दैलेखः दुल्लु नगरपालिका नजिकैको चाँदनी चोकको हिलाम्य सडक सामाजिक सञ्जाल भर देखिन्छ । त्यहाँ कुनै नयाँ नौलो काम भएको छैन, ‘भएको छ त नागरिकलाई आवतजावतमा सास्ती, सड्कमा सवारी साधन मात्र होइन मान्छे हिड्न सकिनेसम्म अवस्था छैन । त्यहाँ पुग्ने जो कोही बाटो देखेर नगरपालिका तीर फर्कदै जनप्रतिनिधिले के हेरेको होलान, यो बाटोमा जनप्रतिनिधि हिड्छन् कि हिड्दैनन् ? भन्दै फोटो, खिच्ने,भिडियो बनाउने गर्दछन् ।
'कतिले नगरप्रमुखलाई व्यंग्य गर्दै अरु अन्तर्वार्तासँग जोडेर पनि लेखेका छन् । संघीय सरकारले दुल्लुलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरिसकेको छ । तर, सामान्य विकाससमेत नहुँदा स्मार्ट सिटी बन्ने सपना बोकेका दुल्लु क्षेत्रका स्थानीयले भने अहिले सडककै कारण सास्ती भोग्नुपरेको छ ।'
'कतै सडक निर्माणको काम अलपत्र परेको छ । कतै सडक स्तरोन्नतिमा नगरपालिकाले चासो दिएको छैन । सबैभन्दा बढी सास्ती अहिले दुल्लु बजार क्षेत्र, चाँदनी चोकदेखि पटांगिनी दुल्लु संग्राहालय हुँदै घियातिदुस्थित मध्यपहाडी राजमार्गसम्म जोड्ने सडकमा छ । सडकमा ठूल्ठूला खाल्डा बनेका छन् ।
'यो सास्ती खेप्न थालेको वर्षौं बितिसकेको स्थानीयको गुनासो छ । त्यसबाहेक दैलेख सदरमुकामबाट गमौडी हुँदै दुल्लु जोड्ने, माथिल्लो डुंगेश्वरदेखि बैंक बजार हुँदै दुल्लु जोड्ने, तल्लो डुंगेश्वरबाट रातामाटे हुँदै दुल्लु बजार जोड्ने सडकमा खाल्डाखुल्डी र हिलाम्य छ ।
'प्रदेश र संघीय सरकारबाट सडक स्तरोन्नतिको काम थालनी भएपछि नगरपालिकाले बजेट नछुट्याएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए । अहिले सबैभन्दा बढी सास्ती भएको घियातिदुदेखि दुल्लु संग्राहालय, पटांगिनी हुँदै दुल्लु बजार क्षेत्र, कीर्तिखम्ब चोकसम्मको सडक स्तरोन्नतिको पक्रिया आर्थिक वर्ष २०७६/७७ बाटै थालनी गरिएपछि पूरा हुन सकेको छैन ।
पूर्वाधार विकास कार्यालय दैलेखबाट आर्थिक वर्ष २०७६/७७ मा उक्त सडक स्तरोन्नतिका लागि १० करोडको ठेक्का खोली सबै प्रक्रिया पूरा गरेपछि रद्द गरिदिएको नगर प्रमुख भण्डारीले बताए । ‘पूर्वाधार विकास कार्यालयबाटै गत आर्थिक वर्षमा नौ करोड बराबरको ठेक्का प्रक्रिया पूरा भएको छ, तर अहिलेसम्म काम सुरु हुन सकेको छैन,’ नगर प्रमुख भण्डारीले भने ।
दुल्लुलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट व्यवस्था नगरेको नगर प्रमुख भण्डारीको गुनासो छ । दुल्लु बजारस्थित पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने कीर्तिखम्ब चोक क्षेत्रको सडक स्तरोन्नतिका लागि ठेक्का भई कर्मठ किसान कन्स्ट्रक्सनले जिम्मा लिएर अलपत्र पारेको नगर प्रमुख भण्डारी बताए ।