मुगु : वरिपरी विशाल पहाड छन् । हेर्दा टाउकोको टोपी खस्छ होला । बीचमा खोँच छ । छेउमै खोला छ । पानी नबगेपनि खोला खोला नै हो । खोलाकै डिलमा छन्, लस्करै घर ।
घर, घर मात्रै छैनन् । दरबार जस्ता छन् । सबै घर एउटै शैलीमा बनाइएका छन् । जुन घर ढुंगा र काठले बनेका छन् ।
नजिकै खोलामा ढुंगा र वनमा काठ सजिलै पाइनाले सबै घर एकैनासका पाइन्छन् । काठ र ढुंगाले मात्रै बनेका घर सिमेन्ट र फलामे छडले बनाएका भन्दा कम छैनन ।
मुगुको कर्मारोङ गाउँपालिकामा रहेको यो गाउँको नाम मांग्री गाउँ हो । मुगुै सबैभन्दा सुन्दर गाउँ मानिने मांग्रीमा डेढ सय घर परिवार छन् । गाउँमा दलित र जनजातिको बस्ती छ ।
तर ती घरहरु हेर्दा दलित र जनजातिको जस्तो लाग्दैनन् । सबै सम्पन्न परिवारका घर देखिन्छन् ।
वर्षायाममा मांग्री गाउँ हरियाली मात्रै होइन, स्वर्गकै एउटा टुक्रा जस्तो देखिन्छ । यहाँका प्राय मानिस खेतीपाती गर्छन् । अनि भेडा च्यांग्रा पाल्छन् ।
यही बाटो भएर यार्सागुम्बा टिप्नेहरु हिड्छन् । मांग्री गाउँ पुग्दा उनीहरु धेरै खुशी हुन्छन् । प्रायले सेल्फी खिच्छन् ।
मुगुका धेरै गाउँमध्ये यो गाउँ निकै सुन्दर र अनौठो मानिन्छ । जहाँ कोदो र चिनोको खेती गरिन्छ ।
यहाँ मानिस यार्सागुम्बा टिपेर पनि जीवनयापन चलाउँछन् । त्यसबाहेक अरु व्यापार व्यवसाय पनि गर्छन् ।