रुकुम पूर्वः 'कार्यालयले उठाएको घुसको रकममाथि पनि दिनुपर्छ' भन्दै रुकुम पूर्वस्थित डिभिजन वन कार्यालयका प्रमुखले घुस असुली गरेको पाइएको छ ।
डिभिजनल वन अधिकृत जीवन पंगेनीले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनको लागि अनुमति पुर्जी दिनलाई निवासमै बोलाएर सेवाग्राहीसँगबाट ‘राजश्व भन्दै घुस’ लिएको पाइएको हो ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको पाटन क्षेत्रमा पाईने यार्सागुम्बा संकलनको लागि नियामानुसार राजश्व तिरेर वन कार्यालयको पुर्जी लिन गएका सेवाग्राहीसँग 'कार्यकक्षमा हो हल्ला हुन्छ' भन्दै निवासमा बोलाएर घुस रकम असुली गरेका हुन् ।
प्रमुख पंगेनीले लामो बार्गेनिङ पछि राजश्व तिरेको हो । बराबरको रकम राजश्व स्वरुप दिनु भनेर सेवाग्राहीसँग मागेको माथीका मन्त्री, सिडियो, पत्रकार, फाँटका अन्यलाई पनि दिनुपर्ने भएको कुरा अडियो समेत प्राप्त भएको छ ।
उनको कार्यशैलीबाट आजित बनेका सेवाग्राहिहरुले घुसका लागि गरेको बार्गेनिङ रेकर्ड गरेर उपलब्ध गराएका छन् ।
वन कार्यालयले यार्सागुम्बा संकलनको लागि प्रतिकेजि ३० हजार राजश्व लिने गरेको छ । उक्त राजश्व बैंक खातामा जम्मा गरेको भौचर देखाएपछि प्रमुख पंगेनीले त्यति नै आफुलाई चाहिने र नत्र काम नहुने भन्दै घुस मागेर लिने गरेका छन् ।
शुक्रबार सम्पर्कमा आएका सेवाग्राहीले फाँटका कर्मचारी समेतको मिलोमतोमा ठुलो रकम असुल भइरहेको बताए ।
निवेदनमा तोक लगाउन निवासमै पठाएका कर्मचारीहरुले समेत हाकिम सापले रकम बार्गेनिंग गरेपछि काम गर्ने गरेका छन् ।
क्वाटरमा जाँदा राजश्व बराबरको खाजश्व पनि दिनुपर्ने, नदिएमा पुर्जि नदिने र यार्सा संकलनको लागि आह्वान गरेको सूचना बन्द गरिदिने प्रमुख पंगेलीले बताएकोले आफुले बाध्य भएर घुस दिनु परेको सेवाग्राहीले बताएका छन् ।
गोप्य श्रोतका अनुसार 'यत्रो रकम नमाग्नुस न भनेर हात विसाउँदा समेत कार्यालय प्रमुखले मन्त्री, सिडियो, पत्रकार, फाँटका सबै कर्मचारीलाई दिनुपर्छ भन्दै यो कार्यालयको नियम भएको समेत बताएका छन् । प्राप्त अडियो रेकर्डमा ‘लेखेको नियम एउटा छ, भित्रको नियम एउटा छ, यस्तै चल्छ, तपाईले दिएको रकम मलाई, अरु कर्मचारी र माथिकालाई पनि दिनुपर्छ’ भनेर खुलेआम प्रमुख पंगेनीले घुस लिएका छन् ।
कसैले पनि खुलाउन नसकेको यार्सा संकलनको अनुमति आफुले माथिका मान्छेलाई मिलाएर खुलाएको भन्दै प्रमुख पंगेनीले माथिकाले हामीलाई नि चाहिन्छ भनेकोले तपाईसँग मागेका हौं, अरुले दिएका छन्, अब छुट पुर्जि लिने बेलामा हामीलाई दिनु पर्दैन भन्दै घुस पाएपछि तत्कालै काम गरिदिएको नाम प्रकाशन नगर्ने शर्तमा एक सेवाग्राहीले बताए ।
सेवाग्राहीसँग घुस लिएर काम गरेको बिषयमा प्रमुख पंगेनीले आफुले नलिएको तर लाखौंको कारोबार गर्दा कोही कसैले त्यस्तो आशा गरेको हुनसक्ने बताए । कागजात नमिलेको, मुचुल्का गर्नुपरेको बेला अलिअलि गरेको होलान् भन्दै प्रमुख पंगेनीले आफुले नियमानुसार नियमित काम गरिरहेको उनले बताए ।
फाँटमा सबैले देख्छन् भनेर निवासमै बोलाएर राजश्व बराबरको खाजश्व चाहिन्छ, सबैलाई मिलाउनुपर्छ भन्दै मागेको रकमबारे उनी नाजवाफ भए । प्रमुख पंगेनीका अनुसार हालसम्म यार्सागुम्बा संकलनको लागि करिब २० किलोको पुर्जि प्रदान गरिएको छ । १ किलोको ३० हजार राजश्व तिरेका व्यवसायीहरुले प्रतिकिलो ३० हजारकै रकम अवैध रुपमा वनका कर्मचारीलाई दिन बाध्य भएको बताएका छन् ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बास्कोटाले तुरुन्तै बुझेर थप कुरा गर्ने प्रतिक्रिया दिने बताए । उनले घुस लिएर काम गर्नेलाई नियमानुसार कारबाही गर्ने बास्कोटाको भनाइ छ ।