खलंगाः जुम्लाको चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवाल र उप–प्रमुख अप्सरादेवी न्यौपाने महतबीचको आपसी विवादले नगरपालिका विवादितमा परेको छ । यसले गर्दा सेवाग्राहीहरुले प्रत्यक्ष सास्ती खेपिरहेका छन् ।
'नगरपालिकाको सेवा प्रभावित मात्रै भएको छैन्, नगरपालिकाको बजेट समेत पारित भएको छैन् '। नगर प्रमुख सेजुवाल भन्छिन्, ‘बजेट पारित भयो’ । उप– प्रमुख भन्छिन् ‘बजेट पारित भएको छैन ’ । दुई जनाको जुवारीले प्रत्यक्ष नगरपालिकालाई प्रभाव परेको छ ।
दुईको विवादले नगरपालिकाबाट प्रवाह हुने सेवामाथि सेवाग्राहीले सास्ती खेप्नु परेको सेवाग्राहीहरुको गुनासो छ । आर्थिक वर्ष ०७८/०७९ साउन महिनाको १ गतेदेखि सुरु भइसकेको छ । नयाँ आर्थिक बर्षसँगै सार्वजनिक सेवाहरु प्रवाह सुचारु हुनु पर्ने हो । तर मेयर र उप-मेयरको आपसी विवाद्ले नगरपालिकाका सबै कामहरु ठप्प भएका छन् ।
नागरिकता सिफारिसदेखि घरजग्गा राजश्व संकलनका सेवा ठप्प हुदा सेवाग्राहीले सास्ती खेपिरहेका छन् । राजश्व परामर्श समितिको बैैठक नबसेर राजश्व संकलन दररेड अनुमोदन नहुँदा यस्ता सेवा प्रवाह प्रभावित भएको कर्मचारीले बताएका छन ।
साउन महिनाको पहिलो साता वित्यो । नगरपालिकाले सेवा प्रवाह गर्न नसेको स्थानीयको गुनासो छ । लामो समयदेखि नगर प्रमुख र उपप्रमुखको आपसी विवादले सार्वजनिक सेवा प्रवाहदेखि विकास निर्माणका काम प्रभावित हुने गरेको स्थानीयको बुझाइ छ ।
आर्थिक वर्ष ०७८/०७९ को असार १० गतेको नगरसभाको बैठक हुनुपर्ने हो । त्यतिवेला पनि भएन । लामो समयसम्म कार्यपालिका सदस्य बैठकमै उपस्थित नहुँदा असार ३१ गते बहुमतको आधारमा बजेटसहित नीति तथा कार्यक्रम पारित भएको नगर प्रमुख सेजुवालले बताइन् ।
यता उप–प्रमुख अप्सरादेवि पनि के कम, ‘औपचारिक रुपमा नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पारित नभएको बताइन् । ‘ दुई तीन आर्थिक वर्षदेखि सार्वजनिक सुनुवाई हुन सकेको छैन । रेडबुक अनुसार योजना बकार्यन्वयन हुदैनन् । अपारर्दर्शी रुपमा बजेट खराप पार्ने जस्ता कामले गर्दा नगरपालिका दुर्गन्धित बन्दै गएको छ । यस्ता किसिमका अपार्दर्शी कार्यको टुंगो नलागेसम्म र माग सम्बोधन नभएसम्म नगरसभा हुँदैन्’ उप–प्रमुख अप्सरादेविले भनिन् ।
नगरपालिकामा सार्वजनिक सेवाका लागि आउँदा सेवा नपाएका चन्दननाथ नगरपालिका जुम्लाका सेवाग्राहीको माधबप्रसाद उपाध्यायले बताए । उनले भने, ‘राजश्व जग्गाको तिरो तिर्न आएको दुई दिन भयो । दुवै दिन कामै नभएर फर्किए ’ ।
‘नयाँ आर्थिक वर्षसँगै राजश्व र दररेड कायम गरी अनुमोदन गरी लागु गर्नुपर्ने हो । तर अनुमोदन नहुँदा राजश्व संकलन हुन नसकेको नगरपालिका राजश्व शाखाका नायव सुब्वा कमल भण्डारीले बताए । उनले राजश्व परामर्श समितिको बैठक नबसेको कारणले सेवाग्राहीको सेवा प्रभावित भइरहेका बताए ।
'ऐन नियम अनुसार असार १० गतेभित्रै बजेटसहित नीति तथा कार्यक्रम नगर सभाबाट पारित हुनपर्ने हो । तर साउनको पहिलो सातासम्म भएको छैन । यसले गर्दा नगरपालिका सो मुल्यांकनमा पनि पछि परिसकेको चन्दननाथ नगरपालिका– ८ का वडाध्यक्ष नरजित दमाईले बताए । उनले भने, ‘अझै पनि बजेट पारित गर्ने प्रयत्न गरिरहेका छौं’ ।
‘नगर सभामा कार्यपालिका सदस्यलाई आमन्त्रण गर्ने कर्तव्य हो, आमन्त्रण पनि भयो, केही सदस्यहरु नगर सभामा नआएपछि बहुमतको आधारमा ४९ करोड बढीको बजेटसहित नीति तथा कार्यक्रम पारित भएको हो’ नगर प्रमुख सेजुवालले थपिन् । सेजुवाल नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । भने, न्यौपाने माओवादी केन्द्रबाट निर्वाचित भएकी हुन् ।