काठमाडौ । चीनको वुहान राज्यबाट फैलिएको विश्वव्यापी महामारी कोरोना अर्थात कोभिड १९ भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । शनिबार दिउँसोसम्ममा १ लाख दुई हजार ७ सय ५१ जनाको मृत्यु भएको छ । १७ लाख बढी संक्रमित छन ।
कोरोनाबाट सबैभन्दा धेरै इटालीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । १ लाख ४७ हजार भन्दा धेरै संक्रमित छन ।
यस्तै अमेरिकामा १८ हजार ७ सय ४७ जनाको ज्यान गएको छ । ५ लाख दुई हजार भन्दा धेरै संक्रमित छन । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १५ सय भन्दा धेरैको ज्यान गएको छ । कोरोनाले अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी प्रभावित छ । जहाँ अहिलेसम्म सबैभन्दा धेरै ७ हजारको ज्यान गइसकेको छ ।
अमेरिकापछि स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ८१ पुगेको छ । १ लाख ५७ हजार भन्दा धेरै संक्रमित छन । यस्तै फ्रान्समा १३ हजार, बेलायतमा झण्डै १० हजार, जर्मनीमा २६ सय र चीनमा ३३ सय जनाको ज्यान गएको छ ।
यस्तै इरानमा ४ हजार, टर्कीमा एक हजार, बेल्जियममा ३ हजार, स्वीट्जरल्याण्डमा १ हजार, नेदरल्याण्ड्समा २५ सय र ब्राजिलमा १ हजार जनाको मृत्यु भएको छ ।
दक्षिण एसियातर्फ भारतमा सबैभन्दा धेरै २ सय ४६ जनाको ज्यान गएको छ । ७ हजार ५ सय भन्दा धेरै संक्रमित छन । पाकिस्तानमा ६६ जनाको मृत्यु ४ हजार ६ सय भन्दा धेरै संक्रमित छन । नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ ।
जसमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन भने बाँकी ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विश्वमा झण्डै १७ लाख संक्रमित हुँदा ३ लाख ७५ हजार जना भने कोरानासँगको लडाई जितेर घर फर्किएका छन ।