सिमकोटः हुम्लामा निर्माणधीन दुई वटा पक्की पुलको काम रोकिएको छ । पुलमा काम गरिरहेका कामदारलाई कोरोना परिक्षण गर्दा कोरोना देखिएपछि निर्माण कम्पनीले पुलको काम बन्द गरिएको हो
पुल निर्माण कम्पनी सपना धुलिखेल जेभिका स्थानीय प्रतिनिधि तेजबहादुर महतका अनुसार कामदारको कोरोना परिक्षण गर्दा कोरोना देखिएपछि दुई वटा पक्की पुलको निर्माण कार्य रोकिएको छ । उनले कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक खण्डको हेक्पा र ताग्रु खोलामा निर्माण कार्य भइरहेको बेला २५ जना कामदारको कोरोना परिक्षण गर्दा १५ जना कामदारलाई कोरोना देखिएपछि पाँच दिनका लागि सबै काम रोक्का गरिएको बताए ।
जिल्ला बाहिरबाट ल्याइएका कामदारहरुले आवश्यकता अनुसार दुबै पुलको निर्माण कार्य गर्दै आएको निर्माण कम्पनीले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये तीन जना डोजरका चालक हुन् । कामदार मध्ये केहीलाई रुघाखोकी लागेपछि निर्माण स्थलमै कोरोना परिक्षणको व्यवस्था गरिएको थियो ।
कोरोना देखिएका कामदार मध्ये ११ जना सिमकोटस्थित रानीबनको आइसोलेशनमा छन् । भने चार जनालाई निर्माण स्थल क्षेत्रमै होम आइसोलेशनमा राखिएको छ । सबैतिर कोरोना संक्रमण बढी रहेका बेला नाम्खा गाउँपालिकालाई आग्रह गरेर निर्माण कम्पनीले सबै कामदारको कोरोना परिक्षणको व्यवस्था गरेको थियो ।
अब बिरामीको अबस्था हेरेर रोकिएको काम अगाडी बढाउने निधो हुनेछ । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले पुल निर्माण कार्यले गति लिएका बेला एकाएक कामदारमा कोरोना देखिएपछि काममा बाधा पुगेको जानकारी लिए ।
कामदारमा कोरोना देखिएपछि आयोजनाको निर्धारित समयमा काम सक्ने लक्षलाई असर पुग्ने देखिएको छ । निर्माणधीन पुल मध्ये हेक्पा खोलको पुलको नौ करोड ९५ लाख र ताग्रु खोलाको पुलको नौ करोड ८५ लाखमा चार वर्ष अगाडी सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो ।
पहिलो वर्ष निर्माण स्थलको माटोको परिक्षणमै समय बितेको थियो । अघिल्लो वर्ष कोरोनाको कारण काम रोकिएको थियो भने निर्माणस्थल सडक सञ्जाल जोडिएपछि कामको सुरुवात भएको थियो ।