काठमाडौँ : नेपाल सरकारको किचेन क्याबिनेटमा पहिलोपटक कर्णालीले नेतृत्व लिएको छ । प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयबाट हुने सम्पूर्ण कामको मुख्य नेतृत्व कर्णालीका नेता तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन भएको हो । खड्का प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाका दाहिने हात हुन् । सुर्खेत घर भएका खड्का पूर्वगृहमन्त्री समेत हुन् ।
उनी कर्णालीबाट नेपाल सरकारको गृहमन्त्री बन्ने पहिलो व्यक्ति पनि हुन् । यसअघि देउवा प्रधानमन्त्री हुँदा खड्का गृहमन्त्री भएका थिए । त्यसयता लगातार देउवाको व्यक्तित्वसँग नजिक रहेर राजनीति गरेका खड्काले पहिलो पटक सरकारको किचेन क्याबिनेट चलाउने जिम्मेवारी पाएका हुन् ।
सरकार सञ्चालन कार्यदल मन्त्री, मुख्यसचिवभन्दा पनि माथि रहेर काम गर्ने राजनीतिक संयन्त्र हो । जसले प्रधानमन्त्रीलाई विश्वासमा लिएर देश र जनताका लागि आवश्यक पर्ने निर्णय सोझै मन्त्रिपरिषदबाट पारित गराउने अधिकार राख्छ ।
बिहीबार गठित कार्यदलको सदस्यमा कांग्रेसकै मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन् । यस्तै माओवादीबाट वर्षमान पुन र देव गुरुङ सदस्य हुँदा जसपाबाट राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् । कार्यदलले देउवा सरकार सञ्चालनका लागि चाहिने सुझाव, आवश्यक निर्णयको सूची तथा मन्त्रालयबाट हुनुपर्ने काममा पनि सोझै प्रधानमन्त्री देउवालाई सुझाव सल्लाह दिएर मन्त्रिपरिषद्बाट निर्णय गर्ने अधिकार राख्छ ।
कर्णालीले पाएको ऐतिहासिक अवसर
राजनीतिमा भेगीय र क्षेत्रीय प्रभाव तथा प्रतिनिधित्व असाध्यै महत्वपूर्ण हुन्छ । तर त्यसका लागि क्षमता र योजना चाहिन्छ । देशमा सबैभन्दा धेरै पिछडिएको कर्णालीले सरकार सञ्चालनको पहिलो ऐतिहासिक नेतृत्व लिएको छ । यो कर्णालीबासीका लागि खुशीको कुरा हो भने कर्णालीले पाएको ऐतिहासिक अवसर पनि हो । भलै देउवा सरकारबाट मानिसहरु त्यति धेरै आश गर्न सकिरहेका छैनन ।
कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने खड्का कर्णालीका सबैभन्दा शक्तिशाली र शीर्ष तहका नेता पनि हुन् । जसले पहिलो पटक नेपाल सरकार सञ्चालन गर्ने औपचारिक कार्यदलको नेतृत्व लिएका छन् । मन्त्री नभएपनि सबै मन्त्रीलाई काम लगाउने सक्ने कार्यदलको नीतिगत निर्णयमा खड्काले महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् ।
कतिपय मन्त्रिपरिषदबाटै गरिने महत्वपूर्ण निर्णयमा पनि खड्काको हात हुन्छ । खासगरी देउवाको गठबन्धन सरकारमा पावर शेयरिङ गर्ने काम पनि खड्काकै हुनेछ । यसर्थ देउवा सरकारको आन्तरिक सरकार अर्थात किचेन क्याबिनेट चलाउने अवसर कर्णालीका शक्तिशाली नेता पूर्णबहादुर खड्काले पाउनु ऐतिहासिक जिम्मेवारी हो । जो बाहिर देखिदैन, तर भित्र असाध्यै निर्णायक हुन्छ । जुन काम मन्त्री र मन्त्रालयबाट हुँदैन, त्यही काम कार्यदलले आफ्नो शैलीबाट गर्न सक्छ ।
यसबाट देउवा सरकारले गर्ने काममा त कार्यदलले सघाउने नै छ । कर्णालीमा आवश्यक विकास, परियोजना, कर्मचारी, नयाँ संरचना लगायतका काममा पनि खड्का नेतृत्वको कार्यदलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।
देउवा सरकारको डाडु पन्यु नै कर्णालीका नेताको हातमा
यतिबेला कर्णालीका दुई जना शक्तिशाली नेताले देउवा सरकारको डाडु पन्यु चलाउने जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् । कुनै पनि सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय गृहपछि अर्थमन्त्रालय मानिन्छ ।
अझ सरकारको काम, भुक्तानी, आर्थिक वृद्धिदरदेखि बजेट पार्ने कामसम्ममा पनि अर्थमन्त्रीकै जिम्मेवारी हो । जसले सरकार कसरी चलाउने, सरकार कति सफल बनाउने र जनता तथा मतदातालाई कसरी विकासतर्फ लैजाने भन्ने महत्वपूर्ण निर्णय र काम गर्छ ।
सोही कारण देउवा सरकारको डाडु पन्यु यतिबेला कर्णालीकै नेता रुकुम पश्चिमबाट प्रतिनिधि सभा सांसद भएर अर्थमन्त्री बनेका जनार्दन शर्माको हातमा छ । अनि देउवा सरकारलाई कसरी चलाउने, कुन मन्त्रालयमा भागबण्डा गर्ने, कसरी विकास परियोजना सञ्चालन गर्ने जिम्मा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको हातमा छ ।
यसले अब कर्णालीका नेताहरुले देउवा सरकारको डाडु पन्यु चलाउँदा यसको सोझै प्रभाव कर्णालीमा पर्नेछ । तर त्यो व्यवहारमा देखिन्छ वा देखिदैन ? हेर्न बाँकी छ ।