काठमाडौँः पछिल्लो समय कर्णालीमा शक्ति संघर्ष चलिरहेको छ । कांग्रेसको आसन्न महाधिवेशनका कारण सत्तारुढ कांग्रेसभित्र शक्ति संघर्ष चुलिरहेको छ । एमाले र माओवादीभित्र पनि शक्ति संघर्ष चुलिदो छ ।
पार्टीहरुमा आन्तरिक रुपमा शक्ति संघर्ष चुलिनु स्वभाविक हो । तर आन्तरिक संघर्ष चुलिदा कोही नेता शक्तिमा पुग्छन् भने शक्ति भएका नेता शक्तिहीन बन्छन् ।
पछिल्लो समय सत्तामा पुगेपछि नेकपा माओवादी केन्द्रमा पनि शक्ति संघर्ष चुलिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेवित्तिकै कर्णालीबाट जनार्दन शर्मा मन्त्री बनेका छन् । अर्थमन्त्री बनेका उनी प्रचण्डको पहिलो रोजाईमा परेर मन्त्री बन्न सफल भएका हुन् ।
जनार्दन मन्त्री बनेसँगै कर्णाली र केन्द्रीय राजनीतिमा उनको पकड झन बलियो बनेको छ । प्रदेश सरकारमा पनि उनले आफ्ना भाई गोपाल शर्मालाई मन्त्री बनाइसकेका छन् । प्रदेशमा गोपाल शर्मा र केन्द्रमा जनार्दन शर्मा मन्त्री बन्दा कर्णालीकै एक टावर लिडर शक्ति बस्नेत भने शक्तिहीन बनेका छन् ।
शक्ति बस्नेतको शक्तिबाट कर्णाली प्रदेशमा मन्त्री बन्ने लाइनमा रहेका बिन्दमान गएको बैशाखमा १८ घण्टे मन्त्री बनेका थिए । जनार्दन शर्माकै दबाबमा गोपाल शर्मा र सीता नेपाली मन्त्री बन्दा बिन्दमान भने फुत्किएका थिए ।
उनी केन्द्रमा पनि क्रमशः कमजोर बन्दै गएका छन् । पछिल्लो अडान, संगठन र शक्ति संघर्षमा कमजोर बनेका शक्ति बस्नेत पूर्व वन तथा वातावरणमन्त्री बने । उनी पूर्वगृहमन्त्री बनिसकेका नेता हुन् ।
तर गृहमन्त्रालयको रापबाट वनमन्त्रीमा झरेका बस्नेत त्यतिबेला चितवनमा सुकुम्बासीका घर जलाउने काममा मुछिएको भन्दै विवादित बनेका थिए । त्यसयता शक्ति बस्नेत राष्ट्रिय मिडियामा पनि समाचारमा छाउन सकेनन् ।
खासगरी माओवादीबाट कर्णालीका शक्तिशाली नेताका रुपमा शक्तिलाई चिनिन्छ । तर पछिल्लो समय एकपछि अर्को गरी जनार्दन शर्माले प्रभाव बढाउँदा शक्ति बस्नेत भने शक्तिविहीन भएका हुन् ।
केन्द्रमा प्रचण्डको विश्वासपात्र बन्न नसकेका शक्ति बस्ने सोही कारण प्रदेशमा पनि कमजोर देखिएका छन् । उनको सबैभन्दा ठूलो शक्तिहीनता त जाजरकोटका उनकै मतदाता नवराज विक लगायत ६ जना युवाको विभत्स हत्या हुँदा देखिएको थियो ।
युवाहरुको हत्याको विरोधमा देशभर आन्दोलन चल्यो । तर जाजरकोटकै जनप्रतिनिधि रहेका शक्तिले न संसदमा बोले । न सडकमा । आफ्नै मतदातामाथि यति ठूलो अन्याय हुँदा पनि एक वचन बोल्न नसकेयता शक्ति बस्नेतको शक्तिहीनता बढ्दो छ । उनी नेता छन् । पूर्व मन्त्री हुन् । तर उनको शक्ति अहिले उनकै चौघेरामा सीमित छ । जसको असर आगामी निर्वाचनमा पर्ने देखिन्छ ।