काठमाडौँ । कर्णाली प्रदेशका १ सय ११ जनामा कोरोना परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा हालै गरिएको ८० जनाको परीक्षणमा पनि सबैको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
यसअघि ३१ जनाको भने काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । उनीहरुको रिर्पोट पनि नेगेटिभ नै आएको थियो । परीक्षण गरिएका सबै क्वारेन्टाइनमा बसेकाहरु हुन । भारत लगायतका तेस्रो देशबाट आएकालाई क्वारेन्टाइनमा राखिएको र कोरोना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ ।
अहिलेसम्म परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएकाले आत्तिनुपर्ने अवस्था नरहेको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दलबहादुर रावलले जानकारी दिए ।
५०० नमुना काठमाडौँ पठाइयो
दुई हप्ताअघि सुर्खेतमै कोरोना परीक्षण थालिएको थियो । तर दिनमा जम्मा १५ जनाको मात्रै परीक्षण हुने भएपछि संकलन गरिएका नमुना काठमाडौँ पठाइएको छ । अहिलेसम्म जुम्ला, कालिकोट, सुर्खेत र दैलेखबाट संकलन गरिएका नमुना काठमाडौँ पठाइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।
काठमाडौँ पठाइएकोमध्ये ३ सय २४ जुम्ला जिल्लाका मानिसहरुको नमुना हुन । जो भारतबाट मार्सी धानको बीउ राख्न केही दिनअघि मात्रै कर्णाली प्रदेश भित्रिएका थिए । जुम्लासम्म पुगेका उनीहरुको घरबाटै स्वाब संकलन गरी काठमाडौँ पठाइएको हो ।
यस्तै १ सय ६२ जनाको स्वाब सुर्खेतबाट काठमाडौँ पठाइएको हो । विदेश र भारतबाट आएका उनीहरुलाई सुर्खेतकै विभिन्न क्वारेन्टाइनमा राखिएको छ । यसमा केहीदिनअघि चौकुने गाउँपालिकामा संकलन गरिएका १४ जनाको स्वाब पनि सलंग्न छ ।
यस्तै दैलेखका १० र कालिकोटका ५ जनाको नमुना पनि काठमाडौँ पठाइएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ । उनीहरुको रिर्पोट केही दिनमा आउने पनि अस्पतालको भनाई छ ।
जनशक्ति र औषधिको अभाव
कर्णाली प्रदेश सरकारले सुर्खेतबाट कोरोना परीक्षण थालेपछि धेरैलाई अब नमुना काठमाडौँ पठाउनुपर्ने बाध्यता हट्छ भन्ने लागेको थियो । चीनबाट ल्याइएको कोरोना परीक्षण मेशिन सेनाको स्काई ट्रकमा हालेर सुर्खेत अस्पतालमा पुर्याइदा धेरैको आशा यही थियो ।
तर यो आशाको बत्ती चहकिलो बन्न सकेन । नेपाल लकडाउनको तेस्रो हप्ता पुग्दै गर्दा सुर्खेत प्रदेश अस्पतालमा अहिले दिनमा जम्मा १५ जनाको परीक्षण हुन्छ । तर दैनिक १०० भन्दा धेरैको नमुना संकलन भइरहेको छ ।
प्रदेश अस्पतालको मेशिनले धान्ने अवस्था नरहेपछि ५०० भन्दा धेरै नमुना काठमाडौँ पठाउनुपर्ने बाध्यता छ । सुर्खेत अस्पतालका डाक्टरहरुका अनुसार पर्याप्त पीपीई, मेशिनको कम क्षमता र दक्ष जनशक्तिको अभावका कारण नमुना काठमाडौ पठाइरहनु पर्ने बाध्यता बढेको हो ।
मेशिन भएर पनि जनशक्ति र स्वास्थ्य सामग्री अभावमा नमुना काठमाडौँ पठाउनु परेपछि प्रदेशमा स्थापना गरिएका प्रयोगशालाको औचित्यका विषयमा प्रश्न उठेको छ ।