जुम्लाः महामारी कोरोनाको प्रत्यक्ष असर शिक्षामा परेको छ । यतिबेला सबै शिक्षण संस्थाहरु बन्द अवस्थामा हुँदा बालबालिका पढाइबाट बञ्चित भएका छन् । समयमै किताब विद्यार्थीको हातमा पुगे पनि घरमै बसेर पढ्ने वातावरण हुन्थ्यो । त्यो पनि छैन ।
शैक्षिक संस्थाहरु बन्द भएको लामो समय भयो । त्यसले गर्दा ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीहरुले पुस्तक समेत किन्ने अवसर पाएका छैनन् । यस महामारीलाई मध्यनजर गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा शैक्षिक संस्थाहरुलाई पुस्तक खरिद गर्ने र विद्यालयको हातमा पुस्तक उपलब्ध गराउने निर्णय गरेको छ ।
‘बालबालिकाको सिकाइलाई प्रत्यक्ष असर पुगेको छ । भनेको समयमा विद्यालयहरुले किताव उपलब्ध गराएका छैनन् । यसलाई मध्यनजर गरेर उक्त निर्णय गरेको हो’ जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले भने ।
उनका अनुसार सरोकारवाला निकायहरुबाट गुनासो आएपछि अब निषेधाआज्ञा खुकुलो बन्दै गइरहेको समयमा कम्तिमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन आवश्यक देखिएको छ । बैठकले विद्यालय बन्द भएपनि छात्रछात्रालाई पाठ्यपुस्तक पुर्याउने निर्णय गरेको चौलागाईले बताए ।
महामारीको समयमा विद्यालय जाने वातावरण नभए पनि घरमै बसेर बालबालिकाको सिकाइमा जोड हुने सरोकारवालाहरुको भनाइ छ । जुम्लामा फागुनदेखि सुरु हुने शैक्षिक–सत्र साउन लागि सक्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न नसकेपछि पुस्तक खरिदमा लगानी गर्न व्यापारीहरुलाई पनि अन्योल देखिएको छ ।
जिपी स्टेशनरीले यस बर्ष २५ लाखका पुस्तक भित्र्याएको बताइएको छ । पुस्तक भने बिक्री नहुने डरले लगानी गर्न नसकिएको प्रवन्धक गणेश रोकायाले बताए । उनका अनुसार कोभिड भित्रै ल्याएका पुस्तक त बिक्री हुन केही मात्रै बाँकी रहेका छन् । तर जिल्लाका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरु छुटेकोमा चिन्ता व्यक्त गरे । जुम्ला भरी वर्षेनी रु एक करोड ५० लाखका पुस्तक आवश्यक भएपनि कोरोनाका कारण विद्यालय नखुलेर बिक्री भएका छैनन् । तर घरमै भएपनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्नेमा जोड दिए ।
त्यस्तै यता सन्ध्या स्टेशनरीले जिल्लामा भित्र्याएको १८ लाखको पुस्तक बिक्री भएका छैनन् । स्टेशनरीका प्रवन्धक सुमन खड्काकाले दुई लाख बराबरको मात्रै सरकारी विद्यालयका किताब भएको बताए । उनले भने, ‘महामारीका कारण बिक्री नहुने डरले लगानी गर्न कठिन भएको छ ’ ।
जिल्ला सबै विद्यालयको खातामा पाठ्यपुस्तको रकम गइसकेको शिक्षा समन्वय समितिले जानकारी दिएको छ । शिक्षा समन्वय प्रमुख मकरबहादुर भण्डारीका अनुसार जिल्लाका आठवटै स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम दिइसकेको हुँदा अव विद्यालयले चाँडै विद्यार्थीको हातमा पुस्तक पुर्याउनु पर्ने बताए ।
उनले केही विद्यालयले त किताव समेत किनेर लिइसकेका छन् । गाउँका विद्यार्थीहरु नत टेलिभिजन कक्षामा सहभागि हुने अवसर भएको छ, नत अनलाइन कक्षा लिन पाएका छन् । जिल्लाका ग्रामिण क्षेत्रका विद्यार्थीको भविष्य लागि पनि पाठ्यपुस्तक अनिवार्य हातमा पुर्याउनु अवको आवश्यकता रहेको छ । जुम्लामा १७० विद्यालयका करिब ४० हजार विद्यार्थी छन् ।