सिमकोटः विषेश गरी जनप्रतिनिधिको सेवा र सुविधाका लागि खर्च हुने प्रदेश र संघीय सरकारबाट उपलब्ध भएको राजश्व बाँडफाँडको विनियोजित बजेटबाटै खार्पुनाथ गाउँपालिकाले बचाएको छ ।
गाउँकार्यपालिकाबाट निर्णय गराएर खर्च गर्न सकिने उक्त बजेट खर्चमा मितव्यहिता अपनाएकै कारण उक्त रकम गाउँपालिका बचाउन सफल भएको गाउँपालिकाले जनाएको छ ।
हुम्लाका अन्य गाउँपालिकाका जनप्रतिनिधिहरुले सेवा र सुविधा नपाइरहेको बेलामा खार्पुनाथले भने सो बजेटबाट आठ लाख ८४ हजार १७३ रुपियाँ बचाएर चालु आर्थिक वर्षमा आम्दानी सफल भएको भएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
जथाभावी खर्च गरे नबच्ने उक्त बजेट गाउँपालिकाले खर्च र अनावश्यक बाँडफाँडमा कडाई गरेपछि बजेट बचाउन सकिने रावलले बताए । फ्रिज नजाने उक्त बचेको बजेट यसवर्ष गाउँपालिकाको आम्दानीमा भएको छ ।
‘यसबाट सबै जनप्रतिनिधिहरुको सेवा र सुविधा, अनुगमन खर्च, ३१ जना कर्मचारीको तलब भत्ता र केही योजना समेत निर्माण गरेर बाँकी बजेट बचेको हा’ अध्यक्षले भने ।
संघीय तथा प्रदेश सरकारबाट गाउँपालिकाका लागि विनियोजित भएको सबै बजेट आएको भए अझै धेरै बचाउन सकिने उनले बताए ।
आर्थिक वर्ष ०७७/०७८ मा खार्पुनाथका लागि संघबाट पाँच करोड ६५ लाख ३९ लाख २६१ र प्रदेशबाट दुई लाख २० हजार गरि पाँच करोड ६७ लाख ६१ हजार बजेट राजस्व बाँडफाँडमा बिनियोजित भएकोमा चार करोड सात लाख ६८ हजार ९९२ बजेट मात्र निकासा आएको थियो ।
यसरी राजश्व बाँडफाँड शीर्षकमा आएको बजेट बचाउनेमा खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो र एक मात्र गाउँपालिका देखिएको छ ।