझेर निर्णय गरेपनि त्यसमा टिक्न नसक्दा नागरिकमा झन अन्यौल थपिएको छ ।
यो पनि पढ्नुहोस
काठमाडौँ छाड्नेलाई भोलि र पर्सी घर जान दिइने !