सल्यानः जिल्लाका ९ स्थानीय तहले बजेट पारित गरेको दुई साता बित्दासमेत बन्गाडकुपिण्डे नगरपालिकाले अहिलेसम्म नगरसभा गर्न सकेको छैन । जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा नगरसभा अन्योलमा परेको हो ।
अहिलेसम्म विवादको टुंगो नलाग्दा कार्यपालिका बैठक बस्न सकेको छैन । जसका कारण नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम र बजेट अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । वडामा भर्ना गरेका १२ कर्मचारीलाई तलब खुवाउने विषयमा कुरा नमिलेका कारण नगरसभा हुन नसकेको नगर उपप्रमुख मञ्जु ऐरीले बताइन् ।
उनका अनुसार कर्मचारीलाई गत वर्षदेखि तलब भुक्तानी गर्न सकिएको छैन । ‘अन्य विषयमा पनि विवाद छ, तर मुख्य समस्या कर्मचारीकै तलब हो,’ उनले भनिन्, ‘अहिले त झन् नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत नै नगरपालिकामा छैनन् ।’ नगरसभाका लागि नीति तथा कार्यक्रम र बजेट तयार गरेर राखे पनि नगर प्रमुख गोविन्दकुमार पुन नगरपालिकामा नहुँदा समस्या भएको उनको भनाइ छ । ‘विवाद नसुल्झिँदासम्म जनप्रतिनिधिले कार्यपालिका बैठकमा सहभागी नहुने अडान लिएका छौं,’ ऐरीले भनिन्, ‘अहिले अवस्था जेजस्तो भए पनि नगरसभाका छिटो गर्न नगरप्रमुखलाई आग्रह गरिए पनि बेवास्ता भइरहेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मीले कर्मचारीलाई तलब खुवाउने विषयमा समस्या हुँदा नगरसभा हुन नसकेको बताए । उनका अनुसार विकास योजनामा काम गरेका ठेकेदारलाई भुक्तानी नदिँदा पनि नगरसभा बस्न समस्या भएको हो । ‘नगरसभाका लागि कार्यपालिका बैठक पटकपटक बसे पनि कुनै छलफल नै हुन सकेको छैन,’ उनले भने, ‘कर्मचारी र जनप्रतिनिधिको विवाद भनिए पनि यहाँ जनप्रतिनिधिकै विवाद बढी छ ।’ उनी अहिले परीक्षाका लागि काठमाडौंमा छन् । नगरसभाको टुंगो भए आफू परीक्षा छोडेर आउन पनि तयार रहेको उनले बताए । ‘जनप्रतिनिधिमै विवाद छ,’ उनले भने, ‘तर दोषजति सबै कर्मचारीमा थुपारिएको छ ।’ उनका अनुसार बजेट नहुँदा कर्मचारीलाई तलब खुवाउन समस्या भएको हो ।
नगरमा जनप्रतिनिधिको बढ्दो लापरबाहीका कारण नगरसभा हुन नसकेको स्थानीय बेदबहादुर रोकाले बताए । ‘आफ्नो कमजोरी लुकाउन उनीहरूले कर्मचारीको तलब र ठेकेदारलाई भुक्तानी दिन सकेका छैनन्,’ उनले भने, ‘अघिल्लो वर्ष पनि मनमुटावकै कारण तोकेको समयभन्दा ६ महिनापछि नगरसभा भयो, नगरसभा नहुँदा हामीले ३ वर्षदेखि नै स्थानीय सरकारको अनुभूति गर्न सकेका छैनौं ।’
नगरप्रमुख पुनले विवाद मिलाएर छिट्टै नगरसभा गरिने बताए । ‘नीति तथा कार्यक्रम र बजेट तयार छ,’ उनले भने, ‘नगरभित्र देखिएका सामान्य समस्याले तोकिएको समयमै नगरसभा हुन सकेन, अब एक साताभित्रै नगरसभाको बैठक गरी बजेट पारित गरिनेछ ।’
'विप्लव महर्जनले तयार पारेको यो सामग्री हामीले इकान्तिपुरबाट लिएका हौं'