काठमाडौ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५ लाख पुगेको छ । शनिबार दिउँसोसम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख ३ हजार १ सय ७७ पुगेको छ । अमेरिकामा दैनिक ३० हजार भन्दा धेरै संक्रमित फेला पर्ने गरेका छन ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ३३ हजार नयाँ संक्रमित थपिए भने २ हजार बढीले ज्यान गुमाए । अहिलेसम्म अमेरिकामा १८ हजार ७ सय ६१ जनाको ज्यान गइसकेको छ ।
अमेरिकामा सबैभन्दा धेरै न्युयोर्कमा डेढ लाख मानिस संक्रमित छन । अहिलेसम्म न्युयोर्कमा १ लाख ७२ हजार मानिस संक्रमित हुँदा ७ हजार ८ सय ४४ जनाले ज्यान गुमाएका छन । यस्तै न्युजर्सीमा ५४ हजार संक्रमित हुँदा १९ सय बढीको मृत्यु भइसकेको छ ।
मिशिगनमा २२ हजार, क्यालिफोर्नियामा २१ हजार, मासाचुसेट्स र पिन्सीभेनियामा समान २० हजार, लुसियानामा १९ हजार, फ्लोरिडा र इलिनोइसमा समान १७ हजार मानिस कोरोनाबाट संक्रमित भएका सिएनएनले जनाएको छ ।
यस्तै टेक्सासमा १२ हजार, जर्जियामा ११ हजार र कनेक्टिकटमा १० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन । अरु राज्यमा भने कमै फैलिएको छ । चीनको वुहान राज्यबाट फैलिएको कोरोनाले सबैभन्दा धेरै संक्रमित हुने देश अमेरिका बनेको छ भने सबैभन्दा धेरै ज्यान गुमाउने देश पनि बन्ने लगभग निश्चित भएको छ ।
यो समाचार तयार पार्दासम्म इटाली र अमेरिकामा समान १८ हजारको ज्यान गइसकेको छ । इटालीमा थप ८ सय बढीको ज्यान जाँदा अमेरिकामा थप ७ सय बढीको ज्यान गएको छ ।