काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा माओवादी केन्द्रसँग निर्णायक वार्ता गरिरहेका छन् । मन्त्रिपरिषद विस्तारबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा वार्ता गरिरहेका हुन् ।
माओवादी केन्द्र, एमाले वरिष्ठ नेता माधव नेपाल समूह र जसपाको यादव र भट्टराई पक्षको निर्णायक पहलमा प्रधानमन्त्री बनेका देउवाले आफ्ना विश्वासपात्र पूर्णबहादुर खड्कालाई सँगै राखेर बालुवाटारमा प्रचण्डसँग छलफल अगाडि बढाएका हुन् ।
मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीको टुंगो र आगामी दिनमा मन्त्री बन्नेको सूचीका विषयमा छलफल गर्न बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड, नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्का बसिरहेका देउवा निकट स्रोतले बताएको हो ।
कर्णाली प्रदेशबाट नेपाली राजनीतिको केन्द्रमा रहेका खड्का सुर्खेतका हुन् । खड्का पहिल्यैदेखि देउवाका निकट पात्र हुन् । सुर्खेतमा पनि खड्काको विशेष पकड छ । देउवा फेरि प्रधानमन्त्री भएपछि खड्का दाहिने हात बनेर बालुवाटारमा राजनीति चलाइरहेका छन् ।
खड्का यसअघि पनि देउवालाई अध्यक्ष बनाउनेदेखि प्रधानमन्त्री बनाउनसम्म विशेष सहयोग, समर्थनसहित समर्पित हुँदै आएका छन् । बालुवाटारमा प्रचण्डसँग भइरहेको वार्तामा खड्काले नै कांग्रेसबाट मन्त्री बन्नको नाम प्रस्ताव गर्नेछन् ।
यसका लागि देउवा र खड्काबीच पहिल्यै छलफल भइसकेको बालुवाटार स्रोतले जनाएको छ । खड्काले भनेको कुरा देउवाले मान्ने भएकाले पनि प्रचण्डसँगको विशेष भेटवार्तामा उनीहरु सलंग्न भएका हुन् । देउवाको गुटमा विमलेन्द्र निधि, रमेश लेखक, प्रकाशशरण महत भएपनि सबैभन्दा शक्तिशाली नेता पूर्ण बहादुर खड्का नै हुन् ।
सोही कारण देउवाले सभापतिको हैसियतले खड्कालाई कांग्रेस महामन्त्री नियुक्त गरेका हुन् । यसअघि उनी सहमहामन्त्री थिए ।