गलेश्वर : विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग परेका छन् ।
जिल्लाको नयाँ पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका कार्कीले यसअघि कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाएका थिएनन् । “म विगत २८ वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु”, कार्कीले भने, “तर कोरोना कहर शुरु भएयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन ।”
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमण जति जति बढ्दै गयो, मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अग्र्यानिक खानेकुराको मात्रा बढाउँदै लगे । विशेष गरी आयातित तरकारी र फलफूल नपाइने वा मानिसले त्यसलाई ध्यान नदिने भएपछि सदरमुकाम नजिकै रहेका कृषककहाँ पुगेर नै बजारका मानिसले तरकारी खरिद गर्न थालेपछि कार्कीजस्तै व्यावसायिक तरकारी खेतीमा लागेका किसानका उत्पादनले बजार पाउन थालेका हुन् ।
कृषक कार्कीको खेतबारीमा अग्र्यानिक तरकारी र फलफूल झुलिरहेका छन् । शारीरिक व्यायामका लागि बिहान लभ्लीहिलमा जाने बजारका गृहिणी, युवायुवती वा बटुवाले कार्कीको बारीमा पसेर ताजा तरकारी खरिद गरी फर्कने गरेका छन् ।
त्यसैगरी खबराका अर्का कृषक शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदीलगायतका जिल्लाका दुई दर्जन बढी कृषकले पछिल्लो समय प्राङ्गारिक तरकारीको बिक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् ।
विगतमा तरकारी बिक्रीबाट वार्षिक रु पाँच लाख आम्दानी गर्दै आउनुभएका खबराका चन्द्रबहादुर कार्कीले २०७६ को चैतदेखि २०७८ को वैशाखसम्म तरकारी बिक्री गरेर रु ११ लाखभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका नारायण पौडेलले पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको बताए ।
म्याग्दीका छवटा स्थानीय तहमा गरी २०० भन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्गे आम्दानी गर्न थालेका कृषि प्राविधिक जगत बानियाँको अनुभव रहेको छ । बानियाँ भन्छन्, “कोरोना कहर शुरु भएयता मानिसले अग्र्यानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग शहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।” रासस