सिमकोटः स्वास्थ्य उपचारमा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतीमा बिरामीहरुको रुचि बढ्दै गएको छ । आयुर्वेदिक उपचार र औषधीको महत्व बुझ्दै जाँदा, त्यसबाट फाइदा हुने देखिएपछि बिरामीको आर्कषण बढेको हो ।
बाथ (राघन) रोगले थला पर्दै आएकी हुम्लाको सिमकोट गाउँपालिका – ५ की केसी रावतले बिरामी निको हुने देखिएपछि नियमित रुपमा आयुर्वेद शाखामा धाउन थालेको बताइन् ।
एल्लोप्याथिक औषधी धेरै गरेर निको नभएपछि केही सीप नचलेपछि आयुर्वेद उपचारमा लागेको उनले बताइन् ।
चिकित्सकको सल्लाह अनुसार नियमित औषधी सेवनले आफ्नो बाथ रोक कम भएको बताउँदै अन्यलाई पनि यो उपचार पद्धतीमा लाग्न पनि सुझाव छ । उनी बिगत चार वर्षदेखि बाथ रोगबाट थला पर्दै आएकी थिइन् ।
यता खार्पुनाथ गाउँपालिका–४ का पायल्स रोगका बिरामी सौरभ रोकायाले आयुर्वेद पद्धतीबाट नियमित उपचार गर्दा रोग सन्चो भएको बताइन् ।
पहिलो पटक आयुर्वेदका चिकित्सकसँग चेकजाँच गरी पन्द्र दिनका लागि औषधी लिएर सेवन गर्दा केही राहत महशुस भएको र हाल पनि औषधी सेवन गरिरहेको उनले बताइन् । उपचारमा सहज र निःशुल्क रुपमा उपचार हुन थालेपछि आफु यसै उपचारमा आकर्षित भएको बताइन् ।
गत फागुन महिनाबाट पोष्टिङ भएर जिल्लामा आएका आयुर्वेदिक चिकित्सक सुजित कर्णले अस्पतालमा बिरामीको चाप बढेको बताए ।
अस्पतालमा बिशेष गरी बाथ, पायल्स, ग्यास्टिक, महिलाको सेतो पानी बग्ने, सुत्केरी भएपछि दुध नआउने, प्रेशसर, जण्डिस, पिसाव पोल्ने, रुघाखोकी, कमजोर, रिंङ्गटा लाग्ने, बिरामी बालबालिका लगाएतका विरामीहरु आउने गरेको उनले जानकारी दिए ।
उनले भने, ‘दुर्गममा पनि आयुर्वेदिक उपचारमा बिरामीको चाप बढी रहेको छ । बिरामीहरु दुई घण्टा पैदल लाग्नेदेखि तीन दिन पैदल हिडेर आउने गरेका छन् ।
बिरामीको वास्तविक रोगको अवस्था बुझ्न पहिलो पटक पन्द्र दिनका लागि औषधी दिने र त्यसपछि पुनः अस्पतालमा बोलाउने गरेर रोगबारे बिरामीबाट बुझ्ने व्यवस्था गरेका छौं ’ ।
आयुर्वेदिक उपचारमा साईट इफेक्ट नपर्ने भन्ने मान्यता गलत भएको बताउँदै उनले चिकित्सकको सुझाव सल्लाह विपरित औषधी सेवन गरे त्यसको असर पर्ने समेत जानकारी दिए ।
जडिबुटीको खानी हुम्ला जस्ता हिमाली जिल्लामा यस उपचार पद्धतीको महत्व र उपयोगिता अन्यत्र भन्दा बढी हुने छ । स्थानीय एउटै औषधीबाट धेरै रोगको उपचार गर्न सकिने भएको कारण पनि सेवाग्राहीको यो उपचार पद्धतिमा रुचि बढेको छ ।
आयुर्वेद शाखाका कविराज कृष्ण चन्द्र जोशीले स्वास्थ्यकर्मी गाउँगाउँमा पुगेर शिविर सञ्चालन गर्नु र यसको महत्व सेवाग्राहीले बुझ्दै जाँदा आर्कषण बढेको बताए ।
हाल शाखाले विभिन्न रोगका ३२ प्रकारमा आयुर्वेदिक औषधीहरु निःशुल्क रुपमा बितरण गरिरहेको र उपचारमा आर्थिक ब्ययभार कम भएको कारण पनि बिरामीलाई उपचारमा सहज भएको होे ।
पहिले कविराज र स्वास्थ्यकर्मीबाट मात्र उपचार हुँदै आएकोमा गत फागुन महिनाबाट आयुर्वेद चिकित्सकको व्यवस्थाले झन यो सेवा प्रति बिरामीको विश्वास बढेको उनले बताए ।
यो वर्ष मात्र शाखाबाट साधारण उपचार, स्तनपायी, जेष्ठ नागरिक सेवा, पुर्वकर्म, पञ्चकर्म सेवा, गाउँघर क्लिनिक र स्वास्थ्य शिविर गरि सात हजार ८४५ जनाले उपचार पाएका छन् ।
जब कि यो उपचार पद्धतीबाट विगत चार वर्षयता क्रमश वृद्धि भइरहेको छ । गत वर्ष मात्र यो पद्धतीबाट उपचार गर्नेको संख्या पाँच हजार १८ जना मात्र थियो ।
जिल्लाका छ प्रकारका जडिबुटीहरु पाखनवेद, कुटकी, अतिस, लालिगुराँसको बोक्रा, जटामासी लगाएतबाट मेशिनमा प्रशोधन गरेर धुलो औषधी तयार पारि बिरामीलाई बितरण गर्ने गरिएको छ ।
जडिबुटीको मुल्य महङ्गो पर्ने र शाखाको बजेट न्यून हुने भएको कारण स्थानीय औषधीको उत्पादनमा समस्या देखिएको गुनासो उनको छ ।
हुम्लाका सात वटा गाउँपाकिला मध्य चंखेली र ताँजाकोटमा बाहेक नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड र अदानचुलीमा नागरिक आरोग्य केन्द्रबाट पनि उपचार भइरहेको छ ।
यसलाई उद्योगका रुपमा बिकास गर्न आयुर्वेदिक औषधी र हिमालका बहुउपयोगी जडिबुटीबाट बन्ने औषधीको बिस्तार गर्न सहज हुने उनले बताए ।