कोरोना भाइरस अर्थात कोभिड १९ एक अन्तराष्ट्रिय महामारी हो । यसले एकपछि अर्को गर्दै विश्वका सम्पुर्ण देशलाई आक्रान्त पारिरहेको छ । युरोप र अमेरिकन देशहरु पनि आज कोरोनाले गर्दा ठूलो संकटबाट गुज्रिरहेका छन ।
कोरोनाको प्रलयकारी प्रकोपबाट विश्वका सबैभन्दा धेरै विकसित देशका नागरिकहरुले ज्यान गुमाइरहेका छन । अमेरिका, इटाली, स्पेन, बेलायत, फ्रान्स लगायतका देशहरुमा हजारौले कोरोना भाइरसका कारण मृत्युवरण गरिरहेको समाचार दैनिक आइरहेका छन ।
विश्वका शक्तिशाली र स्वास्थ्य सेवा अत्यन्तै राम्रो भएका देशका नागरिकले नै कोरोनाका कारण दैनिक ज्यान गुमाउनु परेपछि नेपाल जस्ता साना देश चिन्तित, त्रसित र झन जोखिममा पर्नु स्वभाविकै हो ।
चौकुनेको अवस्था
कोरोनाको विश्वव्यापी महामारीका बेला चौकुने गाउँपालिकाले चौकुनेका सम्पुर्ण जनताहरुको जीवन रक्षाका लागि पुर्व सावधानीका साथ सबै उपायहरु अबलम्बन गरिरहेको छ ।
चौकुनेको नागरिकको रक्षा र जोखिम घटाउनका लागि सचेतना माइकिङदेखि झोलुंगे पुलको आवतजावत बन्द अर्थात नाकाबन्दीसम्म गरेको कुरा सर्वविदितै छ ।
गाउँपालिकाले नेपाल सरकारले निर्णय गरे बमोजिम लकडाउनको नीतिअनुकसार घर घर टोल टोलसम्म प्रचार प्रसार गर्नुका साथै सम्पुर्ण मातहतका कार्यालय, वडा कार्यालय, नागरिक समाज, बुद्धिजीवी, संघ संस्थाहरुमार्फत आफ्ना सबै गतिविधि अगाडी बढाइरहेको छ ।
यसै क्रममा स्वयंम गाउँपालिकाले गाउपालिकाभरी ‘एक घर एक साबुन’ कार्यक्रम, चेतनामुलक सरसफाई, अभियान माइकिङ र कोरोना सचेतना सम्बन्धि पर्चाहरु बितरण गरिसकेको छ ।
छिमेकी मुलुक भारतबाट आएका ब्यक्तिहरुको तथ्यांक संकलन गरी सार्वजनिक मात्रै गरिएन । उनीहरुलाई क्वारेन्टाइनमा राख्नुका साथै कोरोना परीक्षणका लागि स्वाब समेत संकलन गरेर काठमाडौँ पठाइएको छ । अहिलेसम्म कुनै गम्भिर लक्षण देखा नपरेकाले कोरोना संक्रमणको आश गरेका छैनौ ।
यसबीचमा भारतबाट पहिल्यै आएका तर कुनै लक्षण नदेखिएका व्यक्तिहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न बस्न पटक पटक आग्रह गरेका छौ । घरमै पुगेर समेत सम्झाई बुझाई गरेका छौ ।
नेपालमा कोरोना प्रवेशको दुई चरण
नेपालको सन्दर्भमा कोरोना भाइरसका दुई चरणहरु देखिएका छन । प्रथम चरणमा बिदेशबाट आएकाहरुमा मात्र कोरोना संक्रमण थियो ।
छिमेकी जिल्ला कैलालीको लम्किमा भारतबाट आएका ब्यक्तिबाट उनकी भाउजुमा कोरोना संक्रमण देखिए लगत्तै नेपालमा कोरोना संक्रमणको दोश्रो चरण प्रारम्भ भएको हो ।
दोश्रो चरणको प्रारभले अझ नजिकै जिल्ला कैलालीको लम्की चुहा नगरपालिका, जहाँ चौकुनेका मानिसहरुको अधिकतम आवातजावतको सम्बन्ध छ । त्यहाँ नै कोरोना संक्रमण देखिएपछि हामी चौकुनेबासी कोरोना संक्रमण र जोखिमको उच्च बिन्दुमा पुगेका छौ ।
यसको पुर्व सावधानीका लागि हामीले चौकुनेका सम्पुर्ण सिमा नाकाहरु पुर्ण रुपमा बन्द गरिसकेका छौ । हाम्रा अगाडि यो नै अनिवार्य र आवश्यकताको अन्तिम विकल्प थियो । बाध्यात्मक परिस्थितिको यस घडीमा हामीले चालेको कदमले साच्चिकै जनजीवन कष्टकर बनेको छ ।
गाउँपालिकाको यो निर्णयबाट तपाईहरुमा पर्न गएको असुविधाप्रति म सम्पुर्ण चौकुनेबासी आमाबुबा दाजुभाई तथा दिदिबहिनीहरुसँग क्षमा पनि माग्न चाहन्छु ।
सुरक्षा, सतर्कता र पूर्वतयारी
कोरोना भाइरसको दोस्रो चरण शुरु हुनु अगावै हामीले चौकुने ६ गुटु झकमकेमा रहेको जीवन ज्योति माविमा क्वारेन्टाइन निर्माण गरिसकेका छौ । जहाँ विदेशबाट आएका १४ जना व्यक्ति बसिरहनु भएको छ ।
उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार जना व्यक्तिहरुलाई घर जान नदिई सिधै क्वारेन्टाइनमा लिएर राखेका छौ । दोश्रो चरण सुरु भैसकेपछि भारतसँग जोडिएको सीमा गौरिफन्टा नाका हुँदै चौकुने गाउँपालिका प्रवेश गरेका १० जना व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखेका छौ ।
क्वारेन्टाइनमा राखिएका अहिलेसम्म १४ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत हुँदै काठमाडौँ पठाइसकिएको छ । स्वाब संकलन गरिएको व्यक्तिहरुको रिर्पोट छिटटै आउनेछ ।
कोरोनाको विश्वव्यापी विपत र महामारीमा यस गाउँपालिकालाई प्रत्यक्ष रुपमा क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने कर्णाली प्रदेश सरकार, कर्णाली प्रदेश अस्पतालका साथै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतप्रति कृतज्ञ छौ ।
कोरोना भाइरस बिरुद्धको लडाइमा हामी जनताको जीवन जोगाउन एकपछि अर्को सावधानीका कार्यक्रमहरु पनि अघि सारिरहेका छौ । यसै क्रममा चौकुने गाउँपालिकाका सम्पुर्ण घरधुरीलाई पुग्ने गरि वडा कार्यालयमार्फत मास्क वितरण पनि शुरु गरेका छौ ।
वर्तमान परिस्थितीमा कोरोनाविरुद्ध लड्न हामीसँग कुनै बनिबनाउ विधि नभएकोले आगामी दिनहरूमा आउन सक्ने सम्भावित जोखिमहरु मुकाविला गर्न तपाईं हाम्रो एकता, धैर्यता, शिष्टता र अनुशासन नै महत्वपूर्ण अस्त्र हो ।
यस लकडाउनको विषम परिस्थितीमा दीर्घरोगी, नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरुको औषधि अभाव भई वीरेन्द्रनगरबाट ल्याउनुपर्ने भएमा सम्बन्धित वडा कार्यालय वा गाउँपालिकामा सम्पर्क गर्न पनि सबैसँग आग्रह गर्दछौ ।
यस संकटको घडीमा धैर्यता र साहस नै असल मित्र हुन । त्यसैले चौकुने गाउँपालिका अरपल तपाई चौकुनेबासी जनताहरुको जीवनरक्षाका लागि आफ्ना सबै प्रयासहरु दृढतापुर्वक चाल्नेछ भन्नेमा विश्वस्त हुन अनुरोध छ ।
(शाही सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष हुन ।)