खलंगा : जुम्लाको सदरमुकाममा रहेको चन्दननाथ नगरपालिकामा कार्यरत कर्मचारीले काठमाडौँमा बसेर तलब खाइरहेको पाइएको छ । नगरपालिकाकी मेयर हुन्, कान्तिका सेजुवाल ।
मेयर कान्तिकाकी बहिनी नाता पर्ने राधिका मल्ल अनमी हुन् । जो काठमाडौंमा बस्दै आएकी छिन् । तर मेयर कान्तिकाले उनलाई नगरपालिकामा अनमी चौथो तहको कर्मचारी नियुक्त गरेर काठमाडौँमा बसेपनि तलब खुवाइरहेको पाइएको हो ।
मल्ललाई नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतबाट मासिक २६ हजार ६ सय १० रुपैयाँ तलब भुक्तानी भइरहेको छ । तर अहिलेसम्म उनी नगरपालिकामा उपस्थित छैनन । उनलाई नगरपालिकाको कुनै स्वास्थ्यकर्मीले नदेखेको पनि नगरपालिकाकै कर्मचारी बताउँछन् ।
दिदी मेयर भएकाले काठमाडौंमा बसेर जुम्ला कार्यरत नगरपालिकाको तलब पचाउन उनी लागिरहेको स्रोत बताउँछ । ‘मेरो नाम गोप्य राखिदिनु होला, उहाँ मेयरको बहिनी हुनुहुन्छ, उहाँ काठमाडौंमा बस्नु हुन्छ’ नाम नखुलाउन भन्दै स्रोतले भन्यो, ‘काठमाडौँ बसेपनि तलब नगरपालिकाबाटै खाइरहनु भएको छ ।’
यसरी मेयर कान्तिकाले आफन्त र नातागोताको लागि सरकारी रकम ठाडै दुरुपयोग गर्दा सरोकारवाला निकायहरु मौन देखिएका छन् । मल्ल काठमाडौं बसेपनि महिनाको तलब भत्ता उनको खातामा जाने गरेको छ ।
यसरी मेयरले सार्वजनिक सम्पति र जनताको करमाथि रजाई गर्दा पनि सरोकारवाला निकाय मौन देखिएका छन् । प्रतिपक्षी दल पनि चुपचाप देखिन्छ । संघीयता र स्थानीय सरकारले निमुखा र गरिब जनतालाई आधारभूत आवश्यकता पुर्याउन नसकेका बेला जुम्लामा मेयरले नै यति धेरै मनलाग्दी गरेको पाइएको हो ।
नगरपालिकाका केही कर्मचारी भन्छन्, ‘हामी नियमित कार्यक्षत्रेमा खटिएर काम गर्दा पनि तलब पाएका छैनौं । तर मेयर सेजुवालकी बहिनी काठमाडौँ बसेर असार मसान्तसम्मको तलब बुझेकी छन् । यस्तो गर्नु गैर कानुनी भएपनि मेयर सेजुवालले बैनी राधिकालाई २०७७ मंसिर महिना देखि नै नगरको कर्मचारीको रुपमा राखेकी थिइन ।’ उनी २०७८ असार महिनाको तलब बुझ्दा सम्म जुम्ला आएकी थिइनन्।
यता चन्दनना नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महतले मल्ल जुम्ला नआएसम्म तलब नदिने बताए । उनले जेठ महिना सम्मको तलब दिइएको स्वीकार गरेका छन् ।
राधिका मल्ल करार कर्मचारी हुन् । उनी नियुक्त भएको दुइ महिना जुम्ला बसेर काम गरेकी थिइन । त्यस पछि मेयरलाई कोरोना लागे पछि स्वास्थ्य हेरचाह भनेर स्वकियको जिम्मेवारी दिइएको थियो । त्यसपछि काठमाण्डौबाट जुम्ला नआएपछि किन नआएको भनेर ? स्पष्टीकरण सोध्दा कुनै जवाफ नआएको उनले बताए ।
चन्दननाथ नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढथापाले मेयरकी बैनी काठमाण्डौमा बसेर जुम्लाको तलब खाएको गुनासो यस अघि पनि आएको बताए । उनले भने, ‘नगरभित्रबाटै गुनासो आएको थियो। त्यस लगत्तै तलब रोक्ने निर्णय पनि भएको थियो । तर फेरि तलब कसरी दिइयो ? मलाई जानकारी छैन ।
नगरपालिकाका शाखाहरुमा कर्मचारी धेरै भएपनि कसलाई कसरी नियुक्ती दिइएको बारे आफूलाई पूरा जानकारी नभएको उनले बताए । उनले भने, ‘ प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौडेल केही दिनको लागी बिदामा जानु भएकाले मलाई निमित्तको जिम्मेवारी दिइएको छ । सोही कारण पूरा जानकारी छैन ।’
नगरपालिकाकै एक कर्मचारीका अनुसार करारमा नियुक्ती गरेका धेरै कर्मचारी छन् । ती कर्मचारी अधिकांस काम नगरेर तलब खाने मात्रै छन । उनले भने, ‘यसरी नगरमा आएको बजेट दुरुपयोग गर्न लाग्दा सरोकारवाला निकाय खबरदारी गर्नको साटो संरक्षण गरिहेका छन ।’
मेयेरका यस्ता कार्यले विवाद हुदा नगरको सेवा प्रभावित मात्रै होइन, नगरपालिकाको बजेटसमेत पारित हुन सकेको छैन। असार १० गते नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगरसभाबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ।
औपचारिक रुपमा नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित नभएको उपप्रमुख अप्सरा देवी न्यौपानेको दाबी छ। उपप्रमुख न्यौपानेका अनुसार तीन आर्थिक वर्षदेखि सार्वजनिक सुनुवाई समेत हुन सकेको छैन।
‘रेडबुक अनुसार योजना कार्यान्वयन हुँदैनन्। अपारदर्शी रुपमा बजेट खर्च गर्ने जस्ता कामले गर्दा नगरपालिका दुर्गन्धित बन्दै गएको छ’ उनले भनिन् ‘अपारदर्शी कार्यको टुंगो नलागेसम्म र माग सम्बोधन नभएसम्म नगरसभा हुन दिदैनौं।’