सिमकोटः असार ३१ गते नेपाली सेनाले हस्तान्तरण गरेको कर्णाली करिडोरको हुम्ला खण्डको सलीसल्ला क्षेत्रको कर्णाली नदीमा फेरी सञ्चालन वा बेलिब्रीज निर्माण गरेर यातायात सञ्चालनमा ल्याइने भएको हो । सलीसल्लाको कर्णाली नदी पारी र पारीसम्म हाल गाडी गुडेपनि नदीमा पुल नभएको कारण यातायात सञ्चालन हुन नसकेको बेला पुल निर्माण गर्न लागिएको हो ।
हिल्सा सिमकोट आयोजनाका योजना प्रमुख बिसुनदास लामाका अनुसार तत्कालका लागि पक्की पुल निर्माण गर्ने कार्य सम्भव नदेखिएपछि सलीसल्लामा बेलिब्रिज फेरी सञ्चालनमा ल्याउने तयारीमा आयोजना लागेको हो ।
उक्त क्षेत्रमा सत्तरी मिटर लम्वाईको बेलिव्रीज निर्माण गर्नुपर्ने देखिएको स्थलगत सर्भेले देखाएको हो । हाल आयोजनासँग ४८ मिटरका बेलिब्रिज भएको र त्यो भन्दा लामो नभएको कारण फेरी सञ्चालन वा नयाँ बेलिव्रीज निर्माणको विकल्प सहितको योजना लिएर योजना प्रमुख लामा हाल बिभागमा स्वीकृतीका लागि काठमाडौं लागेका छन् ।
स्थलगत अध्ययनपछिको माग लिएर काठमाडौं गएको र दुई वटा बिकल्प मध्य एउटा विकल्प लिएर जिल्ला फर्कने उनले बताए । नदीको सतह चौढा भएको कारण बेलिब्रिज निर्माणको योजना स्वीकृत भएर बिचमा पिलर निर्माण गर्नुपर्ने लामाले थपे ।
जुन काम नदीको बहाव घटेपछि सुरु गरिनेछ । बेलिव्रीज निर्माणको सम्भावना नभए केही दिन अगाडी नेपाली सेनाको निर्माण दलले आयोजनालाई हस्तान्तरण गरेको फेरीलाई सलीसल्लामा ल्याएर सञ्चालन गर्ने योजनामा आयोजना रहेको छ ।
जसरी पनि आयोजनाले आगामी असोजसम्म सलीसल्ला क्षेत्रको कर्णाली नदीमा बेलीव्रीज निर्माण वा फेरी सञ्चालन गरेर यातायात सुचारु गर्ने योजना तयार गरेको छ । यसका लागि साउन महिना भित्रै आयोजनाले टेण्डर आव्हान प्रकिृया पनि अगाडी बढाउने तयारी गरेको छ ।
हाल बाजुरा हुँदै हुम्ला खण्ड आएका यातायातका साधनहरु सलीसल्लाको कर्णाली नदी पारीको भागसम्म आउने गरेका छन् भने सलीसल्लाकै कर्णाली वारीको क्षेत्रदेखि सर्केगार्ड गाउँपालिकाको स्याल्तडीसम्म आयोजनाले सडक निर्माण गरि सकेको छ । सो क्षेत्रमा हेलिकोप्टरबाट ढुवानी गरिएका वोलेरो जीप सञ्चालन हुँदै आएका छन् ।